मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

गणेशमानलाई ‘स्पष्टीकरण’ सोध्दा एमाले गण्डकीमा तरंग

बिहीबार, ०६ असार २०८१, १५ : ३८
बिहीबार, ०६ असार २०८१

पोखरा । चरम गुटमा धकेलिएको नेकपा एमाले गण्डकीको राजनीतिमा पछिल्लो एक घटनाले तरंग मच्चिएको छ । एमाले गण्डकी संसदीय दलले सांसद गणेशमान गुरुङलाई स्पष्टीकरण सोधेको प्रशंगले पार्टीभित्र गुटगत आरोप प्रत्यारोप हुन थालेको छ ।

गण्डकी प्रदेशमा संसदीय दलदेखि पार्टीका आन्तरिक चुनावहरूमा समेत केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (पीएस)  र स्थायी कमिटी सदस्य खगराज अधिकारीबिच तीव्र प्रतिस्पर्धा छ ।

प्रदेशदेखि जिल्ला र पालिका हुँदै वडा तहसम्म पनि अहिले गुटगत प्यानलमा प्रतिस्पर्धा भइरहेको छ ।

कास्की एमालेको अध्यक्षमा पराजित भएका माधव बास्तोलाले अधिकारी पक्षले फरक विचार राख्ने व्यक्तिहरूलाई तर्साउने र थर्काउने काम गरिरहेको आरोप लगाएका छन् ।

‘खगराज कमरेडले अधिवेशन केन्द्रित गरेर भीम रावल बनाउँछु भन्ने, श्वास फेर्न नदिन कारबाही गर्ने कुरा आइरहेको छ । ह्विप लगाउन पनि पद्धति हुन्छ, एजेण्डा चाहिन्छ । जतिबेला मन लाग्छ, त्यतिबेला ह्विप लगाउने हो र ?,’ उनले भने, ‘गणेशमान माननीय बैठकमै उपस्थित हुनुहुन्छ, जिम्मेवारी अनुसार संसदमा बोलेर निस्किनुभएको छ । अनि स्पष्टीकरण सोध्ने कुरा कति जायज हो ?’

अधिकारी पक्ष संगठन कब्जा गर्ने हिसाबले चलेको उनको आरोप छ ।

‘यसरी हुँदैन, सच्चिनुस् भनेका छौँ । सच्चिनुभएन भने लाइन संघर्ष चलाउने कुरामा हामी स्वतन्त्र छौँ,’ उनले अघि थपे, ‘केन्द्रको नेता वडा-वडा र टोलमै पुगेर बैठक बोलाउने, सामान्य कार्यकर्ताहरूलाई भेला पारेर नेताका विरुद्धमा बोलिएको छ । कार्यकर्तालाई तर्साउने र थर्काउने काम भइरहेका छन् ।’

उनले गलत कदम चालेर तर्साउने काम नरोकिए प्रतिवाद गर्नेसम्मका चेतावनी दिएका छन् । 

के हाे पछिल्लो घटना ?

जेठ ३२ गते सांसद गुरुङ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेर प्रदेश संसदबाट बाहिरिए । उक्त दिन सरकारले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दै थियो । संसद् बैठकको कार्यसूची पहिलै सार्वजनिक भैसकेको थियो । परमादेशपछि गण्डकीमा एमाले र माओवादी प्रतिपक्षमा छन् भने कांग्रेसले बाँकी सांसद लिएर सरकार चलाइरहेको छ ।

ganesh gurung

सामान्यतः नीति तथा कार्यक्रममा सधैँ सबै सांसद उपस्थित हुन्छन् । प्रतिपक्षीले पास गर्न ‘हुन्न’ भनेर हात ठड्याउँछन् भने सत्तापक्षले ‘हुन्छ’ भनेर समर्थन गर्छन् । सभामुखले जताबाट बढी चर्को आवाज सुन्छन्, उतै बहुमत पुगेको घोषणा गर्छन् । त्यसबाहेक नीति तथा कार्यक्रम र बजेट जस्ता महत्त्वपूर्ण समयमा सबै पार्टीले आफ्ना सांसदलाई पक्ष वा प्रतिपक्षमा उभिन ह्विप जारी पनि गर्छन् ।

त्यस दिन एमालेका प्रमुख सचेतकले पनि अरूले जस्तै ह्विप जारी गरेका थिए । तर उक्त ह्विप संसद् सुरु भइसकेपछि जारी गरिएको र आफू संसदमा भएकोले थाहा नपाएको तर्क गुरुङको छ ।

‘अरू बेला बिहानै ह्विप जारी गरेको सूचना आउँछ । त्यो दिन संसद् सुरु भइसकेपछि आएको रहेछ,’ उनले भने, ‘मैले नियतवश संसद् छोडेको होइन । ह्विप नदेखेर अरू कामले गर्दा बाहिरिएको हो ।’

उनका अनुसार दिउँसो १ बजेर १ मिनेटमा ह्विप जारी गरेको म्यासेज उनको मोबाइलमा पुगेको थियो । उनी संसदबाट बाहिरिएको दिन एमालेको कास्की अन्नपूर्ण गाउँपालिकाको निर्वाचन थियो ।

‘उहाँ निर्वाचनमा गएर नतिजा तलमाथि होला भन्ने लागेर नै अन्तिम अवस्थामा ह्विप पठाइएको हो,’ उनी निकटका अर्का नेताले भने, ‘यो विल्कुल प्रतिशोध हो । आफ्नो गुटले हार्न लागेपछि अत्तालिएको अवस्था हो ।’

स्पष्टीकरण नत्थी कि इगो ?

त्यसो त एमाले स्रोतका अनुसार सांसद गुरुङले पछिल्ला केही बैठकहरूमा अनुपस्थित हुने लगायत फरक गतिविधि गरेका थिए, जसले अरू सांसदलाई उनीमाथि शंका गर्न बाध्य बनायो । त्यसपछि प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले उनलाई स्पष्टीकरण सोध्न पत्र लेखे ।

‘उहाँका गतिविधि केही बैठकहरूमा अलि फरक थियो । नीति तथा कार्यक्रममा पनि उहाँ बोलेर निस्किएपछि नियतवश नै गरिएको होला भनेर स्पष्टीकरण सोधिएको हो,’ एमालेका एक सांसदले भने ।

एमाले सचेतक देवका पहारी चाहिँ गुरुङको अनुपस्थितिका कारण मात्रै स्पष्टीकरण पत्र लेखिएको बताउँछिन् ।

devika pahari-uml-gandaki

‘विना जानकारी अनुपस्थित भएका कारणले मात्रै स्पष्टीकरण सोधिएको हो । तर बाहिर जुन चर्चा भएको छ, यो तहमा जानुपर्ने घटना होइन,’ उनले भनिन्, ‘पार्टीको दलको कुरा हो । दलका सदस्यलाई सोध्ने कुरा स्वभाविक नै हो । बाहिर ल्याएर प्रतिवाद गर्छु भन्न पनि आवश्यक छैन ।’

गुरुङले सोमबार नै स्पष्टीकरण दिइसकेका छन् ।

‘मैले थाहा नपाएकै कारण बाहिर निस्किएको जानकारी सहित पत्र पठाएको छु । त्यसपछि कुनै प्रतिक्रिया आएको छैन,’ उनले रातोपाटीसँग भने, ‘मैले अघिल्ला बैठकहरूमा पनि हाम्रा नेताहरुलाई केही कुराहरु सुझाव दिन्थेँ । आफूलाई लागेको कुरामा तर्क गर्थेँ । तर बुझाई गलत भइरहेको रहेछ ।’

सांसद गुरुङ पीएस निकट हुन् भने दलका नेता अधिकारी आफैँ छन् । संसदमै भएको व्यक्तिलाई मौखिक जानकारी नगराएको र सीधै स्पष्टीकरण पत्र पठाउँदा आफूमाथि अपमान व्यवहार भएको गुरुङको तर्क छ ।

‘म प्रमुख सचेतकसँगै थिएँ, सधैँ उहाँकै पछाडि मेरो सिट छ । जानकारी नपाएपछि स्पष्टीकरण सोध्न मिल्छ ? प्रत्येक घटनामा कारण हुन्छ । यो घटनामा पनि केही कारण पक्का छ,’ उनले भने, ‘संसदीय दल छाता हो सबैलाई समान व्यवहार गर्नुपर्छ, सबैलाई ढाक्नुपर्छ ।’

यो घटनाले संसदीय दलको नेता फेरिने चर्चा पनि भएको छ । तर यस्तो घटना भने नहुने उनले सुनाए ।

‘बाघ कराएको, बाख्रा हराएको जस्तो भयो,’ उनले थपे ।

एमालेका प्रदेशस्तरीय एक नेताले ह्विप जारी गर्ने समय नमिलेको बताए ।

‘सँगै बस्दा बोलचाल नहुने र निस्केपछि स्पष्टीकरण सोध्ने कल्चर गलत हो । ह्विप जारी गर्न पनि समय चाहिन्छ,’ उनले भने, ‘अन्त कार्यक्रम हुनसक्छ । ह्विप कम्तीमा अघिल्लो दिन जारी गर्नुपर्छ ।’

यद्यपि स्पष्टीकरणबारे औपचारिक जानकारी पार्टीमा जानकारी नभएको उनले बताए ।

प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले स्पष्टीकरणमा अन्य विषय नजोडिएको भन्दै सांसद गुरुङको अनुपस्थितिबारे जानकारी लिन मात्रै खोजिएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप