आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव

आइतबार, ०६ जेठ २०८१, १० : ०६
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।   

उनले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उक्त चिन्ता व्यक्त गरेका हुन् । ‘हाम्रो देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो ’ उनले भने, ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ ।’

उपराष्ट्रपति यादवले रोगहरु बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए ।  ‘आरामदायी जीवनशैली, धूम्रपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उनले भने, ‘नियमित व्यायाम, स्वास्थ्यकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’ 

उनले न्यूरोसंग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अङ्गमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताए । उनले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँवस्तीमा बसोबास गर्ने आम नागरिकलाई समयमै उपचार पाउन अझै गाह्रो रहेको समेत बताए । 

‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नु पर्दछ ’ उनले भने, ‘न्यूरोसंग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील सङ्घसंस्था पनि प्रतिबद्ध हुन जरुरी छ ’ 

उनले ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ले न्यूरोलोजीसँग सम्बन्धित रोगहरूको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्याहरू पहिचान गर्न र त्यसको समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप