मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसको १४ दिने बैठक : देउवा कि पौडेल/सिटौला फाइदामा ?

सोमबार, १७ वैशाख २०७५, १५ : ११
सोमबार, १७ वैशाख २०७५

काठमाडौँ । निर्वाचनको पीडाले ‘थिलथिलो’ काँग्रेसले जीवन भर्ने अपेक्षा गरिएको  केन्द्रीय कायसमितिको बैठक आइतवार सकिएको छ ।

पराजयलाई स्वभाविक ‘लिनुपर्ने’ सभापति शेरबहादुर देउवापक्षको अडान र कठोर समीक्षा गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूहको प्रस्तावबीच बैैठक सकिएको हो ।

१४ दिन बसेको बैठकमा लिखित÷अलिखित दर्जर्नौ प्रस्ताव पेश भए । तर, बैठक सहमतिमा टुंगिन सकेन । बरिष्ठ नेता पौडेलले बैठक सकिँदासकिँदै पत्रकार सम्मेलन गरेर आफ्नो असन्तुष्टि पोखे । 

बैठकलाई काँग्रेसको संस्थापनपक्षले ‘उपलब्धीमूलक’ ठानेको छ भने पौडेल/सिटौला समूहले ‘झारा टार्ने’ भनेको छ । 

माग धेरै, सम्बोधन थोरै 

बैठक बैशाखमा बस्यो तर नेता पौडेलेले फागुनमा सभापतिलाई लेखेको पत्रले पनि चर्चा पायो । पत्रमा पौडेलले निर्वाचनमा पार्टीको पराजयलाई सभापति देउवाको कार्यक्षमता र शैलीलाई जिम्मेवार ठानेका थिए । फागुन १३ मा वसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले सभापतिलाई पत्र लेखेका थिए, जुन अहिलेको बैठकमा पनि चर्चामा रह्यो । देउवापक्षीय नेताले पत्रलाई आधार बनाई पौडेलप्रति खनिए । 

पौडेलले आफ्नो पत्रमा देउवालाई संसदीय दलको नेता, सभापति, प्रधानमन्त्री बन्ने इच्छा पूरा भएकोले सानो समूहको संरक्षक मात्रै नवन्न आग्रह पनि गरेका थिए । पौडेलले सभापतिलाई आफ्नो गुटको भरणपोषणमा केन्द्रित भएको आरोप लगाएका थिए । 

काँग्रेस पराजयको मुख्यकारण वामदलको गठबन्धनलाई मानिरहेको संस्थापन पक्षलाई पौडेलले वामगठबन्धन सहायक कारण मात्रै भएको उल्लेख गरेका थिए । पौडेलको तर्क थियो, ‘यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो ।’ 

पौडेलले ‘पार्टी हारेको होइन, उम्मेदवार हारेका हुन्’ भन्ने सभापति देउवाको भनाईलाई ‘कुतर्क’ भनेका थिए । उनी आज पनि आफ्नो अडानमा कायमै छन् । 

पौडेलपक्ष् निर्वाचन पराजयमा आन्तरिक कारण मुख्य मानेको छ । देउवापक्ष यो मान्न तयार भएनन् । फलतः निर्वाचनको हारको जिम्मेवारी सभापतिले लिन चाहेनन् । नैतिकरुपमा हारको जिम्मेवारी सभापतिले लिन नचाहेपछि बैठकमा पराजयको निर्मम समीक्षा हुन नसकेको पौडेलपक्षको वुझाई छ । 

काँग्रेसको आइतवार सकिएको निर्णयमा छ, ‘पार्टीको पराजय सम्वन्धमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रममा प्रकट गर्नुभएका विविध विषयमा विमर्श हुँदै जानेछ ।’ 

पौडेलसँगै प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कुलवहादुर गुरुङ र यूवा नेताहरुको समूहले पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने धारणा राख्दै आएका थिए । 

१४औं दिन सकिएको बैठकमा हारको कारण मुख्य रुपमा वामगठवन्धनलाई देखाइएको छ । 

पार्टीको कारणलाई सहायक रुपमा प्रस्तुत गरिएको छ ।

 सभापति देउवापक्षले  हारका कारणलार्इ ‘कुशलतापुर्वक’ पन्छाउने प्रयास गरेको छ । 

केन्द्रीय कार्यसमितिमा आएका धारणालाई ‘विमर्शमा हुँदै जाने’ निर्णय गराउन सभापति सफल भएका छन् । 

संसदीय समिति र कार्यसम्पादन समितिलाई भंग गनुपर्ने पौडेल/सिटौलाको माग बैठकमा देउवाले ‘डिफ्यूज’ गराईदिएका छन् । हाल ‘औचित्यहिन’रहेको संसदीय समितिलाई भंग गर्ने र कार्यसम्पादन समितिलाई पुर्नगठन गर्ने वताएका छन् । तर, यो औपचारिक निर्णय होइन । सभापतिले यस्तो कुरा बताएको भनेर प्रवत्ता विश्वप्रकाश शर्माले पत्रकारलाई जानकारी गराएका थिए । 

तर, केन्द्रीय सदस्य कल्याण गुरुङले विधान विपरितका समिति भंग हुनु बैठकको सफल पक्ष रहेको वताए । ‘हाम्रा माग धेरै थिए, केहि भए पनि सम्वोधन भएका छन् । आंशिक सफलता मिलेको छ ’उनले भने । 

बैठकमा वोल्ने धेरै सदस्यले राजदूत नियुक्ति, आइजीपी काण्ड,  प्रधानन्यायधीसलाई  महाभियोग प्रकरण, नाकावन्दीको मौनता, माओवादीसँगको गठबन्धन र विच्छेद, प्रभावहिन लोकतान्त्रिक गठबन्धन र विधानविपरित गठन भएका समितिका विषयमा अनेकन प्रश्न उठाए । 

बैठकमा उठेका धेरै प्रश्नको सम्बोधन भएन । समीक्षा बैठकको अन्त्य गर्ने क्रममा देउवाले नाकावन्दीलाई नाकावन्दी भन्नु नसक्नु काँग्रेसको गल्ती भएको भने स्विकारे । काँग्रेसले पहिलो पटक संस्थागत रुपमा यसरी नाकाबन्दी स्वीकारेको हो । 

केन्द्रीय समितिका निर्णयलाई उपहास तुल्याउने र उल्ट्याउने काम बारम्बार भएको भन्दै सदस्यहरुले आपत्ति जनाएका थिए । यूवा केन्द्रीय सदस्य गगन थापालगायतका सात यूवाहरुद्धारा प्रस्तुत अवधारणामा ‘प्रभावशालीहरुको बैठक’ र निर्णय हुने गरेको उल्लेख गरिएको छ । यूवाले उठाएका प्रस्तावहरुमा ठोस कुनै निर्णय गरिएको छैन । 

पार्टीको महासमिति बैठक अविलम्व बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप नयाँ विधान पारित गर्न पौडेले/सिटौला समूहको जोड थियो । प्रदेश संरचना अनुसार पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउनका लागि चौधौ महाधिवेशनमा जानुपर्ने उनीहरुको धारणा थियो । 

महासमिति बैठक डाक्न भने देउवा तयार भएका छन् । तर, पौडेल/सिटौला समूहले अविलम्व माग गरेको महासमिति बैठकलाई सभापति देउवाले भदौमा पुर्याइदिए । 

महासमिति र सभापति भेलाको महिना तोकिएको भएपनि दिन निश्चित गरिएको छैन । 

यूवा समूहले महासमितिको साधारण बैठक २०७५ जेष्ठ ११ गते भित्र गर्न माग गरेका थिए । 

यूवाको मागमा पनि सुनुवाई भएन ।  

सर्वसहमति भनियो, मसी नसुक्दै विरोध 

शुक्रवार टुङ्याउने तयारी भएको बैठकमा दुइपक्षको सहमति नहुँदा करिव ३६ घण्टा महामन्त्रीको प्रतिवेदनका लागि समय लागेको थियो । 

महासमिति बैठक, निर्वाचन पराजयको जिम्मेवारी र विधानविपरितका समिति भंग गर्नुपर्ने प्रस्तावमा सहमति नजुट्दा शनिवारको बैठक पनि स्थगितत गरिएको थियो । 

पौडेल/सिटौला समूहले महामन्त्रीको प्रतिवेदनमा भएका बिषयमा आपत्ती जनाएपछि आइतवार विहान ९ वजे डाकिएको बैठक पनि लम्विएको थियो । 

साँझ छ वजे वसेको बैठकमा एकतावद्ध रुपमा प्रतिवेदन आएको वताइएको थियो । करिव डेढ घण्टामा सकिएको बैठकपछि देखिएका दुइ दृश्यले काँग्रेसको समीक्षा बैठक ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तो भएको छ । 

७ः३५ मा प्रवक्ताले गरेको पत्रकार सम्मेलनमा महामन्त्रीको प्रतिवेदन एकतावद्ध रुपमा आएको वताएका थिए । गहन छलफल पश्चात् परिमार्जन सहित एकमतले महामन्त्रीको प्रस्ताव पारित भएको प्रवक्ताको भनाई थियो । प्रवक्ताले निर्णय सार्वजनिक गर्दा महामन्त्री पनि सँगै थिए । 

आठ वजे सकिएको प्रवक्ताको पत्रकार सम्मलेनपछि तुरुन्तै अर्को कोठामा पौडेल/सिटौला समूहले पत्रकार सम्मेलन गरे । यो पत्रकार सम्मेलनमा पनि महामन्त्री कोइराला नै सहभागी भए । महामन्त्री कोइराला दुवै पत्रकार सम्मेलनमा सहभागी भएको दृष्य काँग्रेस मुख्यालयमा आइतवार साँझको रोचक थियो । 

सार्वजनिक निर्णयमा पौडेलले आपत्ति जनाए । ‘वहुमतका आधारमा निर्णयहरु ल्याइएको छ । सुधारिएर जाने वचनका कारण बैठकमा सहभागी भएको हो ।’ उनले पत्रकार सम्मेलनमा भने ।

‘नोट अफ डिसेन्ट’ लेख्दा दलमा गलत परम्परा वस्ने भएकोले आफुहरुले त्यसो नगरेको उनले स्पष्ट गरे ।

सभापतिप्रति आक्रामक देखिएका पौडेलले सभापतिले बैठकको अन्तिममा पदाधिकारी चयनका लागि बैठक डाकेकोमा पनि विरोध गरे । पार्टी सभापति एकलौटी तरिकाले चलेको भन्दै सोमवारको बैठक वहिष्कार गर्ने चेतावनी पौडेलले दिएका थिए । 

दुइ वर्षअघि हुनुपर्ने पदाधिकारी मनोनयनलाई अहिले विधान विपरित मनोनयन गर्न खोजेको भन्दै पौडेलले विरोध गरे । निर्वाचित केन्द्रीय सदस्यहरुबाट रिक्त पदाधिकारीहरुको छनौट गर्नुपर्ने विधानमा प्रावधान रहेको छ । 

देउवाले आफु निकटका नेतालाई पदाधिकारीमा लैजाने प्रस्ताव ल्गाउने तयारी गरेका दावी अर्को समूहले गरेको छ । उप–सभापति, महामन्त्री र सह–महामन्त्री देउवाले आफु निकटका ल्याउन लागेको अर्कोपक्षको आशंका छ । 

उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णवहादुर खड्का र सह–महामन्त्रीमा डा.प्रकाशशरण महतलाई प्रस्ताव गर्ने देउवाको तयारी रहेको बताइन्छ । 

रिक्त पदाधिकारीमा सभापतिले आफु निकट व्यक्ति ल्याउन लागेपछि पौडेल/सिटौला समूह उनीसँग थप चिढिएको छ । 

निर्वाचन समीक्षामा पौडेल समूहले उठाएका माग आशिंक मात्रै सुनुवाई भएपछि पौडेल/सिटौला समूह अब पदाधिकारी चयन रोक्ने रणनीतिमा लागेको छ । 

पौडेल/सिटौला समूहको विरोधकै कारण निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । सोमवार बस्ने भनिएको बैठक बैशाख २१ गतेका लागि सारिएको छ । 

यो पनि पढ्नुहोस्

कांग्रेस बैठकमा शशांकः ‘सुनाए भगवान शिवले विष पिएको प्रसंग र समुद्र मन्थनको कथा’

यी हुन् काँग्रेस बैठकका ७ निर्णय

पदाधिकारी मनोनयनका लागि बोलाइएको काँग्रेस बैठक स्थगित

कांग्रेस बैठक सकिने बित्तिकै पौडेल समूह बन्यो असन्तुष्ट

प्रस्ताव सम्बोधन नगरी निर्णय ल्याउने तयारी

आलोचना गर्नेहरुलाई पौडेलको जवाफः ‘भूपू सभापतिवाट देउवाले सिक्नु पर्दैन ?’

काँग्रेसमा युवा नेताहरुनै विभाजित, गगन समुहपछि आउने भयो अर्को नयाँ प्रस्ताव

भित्र केन्द्रीय समिति बैठक, बाहिर नेविसंघको नाराबाजी (फोटोफिचर)

२०७४ काँग्रेसको विर्सनलायक वर्ष, ‘सिकिस्त’ बनाएर बिदा भयो

        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप