बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्यटन

प्रतिमहिना १ लाख पर्यटक - कोभिड महामारी अघिको अवस्थामा पुग्ला ?

आइतबार, २७ जेठ २०८१, ०७ : ५४
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । कोभिड–१९ महामारीका कारण थलिएको पर्यटन क्षेत्रमा फेरी उल्लास फर्कन थालेको छ । नेपालमा प्रतिमहिना सरदर १ लाखभन्दा बढी विदेशी घुम्न आउन थालेसँगै पर्यटन क्षेत्रमा पुरानै उल्लास फर्कन थालेको हो ।

सन् २०१९ मा विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण अन्य मुलुकमा जस्तै नेपालमा पनि पर्यटन क्षेत्र खस्किएको थियो । सन् २०१८ र २०१९ मा प्रतिवर्ष ११ लाखभन्दा बढी विदेशी नेपाल आएकामा त्यसयता यो क्षेत्र नराम्ररी खुम्चियो । तर सन् २०२४ मा भने राम्रो सङ्केत देख्न थालिएको छ ।

यो वर्षको सुरुवाती ५ महिनाको अवधिमा औसतमा १ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । ५ महिनाको अवधिमा हवाई मार्गबाट ५ लाख ६ हजारभन्दा बढी विदेशी नागरिक नेपाल घुम्न आएका हुन् । जुन, सरदरमा प्रतिमहिना १ लाखभन्दा बढी हो ।

नेपाल एउटै गन्तव्यमा ‘वाइल्ड लाईफ’देखि ‘माउन्टेन’ दृश्य अवलोकन गर्न सकिने मुलुक हो । जसकारण विदेशी मुलुकका नागरिक नेपाल झुम्मिने गर्छन् । तर, विगतमा पर्यटन पूर्वाधारको अभावमा विदेशी नागरिक नेपाल आउन हिचकिचाउने गर्थे । तर पछिल्लो समय ठुला विदेशी ब्रान्डका चेन होटेल समेत नेपालमा ओइरो लाग्न थालेको छ ।

जसले विदेशी पर्यटकलाई तान्न सहजीकरण समेत गर्ने गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२४ को जनवरीमा ७९ हजार १०० विदेशी नेपाल आएका छन् । यस्तै फेब्रुअरीमा ९७ हजार ४२, मार्चमा १ लाख २८ हजार १६७ जना नेपाल आएका छन् । यसैगरी, अप्रिलमा १ लाख ११ हजार ३७६ जना नेपाल आउँदा मे महिनामा ९० हजार २११ जना नेपाल आएका छन् ।

गत वर्षकोभन्दा धेरै पर्यटक

सन् २०२३ को तुलनामा २०२४ मा सुरुवातदेखि नै धेरै विदेशी पर्यटक नेपाल आइरहेका छन् । २०२३ को सुरुवाती ५ महिनामा कुनै पनि महिना १ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिएनन् । २०२४ मा लगातार दुई महिना १ लाखभन्दा बढी विदेशी नेपाल घुम्न आएको तथ्याङ्क छ ।

२०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ र मेमा ७७ हजार ७०३ जना विदेशी घुम्न नेपाल आएका थिए । सन् २०२३ मा मार्च र अप्रिलमा लगातार ९९ हजार र ९८ हजार जना विदेशी आए पनि १ लाख कटेको थिएन ।

गत वर्षको सुरुवाती ५ महिनामा ३ लाख १४ हजार विदेशी नेपाल आएका थिए । यही अवधिमा यो वर्ष ५ लाख ६ हजारभन्दा बढी नेपाली आइसकेका छन् । यसबाट सन् २०२४ मा ऐतिहासिक सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउने सम्भावना बढ्न थालेको छ । अहिलेसम्म नेपालमा उच्च विदेशी पर्यटकको सङ्ख्या ११ लाख ७९ हजार हो । 

कोभिड अघिको अवस्थामा पुग्ला ?

कोभिड–१९ महामारी अघि लगातार दुई वर्ष ११ लाखभन्दा बढी विदेशी नेपाल भित्रिएका थिए । २०१८ मा ११ लाख ७३ हजार र २०१९ मा ११ लाख ७९ हजार जना विदेशी नेपाल भित्रिएका थिए । तर त्यसपछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले अन्य मुलुकमा जस्तै नेपालमा पनि पर्यटन व्यवसाय ध्वस्त बन्यो ।

त्यसपछि २०२० मा २ लाख ३० हजार, २०२१ मा १ लाख ४९ हजार र २०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२३ मा १० लाख १४ हजार जना विदेशी नेपाल आए पनि कोभिड अघिको जस्तो ११ लाख पुग्न सकेन । यो २०२२ को तुलनामा ४ लाख हाराहारीको वृद्धि थियो ।

यो वर्ष भने ११ लाखभन्दा बढी पर्यटक नेपाल भित्रने सङ्केत देखा परेको छ । जुन, नेपालको पर्यटन इतिहासमा नै ऐतिहासिक बन्न सक्छ । २०२४ को सुरुवाती ५ महिनामा जस्तै विदेशी पर्यटक नेपाल आइरहे ११ लाखको सीमारेखा समेत पार गर्न सक्ने देखिन्छ । तर यसका लागि वर्षको अन्त्यसम्ममा नै यही गति कायम रहनुपर्छ ।

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य नै राखेको छ । यसअघि २०२० मा ‘भिजिट नेपाल’ नै घोषणा गरेर २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले तय गरेको थियो । तर सो लक्ष्य कोरोना महामारीका कारण चकनाचुर बनेको थियो । जुन, लक्ष्यलाई पछ्याउँदै सरकारले अब भने १६ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य तय गरेको छ ।

अर्थतन्त्रको आधार बन्दै पर्यटन

पछिल्ला अर्थमन्त्रीहरू नेपालको मुख्य प्राथमिकताको क्षेत्रमा पर्यटनलाई समेट्न थालेका छन् । निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा चार व्यवसायीक क्षेत्रले उच्च सम्भावना बोकेको भन्दै भाषण गर्थे । उनका अनुसार पर्यटन, सूचना प्रविधि, जलविद्युत र कृषि क्षेत्र नै नेपालमा सम्भावनायुक्त क्षेत्र हुन् ।

सोही पदचाप पछ्याउँदै वर्तमान अर्थमन्त्री वर्षमान पुनले समेत नेपालमा पर्यटन उच्च सम्भावना बोकेको क्षेत्रकारुपमा पहिचान गरेका छन् । नेपालमा विदेशी पर्यटकलाई चाहिने पूर्वाधार समेत धमाधम बन्दै गइरहेका छन् । नेपालमा हिल्टन, शेराटन, हायात, मेरियट, रमाडाजस्ता अन्तर्राष्ट्रिय चेन होटेल निर्माण भइसकेका छन् ।

नेपालमा ११ हजारभन्दा बढी कोठा निर्माण भइसकेको तथ्याङ्क छ । नेपालमा सञ्चालनमा रहेका र निर्माणाधीन अवस्थामा रहेका १८० भन्दा बढी तारे होटेलसहित होटेलमा यी कोठा उपलब्ध छन् । यी होटेलमा हजारौँको सङ्ख्यामा रोजगारी सृजना भइरहेको छ । 

व्यवसायीहरूका अनुसार नेपालमा प्रतिवर्ष ३० लाख हाराहारी विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार निर्माण भइसक्यो । यस्तै पछिल्लो समय नेपालको अर्थतन्त्रलाई नै डोर्‍याउने बिन्दुमा पर्यटन क्षेत्र पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालू वर्षमा हुने आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान उच्च हुनेछ ।

यस्तै नेपाल राष्ट्र बैंकमा थुप्रिएको विदेशी मुद्रामा समेत पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान छ । केन्द्रीय बैंकमा चालू वर्षको ९ महिनाको अवधिमा १९ खर्ब ११ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित भएको छ । यसले नेपालको एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप