उद्योगमा सरकारको लक्ष्य र नीति एकातिर, अवस्था अर्कैतिर !
काठमाडौँ । कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान र अन्य सूचक समेत प्रत्येक वर्ष खुम्चँदो अवस्थामा रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार बर्सेनि उद्योग क्षेत्रको सूचक खस्कँदो अवस्थामा रहेको देखाएको हो ।
आर्थिक सर्वेक्षणअनुसार चालू वर्षको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनमूलक उद्योगको योगदान ४.८७ प्रतिशत हुने अनुमान सरकारको छ । गत आर्थिक वर्ष कूल गार्हस्थ्य उत्पादनमा यस्तो योगदान ५.१६ प्रतिशत थियो । यसले पनि जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान घट्दो अवस्थामा रहेको पुष्टि गर्छ । साथै सरकार स्वयंले समेत यो तथ्य स्वीकार गरेको छ ।
चालू वर्षमा उत्पादनमूलक उद्योगको कूल मूल्य अभिवृद्धि (उत्पादन) १.६ प्रतिशतले ऋणात्मक रहने छ । यो सूचक गत आर्थिक वर्षमा समेत १.९८ प्रतिशतले ऋणात्मक थियो । वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु र विश्वव्यापी अर्थतन्त्रमा नै सुधार नआउनुलाई मुख्य कारण देखाइएको छ ।
यति हुँदाहुँदै पनि पछिल्लो एक दशकमा उत्पादनमूलक उद्योगको सरदर औसत वार्षिक वृद्धिदर २.५९ प्रतिशत छ । यो निरन्तररुपमा खस्कँदो अवस्थामा रहेको आर्थिक सर्वेक्षणको तथ्याङ्कले देखाएको छ । यसबाहेक पछिल्लो एक दशकमा जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान वार्षिक ५.४६ प्रतिशत छ ।
१५औँ पञ्चवर्षीय योजनाको लक्ष्य भएन पूरा
सरकारले पन्ध्रौँ पञ्चवर्षीय योजनाले चालू वर्षको अन्त्यसम्म जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान ६.५ प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो । तर, यो लक्ष्य पुरा हुन सकेन । आर्थिक सर्वेक्षणअनुसार गत वर्षको तुलनामा पनि जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान खुम्चँदै गएको छ ।
पन्ध्रौँ योजनाको अवधिभर उत्पादनमूलक उद्योगको औसत वृद्धिदर ०.५५ प्रतिशतमा मात्रै सीमित रह्यो । यो अवधिमा समग्र आर्थिक वृद्धिदर २.७८ प्रतिशत हुँदा उत्पादनमूलक उद्योगतर्फ भने न्यून वृद्धिदर हासिल भएको हो । पन्ध्रौँ योजनाको अवधिमा उत्पादनमूलक उद्योगको योगदान वार्षिक औसत ५.२७ प्रतिशत छ । तथ्याङ्कले पछिल्लो ५ वर्षको अवधिमा जीडीपीमा उत्पादनमूलक उद्योगको जीडीपीमा योगदान घट्दै गएको देखाउँछ ।
तथ्याङ्कमा उद्योगको सूचक
स्रोत – आर्थिक सर्वेक्षण
यो ५ पञ्चवर्षीय योजनाको अवधिमा प्रत्येक पञ्चवर्षीय अवधिमा जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान घट्दो अवस्थामा छ । सरकारले उत्पादनमूलक उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्ने भाषणबाजी गर्दै हिँडे पनि व्यवहारमा त्यस्तो देखिँदैन । फलस्वरुप जीडीपीमा प्रत्येक ५ वर्षमा उत्पादनमूलक उद्योगको योगदान घट्दो देखिन्छ ।
१५औँ पञ्चवर्षीय योजनामा सरकारले जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान ६.५ प्रतिशत पुर्याउने लक्ष्य तय गरे पनि सोअनुसार भएन । १५औँ योजनालाई कार्यान्वयन गर्न नसकेपछि सरकारले कोरोना महामारी, रुस–युक्रेन युद्ध र खाडी युद्धलाई देखाउँदै आफ्नो कमजोरी ढाकछोपको रणनीति लिइरहेको छ ।
अब यही सरकारले १६औँ पञ्चवर्षीय योजनामा पनि उत्पादनमूलक उद्योगको जीडीपीमा योगदान ६.५ प्रतिशत पुर्याउने लक्ष्य तय गरेको छ । तर सरकारको यो लक्ष्य कार्यान्वयनमा भने विगतमा जस्तै फितलो हुने सम्बन्धित सरोकारवाला बताउँछन् । उद्योगी राजेश अग्रवाल जीडीपीको आकार बढ्दै जाँदा उद्योगको घटेजस्तो देखिए पनि योगदान बढिरहेको बताउँछन् ।
‘जीडीपीको आकार नै बढ्दै गइरहेको छ । यो अवधिमा प्रतिशतमा घटेको देखिए पनि उत्पादनमूलक उद्योगले दिइरहेको योगदानको आकार निरन्तर बढ्दो छ,’ उद्योगी अग्रवाल भन्छन्, ‘यसलाई घटेको भन्न मिल्दैन ।’
४९ खर्बका कूल लगानी स्वीकृत, कुन क्षेत्रमा कति ?
२०८० असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँको कूल लगानी स्वीकृत भएको छ । यो लगानी स्वीकृत लगानी बोर्ड, उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका हुन् । स्वीकृत लगानीमध्ये उद्योग विभागमा दर्ता उद्योगको कूल लगानी ५७.७ प्रतिशत, बोर्डमा दर्ता उद्योगको लगानी २१.३ र घरेलु तथा साना उद्योगको लगानी २१.२ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । यी सबै स्वीकृत भएका लगानीअनुसारको उद्योग सञ्चालनमा आए ६ लाख ९८ हजारभन्दा बढीले रोजगारी पाउनेछन् ।
दर्ता भएका उद्योग कृषि तथा वन पैदावार, ऊर्जामूलक, पूर्वाधार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक र पर्यटन गरी ८ क्षेत्रमा वर्गीकरण छन् । यी क्षेत्रमध्ये सबैभन्दा बढी उत्पादनमूलकतर्फ ३ हजार ४४५ वटा लगानी स्वीकृत छन् । त्यसपछि सेवामूलकमा २ हजार ४५२ र पर्यटन उद्योगतर्फ २ हजार ७९ उद्योग दर्ता भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार २०८० फागुनसम्मको अवधिमा दर्ता भएका सबै वर्गका उद्योगमध्ये ऊर्जा क्षेत्रमा आएको लगानी प्रस्तावको हिस्सा ५४ प्रतिशतभन्दा बढी छ । उत्पादनमूलक क्षेत्रमा यस्तो लगानी प्रस्ताव २१.३ प्रतिशत छ भने सबैभन्दा कम खानी उद्योगमा ०.३ प्रतिशत छ ।
यस्तै २०८० फागुनसम्ममा दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख २२ हजारभन्दा बढी छ । जसमध्ये चालू वर्षको ८ महिनाको अवधिमा मात्रै १६ हजार ५९० कम्पनी दर्ता भएका थिए । जुन, गत आर्थिक वर्षको सोही अवधिमा १५ हजार १८७ मा सीमित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटनको केन्द्र बन्दै धादिङको भैरवी मन्दिर
-
त्रिविको नीति अधिवेशनपछि मात्रै डीन नियुक्त गरिने
-
बीआरआई नेपालको हितमा छ, अमेरिकाले चासो राख्नु स्वाभाविक : प्रचण्ड
-
विष्णुकुमारीको हत्यारा खोज्दा पुराना ६ वटा घटना सुल्झिए
-
गुगलले ल्यायो नयाँ चिप, जसको गति हुनेछ अचम्मको
-
रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन