शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय
अपराध

कालो झोलामा अनुसन्धान केन्द्रित गर्दा भेटिए ६७ वर्षीया विष्णुकुमारीका हत्यारा

दराजबाट झोला किन्नेको विवरण संकलन गरेर अनुसन्धान
बिहीबार, १७ जेठ २०८१, २३ : ०९
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–४ शिवनगरमा विष्णुकुमारी विष्टको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । ६७ वर्षीय विष्टको वैशाख २६ मा हत्या भएको थियो ।

हत्यामा संलग्न आरोपमा बिर्तामोड–४ घर भएका २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षका महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय भागीरथ माझी उर्फ ज्याक र ४३ वर्षका धनबहादुर कामीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । लुट्ने उद्देश्यले गङ्गा राजवंशीले योजना बनाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए ।

महेश राजवंशी वैशाख २५ मा साँझ ९ बजेतिर गङ्गा प्रसादको घरमा गएर चोर्ने योजना बनाउँछन् । चोरी गर्न आवश्यक फलामको मार्तोल र रेन्च लिएर उनीहरू निस्कन्छन् । सुरुमा सुमन राजवंशीको घरमा चोरी गर्न गएका उनीहरू त्यहाँ असफल भएर कालिकाचोकस्थित विष्णुकुमारीको घरमा पुग्छन् ।

गंगाप्रसाद कम्पाउन्डभित्र गएर महेशलाई बाहिर रेखदेख गर्न लगाउँछन् । उनीहरू घर कम्पाउन्डमा पसेको आवाज सुनेर विष्णुकुमारीले फोनमा ‘चोर आएको जस्तो छ’ भनेर कुरा गरेको सुनेपछि दुवै जना भाग्छन् । त्यसपछि छिमेकीहरू जम्मा भए । चोर आएको वा नआएको यकिन गरेर छिमेकीहरू पनि फर्किए ।

विष्णुकुमारीको घरमा छिमेकी भेला भएपछि भागेका गङ्गा राजवंशीले अर्का छिमेकी डम्बरकुमारी प्रसाईंको घरमा पसेर झोला चोरी गरे । झोलामा भएको ७ सय नगद निकालेर त्यहाँ रड र रेन्चु राखेर मकैबारीमा लुकेर बसिरहे ।

छिमेकीहरू बिदा गरेर विष्णुकुमारी ढोका लगाएर सुत्ने तरखर गरेपछि गंगाप्रसाद फेरि उनको घरमा छिरे । बाहिर महेश राजवंशीले करिब १ घण्टा रेखदेख गरिरहे । लामो समय घरबाट ननिस्केपछि महेश आफ्नो घरतिर लागे ।

PHOTO-2024-05-30-21-29-24

घरभित्र गंगाप्रसाद प्रवेश गर्दा विष्णुकुमारी निदाएकी थिइनन् । सुत्नुअघि उनले घरभित्रबाट ताला लगाइन् । फोनमा कुरा गरिसकेर विष्णुकुमारी सुत्न लाग्दा गङ्गा प्रसादलाई देखेर विष्णुकुमारी चिच्याइन् । अनि, गंगाप्रसादले रडले हिर्काएर उनको हत्या गरेका हुन् । हत्यापछि सुनका गहना र मोबाइल लिएर उनी फरार भए । तर, अर्को घरबाट चोरेर ल्याएको कालो झोला गंगाप्रसादले घटनास्थलमा नै छाडेका थिए ।

घटनास्थलबाट भेटिएको कालो  झोलाबाट प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडसहित ४ वटा टिम परिचालित भएको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

झोलाबारे पत्ता लगाउन प्रहरीले दराजबाट झोला किन्नेहरूको विवरण माग्यो । अनुसन्धान अधिकृतहरूले झापाबाट दराजको अनलाइन पोर्टलमा झोला अर्डर गर्नेहरूको विवरण लिएर गरे । स्थानीय डम्बर कुमारी प्रसाईंले घटनास्थलमा भेटिएको झोला आफ्नो घरबाट चोरी भएको भनेर सनाखत गरिदिइन् ।

त्यसबारे उनीहरुले प्रहरीमा रिपोर्ट पनि गरेका थिए । झोलामा शुभ सङ्केत हुन्छ भनेर ‘घोडाको टाप’ चिन्ह टाँसिएको थियो । डम्बर कुमारीका परिवारका एक जना सदस्यले युएईबाट सो झोला घरमा पठाइदिएका थिए । झोलाबारे अनुसन्धान गर्दै जाँदा हत्या आरोपी गङ्गा राजवंशीसम्म आफूहरू पुग्न सफल भएको डीएसपी चन्दले बताए ।

हत्यामा संलग्न मुख्य आरोपी गंगाप्रसाद, उनकी पत्नी वर्षा, घटनास्थलमा सुरुमा रेकी गर्ने महेश, विष्णुकुमारी विष्टको हत्यापछि लुटेको सुन किन्ने पसल सञ्चालक धनबहादुर कामी र सुन बेच्न सहयोग गर्ने भागिरथ माझी २१ दिनपछि पक्राउ परेका छन् ।

विष्णुकुमारीले ‘चोर चोर’ भनेर कराएपछि रडले हिर्काएर सुनका गहना लुटेर गंगाप्रसाद भित्रबाट लगाएको ताला खोलेर भागेका हुन् । चोरेको औँठी भागिरथको सहयोगमा उनले २० हजारमा बेचेका हुन् । अन्य सुन तथा मोबाइल कल्भर्टबाट बरामद गरेको डीएसपी चन्दले बताए ।

कल्भर्टमा सुन र मोबाइल फालेको उनकी पत्नी वर्षाले देखेकी थिइन् । तर, झोला पत्ता लगाउन प्रहरीले ४ दिन अनुसन्धान गरेको थियो । डीएसपी चन्द भन्छन्–‘जसले झोला चोर्‍यो उसैले विष्णुकुमारीको हत्या गरेको खुलेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप