बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

सत्तामा रहेका नेताका सन्तानलाई स्वदेश फर्काउनुपर्छ : सांसद तामाङ

बिहीबार, १७ जेठ २०८१, १४ : ५४
बिहीबार, १७ जेठ २०८१

हेटौँडा । बागमती प्रदेशसभा सदस्य गिरबहादुर तामाङले राज्य सत्ताको मूलधारमा रहेका व्यक्तिका सन्तानलाई नेपाल फिर्ता बोलाउनुपर्ने बताएका छन् । सरकारको नेतृत्व गर्ने नेता तथा सांसदका छोराछोरी नेपाल फिर्ता नबोलाउने हो भने युवाहरू स्वदेशमा नै राख्न सकिएन भन्नुको अर्थ नहुने उनले बताए ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद तामाङले सो कुरा बताएका हुन् । उनले आफ्ना बालबालिका युरोप र अमेरिका राख्ने अनि कुन नैतिकताले युवा देश बसेनन् भन्न मिल्छ भन्दै प्रश्न समेत गरे । सांसद तथा नेताहरूका युरोप र अमेरिकामा रहेका बालबालिका फिर्ता बोलाए मात्र पनि युवा पलायन रोक्न सकिने उनले बताए ।

‘युवा पलायन रोक्ने हो भने नेता र सांसदका बालबच्चालाई विदेशमा राख्ने अनि युवालाई स्वदेशमा टिकाउनुपर्छ । आफ्ना बालबालिका युरोप र अमेरिका राख्ने अनि युवालाई स्वदेशमा टिकाउनुपर्छ भनेर गफ दिएर कसले पत्याउने ? कुन नैतिकताले हामी युवा विदेशीय भनेर चिन्ता लिने अनि स्वदेश ल्याउनुपर्छ भनेर भन्ने’ उनले भने ।

युवाहरूलाई स्वदेशमा टिकाउन उद्यमशीलताको विकास गर्ने योजना बनाउनुपर्नेमा समेत उनले जोड दिए । उनले सरकारले नीतिअनुसार कार्यक्रम दिन नसकेको बताए । तामाङले सरकारको नीति तथा कार्यक्रमले बजेटलाई निर्देशित गर्न नसकेको टिप्पणी गर्दै आन्तरिक आयको क्षेत्र विकासमा सरकारले ध्यान दिन नसकेको समेत बताए ।

‘कर उठाउने मात्र भनेर हुन्न । कर सङ्कलन गरे अनुसारको सम्बन्धित क्षेत्रमा लगानी र सुविधा दिन सक्नुपर्छ । सरकारले बढ्दो सहकारी समस्यामा योजनाबद्ध रूपमा काम गर्नुपर्छ । बचतकर्ताको रकमको सुरक्षाका लागि सरकारले भूमिका खेल्नुपर्ने हुन्छ । सहकारी समस्या हल गर्न प्रदेश तहमा सरकारले संसदीय समिति बनाएर काम गर्नुपर्छ’ सांसद तामाङले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप