बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

जोखिममा आधारित नियमनकारी व्यवस्था ख्याल गर्न अध्यक्ष सिलवालको निर्देशन

बिहीबार, १७ जेठ २०८१, १९ : ११
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बुधबार काठमाडौँमा आयोजित जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भए बमोजिम कम्पनीका काम कार्यवाहीको नियमित अनुगमन एवम् सुपरिवेक्षण गर्न सञ्चालक समितिलाई निर्देशन दिए ।

अध्यक्ष सिलवालले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा आएका जोखिममा आधारित पुँजी कम्पनीबाट स्वयम् जोखिम मूल्याङ्कन र जोखिममा आधारित सुपरिवेक्षण प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ । यसको उद्देश्य नेपालको बीमा क्षेत्रको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा बढोस् । विदेशबाट पनि बीमा व्यवसाय भित्रियोस्, कम्पनीको जोखिमधारण क्षमता बढोस् । बीमितको हित रक्षा रहोस् र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सकुन् भन्ने नै हो ।’  

बीमा कम्पनीहरू आगामी दिनमा आउन सक्ने जोखिमप्रति बढी जागरूक हुनुपर्ने र सम्भावित जोखिमका बारेमा सरकालाई समेत बुझाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनी बलियो र सक्षम हुँदै जाउन् भन्ने प्राधिकरणको चाहना भएको बताए । 

यस पाटोबाट कम्पनीले पनि मेहनत गर्नुपर्छ पर्ने र बजार अनुसन्धान र सूचना प्रविधिमा लगानी बढाउनुपर्ने उनले बताए । ‘आफ्नो जोखिम आफै मूल्याङ्कन गर्नुपर्छ, जोखिमको विश्लेषण गरेर सम्बोधन गर्न योजना बनाउनुपर्छ । यसमा सघाउन प्राधिकरण तयार छ’ अध्यक्ष सिलवालले भने ।

कार्यक्रममा जोखिममा आधारित पुँजी तथा जोखिममा आधारित सुपरिवेक्षण सम्बन्धी प्रस्तुति दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले अन्तर्राष्ट्रिस्तरमा प्रचलनमा आएका जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई नेपालको परिवेश अनुसार परिस्कृत गर्दै अन्तरिम रूपमा कार्यान्वयनमा ल्याइएको बताए ।

‘यो प्रणाली आगामी २०८४ सालदेखि पूर्णरूपमा कार्यान्वयनमा  आउँछ’ सुवेदीले भने, ‘विश्वव्यापीरूपमा स्वीकार गरिएको यस प्रणालीको कार्यान्वयनबाट बीमितको हित रक्षा गर्न, वित्तीय उतारचढावको प्रभाव न्यून गर्न, बीमकको पुँजी सबल बनाउन, लागत घटाउन र बीमकलाई पारदर्शी एवम् जबाफदेही बनाउन योगदान पुग्नेछ ।’

बीमकको न्यूनतम पुँजी कायम राख्दै बढी जोखिम भएका बीमकको पुँजी बढी र कम जोखिम भएकाको कम भए हुने, हालको जोखिम र भविष्यमा आउनसक्ने जोखिमको पहिचान गर्ने, मूल्याङ्कन गर्ने र जोखिम न्यूनीकरण गर्न योजना बनाउने लगायत समग्र विषय यस प्रणालीमार्फत अगाडि बढाउन सकिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप