मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री को ?
काठमाडौँ । मधेस प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्ने अझै अनिश्चित देखिएको छ । केही समयअघि प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने चर्चा चलेको थियो । जनमत पार्टीबाट महेश यादव मुख्यमन्त्री बन्ने सहमति भएको कुरा पनि बाहिर आएको थियो ।
एमाले, माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बिचमा यस विषयमा सहमति भइसकेको कुरा माओवादी केन्द्र र जनमत पार्टीका नेताहरूले प्रतिक्रिया दिएका थिए । तर अहिले उक्त सम्झौता कार्यान्वयनको कुनै अत्तोपत्तो छैन ।
एमालेको मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव भने सरकारका लागि हालसम्म कुनै पनि सहमति नभएको बताउँछन् । उनले भने, ‘यो माओवादी र जनमत पार्टीबाट चलाइएको हल्ला मात्र हो ।’
यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि बाहिर आएको जस्तो दलहरूबिच कुनै पनि सहमति नभएको बताए । ‘माओवादी, एमालेलगायतका दलहरूको बिचमा कुनै सहमति भएको होला,’ उनले भने ‘तर त्यस विषयमा हामीसँग कुनै छलफल भएको छैन ।’
माओवादी केन्द्र मधेस प्रदेशका प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा भने एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबिच सरकार बनाउने सहमति भइसकेको बताउँछन् । उनले भने, ‘चार दलको बिचमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ । जसपाले विश्वासको मत लिने कि नलिने टुङ्गो लागेपछि थप प्रक्रिया अगाडि बढाउँछौँ ।’
उनले यो सत्ता गठबन्धनमा लोसपा नरहेको र नेकपा एकीकृत समाजवादी भने आउने पक्का भइसकेको उनको जिकिर छ । यद्यपि, एकीकृत समाजवादी हालसम्म पनि जसपा नेपाल नेतृत्वको सरकारलाई सघाइरहेको छ । प्रदेश सभा सदस्य कुशवाहा जसपा नेपालको सरकारलाई हालसम्म समर्थन गर्दै आएको एकीकृत समाजवादीले जसपा नेपाललाई विश्वासको मत नदिने दाबी गर्छन् ।
उता, सता गठबन्धनबाट मधेस सरकारको मुख्यमन्त्री जनमत पार्टीका संसदीय दलका नेता महेश यादव बन्ने कुरा बाहिर आएपछि सो पार्टीमा पनि विवाद देखिएको छ । पार्टीमा कुनै निर्णय नै नभई महेश यादवको नाम चर्चामा ल्याइएको भन्दै एकजना सचिवालय सदस्यले रातोपाटीसँग असन्तुष्टि पोखे ।
‘महेश यादवज्यू मुख्यमन्त्री बन्नुहुँदैन भने होइन, तर त्यसका लागि पार्टीमा औपचारिक निर्णय हुनुपर्यो नि । पार्टीमा निर्णय नहुँदै बजारमा हल्ला हुनु राम्रो होइन,’ तीन नेताले भने, ‘यो सबै माओवादी केन्द्रले चलाएको हल्ला हो । जनमत पार्टीमा मुख्यमन्त्रीका उम्मेदवार महेश यादव मात्र होइन अरू पनि नेता हुनुहुन्छ । यसबारे पार्टीको बैठकबाट टुङ्गो लगाउँछौँ ।’
यता, सरकारको नेतृत्व गरेको जसपा नेपालले विश्वासको मत कहिले लिने भन्ने अझै टुङ्गो लागेको छैन । जसपा नेतृत्वको सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि त्यो सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार २८ गतेभित्र जसपा नेपालले विश्वासको मत लिइसक्नुपर्छ ।
त्यसैले जसपा नेपाल यतिबेला सांसदको सङ्ख्या जोड–घटाउमा लागेको छ । हालसम्म जसपा नेपालसँग बहुमत पुगेको छैन । विपक्षी गठबन्धनमा रहेको नेपाली कांग्रेस र लोसपाले पनि साथ दिने कि नदिने स्पष्ट भएको छैन । तर जसपा नेपालका सांसदहरूले आफूहरूसँग नै बहुमत रहेको दाबी गरेका छन् । जसपा नेपाल मधेस प्रदेशका प्रदेशसभा सदस्य राजु गुप्ताले जसपा नेपाललाई कांग्रेस, एकीकृत समाजवादी र लोसपाले समर्थन गर्ने दाबी गरे ।
एकीकृत समाजवादी मधेस प्रदेशका प्रदेश सभाका सदस्य रत्नेश्वर गोइत यादवले मधेस प्रदेशमा हालसम्म आफूहरू जसपा नेपालको पक्षमा रहेको बताए । उनले भने, ‘हामी मधेस प्रदेशमा सत्ता पक्षमा छौँ । के गर्ने भन्ने केन्द्रबाट कुनै निर्देशन नआएको कारण हामी चुपचाप छौँ ।’
‘केन्द्रमा हाम्रो दल सत्ता गठबन्धनमा रहेको छ तर मधेस प्रदेशमा विपक्षी गठबन्धनको साथमा छ,’ उनले भने, ‘यस्तै रहने हो कि के गर्ने हो, कुनै निर्देशन आएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आस्थाका आधारमा पक्राउ परेका बन्दीलाई रिहा गर्न बारको माग
-
गण्डकीमा भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति
-
नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक
-
अदालतको आदेश छल्न ‘ब्याकडेट’को निर्णय !
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
सञ्जय दत्तले दिए गायिका स्मितालाई शुभकामना