बुधबार, २६ मङ्सिर २०८१
ताजा लोकप्रिय
दुर्घटना

पाँच वर्षमा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ सय १६ प्रतिशतले वृद्धि

ट्राफिकका डीआईजी भन्छन्– ‘चालकको लापरबाहीबाट ८० प्रतिशत दुर्घटना’
बुधबार, २३ जेठ २०८१, १९ : ३४
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको करिब एक वर्ष पुग्दैछ । ५ असार २०८० मा केदारस्युँ गाउँपालिका–१ स्थित नयाँगाउँमा उनी दुर्घटनामा परेका हुन् ।

आर्थिक वर्ष २०७९–०८० मा मन्त्री सिंह जस्तै सडक दुर्घटनामा परेर २ हजार ३ सय ६८ जनाले ज्यान गुमाए । गत वर्ष ३७, हजार ३ सय ९२ वटा दुर्घटना हुँदा ५ हजार ७ सय ३८ जना घाइते भए । 

उनीहरूमध्ये अहिले पनि धेरै मानिस अङ्गभङ्ग भएर कष्टपूर्ण जीवन बाँचिरहेका छन् । 

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार वार्षिक रूपमा दुर्घटनाको अवस्था भयावह छ । तर, सरकारका निकायहरूले दुर्घटना न्यूनीकरण गर्न सामान्य प्रयास पनि गरेका छैनन् ।

आर्थिक वर्ष २०७८–०७९ मा देशभर ३९ हजार ३ सय ७९ वटा सवारी–साधन दुर्घटना भए । सो आर्थिक वर्षमा २ हजार ८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाए । 

२०८० साउनपछि २०८१ वैशाखसम्म ३१ हजार दुर्घटनाहरू भएका छन् । यस अवधिमा १ हजार ९८५ जनाको मृत्यु भएको छ । पछिल्लो दश महिनाको अवधिमा ५ हजार १३७ जना घाइते भएका छन् । 

पछिल्लो १० महिनामा मृत्यु भएकाहरूको सङ्ख्या गत पाँच वर्षअघिको तुलनामा ३ सय १६ प्रतिशतले वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०७५–०७६ मा सडक दुर्घटनामा परेर ४७७ जनाले ज्यान गुमाएका थिए । सो सङ्ख्या बढेर हाल १ हजार ९८५ पुगेको छ । पाँच वर्ष अघिको तुलनामा सो सङ्ख्या ३ सय १६ प्रतिशतले बढी हुन आउँछ । 

यस वर्षको मनसुन ३१ जेठबाट सुरु हुँदैछ । वर्षायाममा दुर्घटना वृद्धि हुने हुनाले न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने जानकारहरू बताउँछन् । 

सड्क सुरक्षा सम्बन्धी जानकार आशिष गजुरेल मुख्य ४ वटा कारणले हाम्रोमा दुर्घटना हुने गरेको बताउँछन् । असुरक्षित सडक, प्रयोगकर्ताको लापरबाही, अवस्था ठिक नभएका सवारी सञ्चालन र नियामक निकायले सडक अनुशासन पालना गराउन नसक्दा दुर्घटना बढेको गजुरेलको भनाई छ । 

वर्षातको समयमा दुर्घटना बढ्नुको कारणबारे उनी भन्छन्–‘असुरक्षित सडक र वर्षामा चिप्लो हुँदा थप दुर्घटना हुन्छ,  सडकमा ढुङ्गा र पहिरो खसेका कारण पनि वर्षायाममा धेरै दुर्घटना हुन्छ ।’ 

यस्तो छ दुर्घटनाको तथ्याङ्क :

table

                                                                                                                                                                                   स्रोत : प्रहरी प्रधान कार्यालय 

दुर्घटनाबाट अत्यासलाग्दो जन र धनको क्षति भएको छ । तर, दुर्घटना न्यूनीकरणमा कुनै प्रयास भएको छैन । ‘स्थानीय तहले बनाएको सडकमा इन्जिनियरिङ मापदण्ड पालना भएको छैन’ आशिष गजुरेलले रातोपाटीसँग भने, ‘१ लाख किलोमिटर सडक मध्ये २५ हजार किलोमिटर सडक मात्रै सडक विभागले बनाएको छ ।’ 

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार जिप, कार र मोटरसाइकल सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेका छन् । सार्वजनिक सवारी पनि उत्तिकै दुर्घटनामा पर्छन् । वर्षाको समयमा दुर्घटनाको ग्राफ बर्सेनि बढ्छ । 

सवारी दुर्घटनाबारे जानकार पूर्वट्राफिक प्रहरी इन्स्पेक्टर सीताराम हाछेथु गाडी दुर्घटना भएपछि दुर्घटना न्यूनीकरण गर्नेबारे कसैले ध्यान नदिएको अनुभव सुनाउँछन् । रातोपाटीसँग कुरा गर्दै हाछेथुले भने–‘हामीमा सडक दुर्घटनालाई बिर्सने संस्कार छ, चालकलाई सचेतना कार्यक्रममा नचलाउँदा बर्सेनि दुर्घटना बढ्दो छ ।’ 

चालकमा ‘ट्राफिक नियम पालना गर्नुपर्छ’ भन्ने भावना विकास गराउन नसक्दा दुर्घटना न्यूनीकरण हुन नसकेको बताउँछन् हाछेथु । उनी भन्छन्–‘मेरो पछाडि यतिका मान्छे छन्, भन्ने कुरा चालकले बिर्सन्छन् । चालकले पैसा मात्रै सोचेर स्टेरिङ समाउँदा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।’ 

चालकको लापरबाहीबाट ८० प्रतिशत दुर्घटना

पछिल्लो १० महिनामा काठमाडौँ उपत्यकामा मात्र १३ हजार ९४८ वटा दुर्घटना भएका छन् । सो अवधिमा १४० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

दुर्घटनामा २३३ जना गम्भीर घाइते भए । आर्थिक वर्ष २०७९–०८० मा उपत्यकामा १९ हजार २३८ वटा दुर्घटना भएको थियो । त्यस अवधिमा १७९ जनाले ज्यान गुमाए । 

उपत्यका प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले काठमाडौँ उपत्यकामा ८० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको बताए । उनले भने, ‘चालकको लापरबाहीका कारण अधिकांश दुर्घटना हुने गरेको देखिन्छ ।’ 

चालकले गर्ने लापरबाहीमा मादक पदार्थ सेवन र तीव्र गति मुख्य कारण हुन् । सडकको अवस्था, लेन अनुशासन पालना नगर्दा र ओभरलोडका कारण पनि दुर्घटना हुने गरेको दुर्घटनापछि प्रहरीले गरेको अनुसन्धान निष्कर्ष छ । 

न्यूनीकरण गर्ने कसरी ?

सार्वजनिक सवारीको यान्त्रिक परीक्षण नहुँदा पनि दुर्घटना दैनिक बढ्दै छन् । ‘पुराना गाडीहरू चलिरहेका छन्,’ सडक सुरक्षा सम्बन्धी जानकार गजुरेलले भने–‘त्यसले दुर्घटना बढाएको छ ।’ चालकलाई जनचेतनाको कार्यक्रम र पैदलयात्रीलाई जनचेतना फैलाएर प्रविधि मैत्री तवरले ट्राफिक व्यवस्थापन गरेमा दुर्घटना न्यूनीकरण गर्न सकिने गजुरेलले बताए । 

वर्षमा कम्तीमा ४ पटक आफ्नो सवारी दुरुस्त भएको सर्टिफिकेट यातायात कार्यालयमा बुझाउनुपर्ने नियम ल्याएमा यान्त्रिक समस्याका कारण दुर्घटना नहुने गजुरेलको भनाई छ । 

ठुला दुर्घटना भएपछि जाँचबुझ आयोग गठन गर्ने र प्रतिवेदन बुझेर घर्रामा थन्क्याएर बस्ने सरकारी शैली नयाँ होइन । तत्काल उद्धार संयन्त्र नहुँदा पनि दुर्घटनाको कारण हुने मृत्युदर बढ्दै छ ।  वर्तमान अवस्थामा सवारी प्रयोगकर्ता आफैँ सचेत भएका दुर्घटना न्यूनीकरण हुने जानकारहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप