आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय

चोरीका मोबाइल मर्मतमा आउँदा छुट्याउन सकिँदैन, कानुन चाहियो : मोबाइल व्यवसायी महासंघ

बिहीबार, १७ जेठ २०८१, १९ : ४०
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतका समयमा व्यवसायीहरूले झमेला भोग्नु परिरहेको बताएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतमा देखिँदै आएको कानुनी समस्याको समाधानतर्फ सरकारले चासो देखाउनु पर्ने बताएको हो । 

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल मर्मतका समयमा व्यवसायीहरूलाई असहज अवस्था रहेको र व्यवसायीहरू अनावश्यक झमेलामा पर्ने गरेको बताए । 

‘चोरी भएका, हराएका मोबाइलहरू मर्मतका लागि व्यवसायीहरूसम्म आइपुग्दा सोबारे व्यवसायी जानकार नरहने तर मर्मतपछि प्रहरी प्रशासनसँगको समन्वय र कानुनी व्यवस्थाको अभाव हुँदा व्यवसायीहरू अनावश्यक झमेलामा पर्ने गरेका छन् । सरकारले यो समस्या समाधान गर्न कानुनी रूपमा नै बाटो खोज्नु पर्छ,’ अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा भने । 

भट्टराईले भन्सार छलीमार्फत भित्रने (ग्रे मोबाइल फोन)ले बजारको अवस्था बिग्रँदो अवस्थामा पुर्‍याएको समेत बताए । जसका कारण सरकारको राजश्वमा घाटा भई देशको अर्थतन्त्रमा नकारात्मक असर बढ्दो रहेको उनको भनाइ छ । सो कारोबारको अन्त्य गर्नका लागि सरकारले तत्काल आवश्यक नीति बनाउनु पर्ने उनले बताए । 

संघका महासचिव रमेश घिमिरेले मोबाइल सेटको दोस्रो विक्री (सेकेण्ड ह्यान्ड कारोबार) मा सरकारको नीति प्रष्ट नहुँदा विक्री सहज हुन नसकेको बताए ।

‘मोबाइलको सेकेण्ड ह्यान्ड कारोबारमा सरकारको नीति प्रष्ट छैन । नीति नहुँदा विक्री पनि सहज छैन । जसका कारण व्यवसायीहरू मारमा छन् । यसलाई व्यवस्थित बनाउँदा दोस्रो पटकको विक्रीको अवस्था बढ्ने र देशको पैसा देश भित्रै रहने वातावरण बन्ने छ । यो किसिमको कारोबार गर्न वैध व्यवस्था नहुँदा उपभोक्ता समेत मारमा छन्’, महासचिव घिमिरेले भने ।  

यसैगरी नेपालमा मोबाइल एसोसरिजको अन्डर विलिङको कारोबार समेत बढ्दो रहेको महसंघले जनाएको छ । त्यस्ता एसोसरिजहरु भन्सार भएर आउँदा नै सरकारले कडा रेखदेख र नीति कायम गर्न नसक्दा त्यसको मार साना व्यवसायीहरूले भोग्नु परिरहेको महासंघको दाबी छ । यसले सरकारको राजश्वमा नकारात्मक असर रहेको महासंघले बताएको छ । 

महासंघको दोस्रो केन्द्रीय महाधिवेशन तथा तेस्रो साधारणसभा अगामी २५ जेठमा काठमाडौँमा हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महाधिवेशनको उद्घाटन गर्ने तयारी छ । महाधिवेशनबाट संघको आगामी नयाँ नेतृत्व चयन हुने छ । 

२०७६ मा तदर्थ समिति निर्माण भई २०७८ असार २७ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको नेपाल मोबाइल व्यवसायी महासंघको सात प्रदेशसहित ७० जिल्लामा शाखा छ । महासंघमा करिब २० हजार व्यवसायी जोडिएका छन् भने महाधिवेशनमा सात प्रदेशका ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप