आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

बीपीसीएलले अस्वाभाविक रूपमा महसुल वृद्धि गरेको भन्दै विरोध

सोमबार, १४ जेठ २०८१, २० : ४७
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा उत्पादन केन्द्र रहेको बुटवल पावर कम्पनी (बीपीसीएल) ले पछिल्लो समय कसैसँग पनि समन्वय र छलफल नगरी महसुल बढाएको भन्दै स्थानीय उपभोक्ताहरू संयुक्त संघर्ष समिति बनाएर विरोधमा उत्रिएका छन् । सोमबार संयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बुटवल पावर कम्पनी आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धिविरुद्ध सशक्त संघर्षमा उत्रिने बताएको हो । 

बीपीसीएलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कुनै पनि काम नगरेको संघर्ष समितिले बताएको छ । बीपीसीएलको आयोजना प्रभावित क्षेत्र पाल्पा र स्याङ्जाका विभिन्न स्थानीय तहहरू रहेका छन् । संयुक्त संघर्ष समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले बीपीसीएलले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई महसुल वृद्धि गरेको बताए । 

विद्युत् महसुल वृद्धि ४५ देखि ६५ प्रतिशतसम्म रहेको उनको भनाइ छ । स्थानीयहरूको उपभोक्ताहरूको ढाड सेकिने गरी मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यहाँका स्थानीयहरू अहिले आफ्नो ढङ्गले आन्दोलित रहेकोसमेत उनले बताए । आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने बताए । 

‘जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्छ । अहिले २० देखि ५० युनिटसम्म जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिनुपर्छ भनेर विद्युत् प्राधिकरणले भनिरहेको अवस्थामा उल्टो बुटवल पावर कम्पनीले ढाड सेक्ने काम गरेको छ,’उनले भने । 

५ एम्पियरको १० युनिट विद्युत् खपत गर्ने उपभोक्ताले विद्युत् प्राधिकरणलाई ३० रुपैयाँ तिर्ने गरेको बताउँदै उनले बुटवल पावर कम्पनीले भने अत्यधिक मूल्य वृद्धि गरेको बताए । ग्रामीण विद्युतीकरणको नाममा जनताको ढाड सेक्ने कार्य आफूहरूलाई स्वीकार्य नरहेको उनले बताए । 

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले बुटवल पावर कम्पनीले अस्वाभाविक रूपमा मूल्यवृद्धि गरेर आयोजना प्रभावित क्षेत्रका जनतालाई माथि कुठाराघात गरेको बताए । आकस्मिक ढङ्गबाट थाहै नदिई ४३ प्रतिशत मूल्यवृद्धि गरेको उनको भनाइ छ । 

नेकपा (एमाले) का नेता एवं पाल्पा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले बीपीसीएलले स्वैच्छिक ढङ्गले मूल्यवृद्धि गरेको बताए । पाल्पा जिल्लाको केही भू–भाग बीपीसीएलको आयोजना प्रभावित क्षेत्र पर्ने बताउँदै उनले उक्त क्षेत्रमा पनि कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्य नगरको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप