शुक्रबार, ०७ असार २०८१
ताजा लोकप्रिय
उद्योग

हेटौँडा सिमेन्ट उद्योग : बर्सेनि चुलिँदै करोडौँ घाटा

सञ्चित नोक्सानी ८९ करोड ५६ लाख
सोमबार, १४ जेठ २०८१, १६ : ००
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । सरकारी लगानीमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको सञ्चित नोक्सानी बढेर ८९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो वर्षको अवधिसम्ममा हेटौँडा सिमेन्टको नोक्सानी बढेर ८९ करोड रुपैयाँभन्दा माथि पुगेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको हो ।

महालेखाले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार हेटौँडा सिमेन्टको नेटवर्थ र आम्दानी घटेको छ भने खर्च र नोक्सानी बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा कारखानाको नेटवर्थ ११ करोड १९ लाख रुपैयाँ थियो । जुन, यो वर्ष घटेर ५० लाख रुपैयाँमा आइपुगेको छ ।

यस्तै, यो वर्ष १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ आम्दानी भएकोमा १ अर्ब १९ करोड ३५ लाख रुपैयाँ खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यससँगै यो वर्षको घाटा जोडेर हालसम्म उद्योगको सञ्चित नोक्सानी ८९ करोड ५६ लाख पुगेको हो ।

सरकारले तत्कालीन समयमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन, सिमेन्टको आयात प्रतिस्थापन लगायतको लक्ष्यसहित उद्योग स्थापना गरेको थियो । यस्तै निर्यातमा योगदान र औद्योगिक तथा आर्थिक विकास र रोजगारी सृजना गर्ने उद्योग स्थापनाको मुख्य लक्ष्य थियो ।

वि.सं. २०३३ सालमा उद्योग स्थापना भई २०४२ सालदेखि सिमेन्टको व्यापारिक उत्पादन सुरु भएको थियो । यो उद्योगमा हाल ३५७ कर्मचारी कार्यरत छन् । अधिकृत पुँजी ३ अर्ब रहेको रुपैयाँ रहेको उद्योगमा आर्थिक वर्ष २०७८/७९ सम्मको चुक्ता पुँजी ९० करोड ६ लाख ८५ हजार रुपैयाँ छ ।

चुक्ता पुँजीमध्ये नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग र खानी तथा भूगर्भ विभाग प्रत्येकको १८ करोड १ लाख ३७ हजार सेयर छ । उद्योगको वार्षिक सिमेन्ट उत्पादन क्षमता करिब २ लाख ६० हजार मेट्रिक टन रहे पनि विगत १० वर्षमा अधिकतम ५४ प्रतिशतसम्म मात्र क्षमताको उपयोग भएको प्रतिवेदनले देखाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा सो क्षमतामा उत्पादन भएकोमा त्यसपछिका वर्षहरूमा ५० प्रतिशतभन्दा कम क्षमतामा मात्र सिमेन्ट उत्पादन भइरहेको छ । २०७७/७८ मा उत्पादन क्षमताको करिब ३४ प्रतिशत सिमेन्ट उत्पादन भएकोमा २०७८/७९ मा करिब ३१ प्रतिशत मात्र उत्पादन भएको छ । यसबाट उद्योगको बिक्री र आयसमेत न्यून भएकोले उत्पादन क्षमताको पूर्ण उपयोग गरी बिक्री तथा मुनाफा वृद्धि गर्नुपर्ने देखिन्छ ।

यसै गरी उद्योगको उत्पादन लागतको तुलनामा न्यून मूल्यमा सिमेन्ट बिक्री भइरहेको छ । उद्योगको वित्तीय विवरणअनुसार सिमेन्टको उत्पादन लागत मूल्य प्रति ५० किलोग्राम ६४७.९५ रुपैयाँ छ । जबकि बजारमा बिक्री मूल्य ६५० र डिलरलाई बिक्री मूल्य ६१० रुपैयाँ रहेको देखिन्छ । यो उत्पादन लागतभन्दा पनि न्यून हो ।

उद्योगको २०७९ आषाढ मसान्तको ११ बैंकको खाताको बैंक मौज्दात विवरणअनुसार ४९ लाख रुपैयाँ ऋण देखिन्छ । घाटामा सञ्चालनमा रहे पनि उद्योगको दायित्वमा कर्मचारीको व्यवस्थापन भने पर्छ । उद्योगलाई कर्मचारीको व्यवस्थापन नै घाँडो बन्न थालेको प्रतिवेदले देखाउँछ ।

उद्योगमा कार्यरत रहेका साढे ३०० भन्दा बढी कर्मचारीका लागि प्रदान गरिने उपदान, औषधि उपचार तथा बिदा व्यवस्था बापत २०७९ आषाढ मसान्तसम्म ७० करोड ४५ लाख खुद दायित्व रहेको देखिन्छ । कर्मचारी दायित्वसम्बन्धी व्यवस्थामा १ करोड २२ लाख रुपैयाँ मात्र रहेकाले उक्त रकमले कर्मचारीको दायित्व बहन गर्न सक्ने अवस्था छैन ।

यसबाहेक उद्योगको दायित्वमा बिजुलीको बिलसमेत आउँछ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरबापत माग गरेको थप महसुल रकम ४ करोड ६७ लाख ५७ हजार रुपैयाँको तिर्नुपर्ने छ । उद्योग र प्राधिकरणबिच मासिक १५ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्ने सम्बन्धी सहमति समेत भएको थियो । सोहीअनुसार यो वर्ष १ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको मा बाँकी ३ करोड १७ लाख ५७ हजार रुपैयाँलाई दायित्व छ । जसलाई लेखाङ्कन गरिएको छैन ।

तर आफूले गर्नुपर्ने असुलतर्फ भने उद्योगको ध्यान गएको देखिँदैन । उद्योगले पुराना लिनुपर्ने रकम असुल गर्नुपर्नेमा करोडौँ रुपैयाँ बेवास्तापूर्वक छाडेको प्रतिवेदनमा उल्लेख छ । उद्योगले यो वर्षसम्म खुद लिनुपर्ने ११ करोड ५७ लाख रुपैयाँ असुल गर्न सकेको छैन । उक्त रकममा लाग्ने ब्याज रकमसमेत हिसाब गरी असुल गर्नुपर्नेमा महालेखाको जोड छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीहरू भने उद्योग सरकारलाई निल्नु न ओकल्न भइरहेको बताउँछन् । उद्योगलाई बन्द गर्दा कर्मचारी व्यवस्थापनमा आउने चुनौती र दबाब सहन नसक्ने उनीहरूको तर्क छ । तर, सञ्चालन नै गरिराख्न पनि बर्सेनि करोडौँ रुपैयाँको घाटा सहन नसक्ने मनस्थिति देखिन्छ । तर उद्योग बन्द गरेपछि कार्यरत कर्मचारीको दबाब झेल्न नसक्ने भन्दै बर्सेनि करोडौँको घाटा दिइरहेको उद्योग सञ्चालनमा नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप