बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैतडीका सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही

सोमबार, ०३ असार २०८१, २० : ३३
सोमबार, ०३ असार २०८१

बैतडी । बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बैतडीले यो अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगसँगै अगाडि बढाइएको बताए । उनले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिए । उनीहरूबाट जनही रु एक सय जरिवानासमेत गरिएको उनले बताए । 

गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि बढाइएको थियो । शुभारम्भमा सचेतनाका लागि प्रचारप्रसार गरी फागुन ११ गतेबाट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । 

“लागुऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ गरेर सुरुमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाएका थियौँ”, प्रहरी प्रवक्ता केसीले भने,“सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात् पनि अटेरी गर्नेलाई कारबाही गरिरहेका छौँ । यो अभियान प्रभावकारी बन्दै गएको छ ।”

सुरुमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिकस्थलमा खुलारूपमा गर्ने धुम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप