मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आलोचना गर्नेहरुलाई पौडेलको जवाफः ‘भूपू सभापतिवाट देउवाले सिक्नु पर्दैन ?’

शुक्रबार, १४ वैशाख २०७५, १७ : ०७
शुक्रबार, १४ वैशाख २०७५

काठमाडौ–नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन १३ मा पार्टी सभापतिलाई सम्बोधन गरि लेखेको पत्रमा शेरबहादुर देउवाको कडा आलोचना गरेका थिए । पौडेलले लेखेको पत्रले काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा व्यापक चर्चा पाएको छ । 

निर्वाचन समीक्षाको लागि जारी वैठकमा देउवा पक्षीय नेताहरुले पौडेलको पत्रको प्रतिवाद गरेका थिए । दलको बरिष्ठ नेताले आन्तरिक विषयलाई पार्टीको वैठकमा नराखेर मिडिया प्रचारबाजी गरेको भन्दै उनको आलोचना गरेका थिए । पौडेलको पत्रलाई लिएर प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महतले आपत्ति जनाएका थिए । कसलाई जवाफ के दिए पौडेलले ? 

प्रवक्ता शर्माको प्रश्न पौडेललाई 
फागुन १३ मा पौडेलले देउवाले लेखेको पत्रमा भनिएको थियो– ‘मैले शुरुमै भनेझैं मूल्याँकनमा चल्न र गुट मास्न तपाई तयार भइदिएको भए तपाई सिंगो कांग्रेसको हाइहाइको नेता बन्नुहुन्थ्यो । तपाईले त्यागको उदाहरण प्रस्तुत गरेको भए तपाई र पार्टी दुबैको हित हुन्थ्यो । इतिहास निर्माण गर्न सक्नुहुन्थ्यो । भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ?’

माथिको अनुच्छेदको अन्तिम लाइन समातेर प्रवक्ता शर्माले भोगको गिनिजबुकमा नाम लेखाउने भनेको के हो ? भन्दै पौडेललाई वुधवारको बैठकमा प्रश्न गरेका थिए । पार्टीको बरिष्ठ नेताले दलको बैठकमा चित्त नबुझेको कुराहरु नराखेर दललाई कमजोर बनाउने काममा लागेको भन्दै पौडेलको जवाफ मागेका थिए । भोग भनेर के भन्न खोज्नुभएको ? सभापतिलाई त्यस्तो आरोप लगाउन मिल्छ ?

पौडेलको जवाफ शर्मालाई 
सभापतिमा त्यागको भावना देखिएको छैन । सभापति देउवा कति पटक प्रधानमन्त्री हुनुभयो ? देउवाले भूतपूर्व सभापतिहरुवाट त्याग र भोग सिक्नुपर्दैन ? गणेशमान सिंहले पाएको प्रधानमन्त्रीको पद कसरी छोड्नु भयो ? प्रवक्ता ज्यू भोग र त्याग भनेको त्यहि हो । 

विमलेन्द्र निधिको प्रश्न पौडेललाई 
पार्टीका आन्तरिक निर्णयहरुमा तपाई पनि सहभागि हुनुहुन्थ्यो । कार्य सम्पादन समिति, संसदीय बोर्डमा भएका निर्णयहरुमा तपाईको सहमति थियो । अहिले सभापतिलाई मात्रै दोष दिन मिल्छ ? भोली तपाई पार्टी सभापति हुनुभयो भने कुनै नेताले तपाईलाई त्यस्तै आरोप लगाएर पत्र लेखे भने तपाईको जवाफ के हुन्छ ?  भागबण्डा नगरौं भन्नुभएको छ । तपाई नै होइन ? भागवण्डा खोज्ने ? 

पौडेलको जवाफ निधिलाई 
तपाई गृहमन्त्री हुँदा भएको आइजीपी काण्डले प्रधानन्यायधीशलाई महाअभियोगसम्म पुग्यो । आइजीपी नियुक्तको काण्डमा गृहमन्त्री र प्रधानमन्त्रीका बीचमा विवाद भएको होकि होइन ? त्यसले काँग्रेसलाई कति नोक्सानी पुग्यो ? आइजीपी प्रकरण निम्त्याएको तपाई र सभापतिले होइन ? महाअभियोग आवश्यक थियो ? 

संसदीय समिति र कार्य सम्पादन समितिमा विधान विपरित भएका नियुक्तिको तत्काल खण्डन गर्दा निर्वाचनको मुखमा दललाई क्षति हुन्छ भनि नबोलेको हुँ । विधान विपरित गठन भएका समितिमा आफु पनि बसेकोले आत्मआलोचना गर्दछु । चुनावको मुखमा दललाई अप्ठेरो पर्ने ख्याल गरि नबोलेको हुँ । 

म प्रति आरोप लगाउँदा मेरो पत्रको पुरै अंश पढ्नुस । अनर्थ हुने गरि बीचको भागबाट विषयान्तर गर्ने प्रयास गर्नुभएको छ । मलाई कसरि दोषी देखाउन सकिन्छ भन्दै कुनै अंश मात्रै उल्लेख गर्नुभएको छ । गुट नगराऔं । पार्टी एकाकार गराऔं भन्दा मेरो गल्ती हुन्छ ? 

डा.प्रकाशशरण महतको प्रश्न पौडेललाई 
देउवालाई लेखेको पत्रमा पौडेलले भनेका थिए– ‘राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाईं तपाईले घोर उपेक्षा गर्नुभयो, आइजी काण्डमा त्यस्तै गर्नुभो, महाभियोग प्रकरणमा लोकले के भन्ला भन्ने कुरा वास्तै गर्नुभएन, न्यायाधीश नियुक्तिमा अपारदर्शी शैलीको प्रयोगदेखि सबै रेकर्ड तोड्ने गरी औचित्यनै नभएका व्यक्तिलाई थुपारेर जम्बो मन्त्रिपरिषद गठनले पनि नागरिक समाजमा चरम वितृष्णा फैलायो ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले माथिको अनुच्छेदको पहिलो लाइन समातेर पौडेल माथि खनिएका थिए । राजदूत नियुक्तिमा तपाईको सुझाव कहाँ उपेक्षा गरियो भनि प्रश्न गरेका थिए । राजदूत नियुक्ति सन्दर्भमा दलमा सर्वसहमतिले भएको उनले जिकिर गरेका थिए । 

पौडेलको जवाफ महतलाई 
राजदूत नियुक्तिमा मेरो सुझाव लत्याइएको थियो । राजदूतका लागि सक्षम व्यक्तिहरु मैले सिफारिस गरेको थिएँ । तर, मेरो सिफारिसलाई बेवास्ता गर्दै किन नयाँ व्यक्ति ल्याइयो ? राजदूतका लागि योग्य व्यक्तिहरु डा.यज्ञ अधिकारी र धमेन्द्र झालाई सिफारिस गरेको थिएँ । किन उनीहरुको नाम हटाइयो ?

 तपाइँले गलत नगरेको भए किन फिर्ता लिएको ? डा.अधिकारी र झा तपाइँहरुकै मान्छे होइनन् ? त्यस्ता व्यक्तिलाई फालेर के गर्नुभयो ? एक व्यक्ति त तपाइले भन्दाभन्दै पनि फिर्ता गर्न सक्नुभएन । फिर्ता गर्नुपर्ने परिस्थिति निर्माण हुनेगरि निर्णय किन गरेको ? गलत निर्णयले पार्टीलाई क्षति पुगेको छ ।

 सभापतिलाई हटाउन मैले भनेको छैन । तर, किन सभापतिले पराजयको महसुस पनि गर्नुहुन्न ? दल सच्याउँछु भन्ने नैतिकता त सभापतिमा हुनुपर्यो नि । भएका क्रृटिको रिअलाइजेसन सभापतिले गर्नु भएको छैन । सभापतिले गरेको गल्तीको दोष सभापतिले नै लिनुपर्छ ।

महासमितिको वैठक वैशाखमा बोलाउनुपर्छ । जिल्ला सभापतिहरुको वैठक जेठमा हुनुपर्छ । युवा सदस्यहको प्रस्ताव सम्बोधन गरिनुपर्छ । दलको प्रशिक्षण नियमित हुनुपर्छ । विधान विपरित भएका निर्णय सच्चिनुपर्छ । गल्ती कमजोरीलाई स्वीकारेर सभापति अघि बढ्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप