प्रधानमन्त्री प्रचण्ड ‘जादुयी’ नम्बरले नै सत्तामा टिकेका हुन् ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रतिनिधि सभामा माओवादी केन्द्रले प्राप्त गरेको सिट सङ्ख्या (३२ अङ्क) जादुमयी नम्बर भएकाले सरकारबाट हटाउन सजिलो नभएको दाबी गरे । तरिका मिले पाँचै वर्ष सरकारमा बस्ने उनले बताए ।
माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौँमा सम्बोधनका क्रममा पनि उनले ढुक्क भएर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।
‘मैले जे देखेको छु, सबै परिस्थिति र तरिका मिल्यो भने पूरै अवधि सरकारमा बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन’, नेता तथा कार्यकर्तालाई आश्वस्त पार्दै प्रचण्डले भनेका थिए, ‘हामीसँग जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसकारण थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’
दोस्रो ठुलो दल एमालेको समर्थनमा २०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड डेढ वर्षदेखि निरन्तर सत्तामा छन् । यस अवधिमा कहिले कांग्रेस, कहिले एमालेसँग मिलेर प्रधानमन्त्रीको कुर्सी जोगाउन सफल भएका उनी आफैँ सुरुमा यति लामो समय जान्छ भन्नेमा विश्वस्त थिएनन् ।
प्रधानमन्त्रीले भनेको कुरा ठिकै मान्नुपर्छ । उहाँले केही आधारमा टेकेर नै भन्नुभएको होला । ती आधारहरू खोतल्न मिल्दैन ।
यसअघि २०६४ मा २२० सिटसहित सबैभन्दा ठुलो दलको हैसियतले सरकारको नेतृत्व गरेका उनी नौ महिनाभन्दा बढी टिकेका थिएनन् । दोस्रो पटक ०७४ मा कांग्रेसको सहयोगमा प्रधानमन्त्री भएका थिए । सो कार्यकाल पनि नौ महिनाभन्दा पर गएन । पहिलाको नजिरले यो कार्यकाल ६ महिना पर जाला भन्ने कसैले पनि सोचेका थिएनन् । तर आन्दोलन, मुद्दा, सुशासन र सामाजिक न्यायको पक्षमा सरकारले चालेको कदमले सफल भएको प्रचण्डको तर्क थियो ।
यद्यपि प्रचण्डको तर्कलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । एकपक्ष खासगरी माओवादी निकट शुभेच्छुक तथा शुभचिन्तकहरू उनको तर्कसँग सहमत छन् । भ्रष्टाचारविरुद्ध सरकारले खेलेको भूमिका, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको अडानका कारण सरकार अझ बलियो भएको उनीहरूको दाबी छ । तथापि एमालेलाई पूरै विश्वास गरेर पूरा कार्यकाल सरकार टिक्छ भनेर हौसिन आवश्यक नभएको माओवादीका उपमहासचिव मात्रिका यादव बताउँछन् । तर प्रधानमन्त्रीले बोलेका आधार सबै खुला गर्न नमिल्ने उनको तर्क छ ।
‘प्रधानमन्त्रीले भनेको कुरा ठिकै मान्नुपर्छ । उहाँले केही आधारमा टेकेर नै भन्नुभएको होला । ती आधारहरू खोतल्न मिल्दैन । कतिपय आधार गोप्य हुन्छन्’, उनले भने, ‘उहाँले समग्र परिस्थिति हेरिराख्नु हुन्छ । हामीले पार्ट पार्टमा हेर्छौँ । त्रिशङ्कु संसद्को अङ्कगणितले सजिलो भन्नु कि अप्ठ्यारो भन्नु ? सजिलोसँग अप्ठ्यारो पनि हुन्छ, सजिलो पनि हुन्छ ।’
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस करिब एक वर्ष सरकारमा रहेर अहिले प्रमुख प्रतिपक्षमा पुगेको छ । २०७९ साल मङ्सिरमा भएको निर्वाचनमा कांग्रेसले २७५ सदस्यीय प्रतिनिधि सभामध्ये ८८ सिट जितेको थियो । संसद्मा ७८ सिट रहेको एमाले दोस्रोपटक प्रचण्ड सरकारमा सहभागी भएको छ । यसअघि तीन महिना नपुग्दै फागुन १६ गते सरकारबाट बाहिरिएको थियो ।
- कांग्रेस र एमालेबिच प्रतिस्पर्धाले सरकार टिक्यो ः डम्बर खतिवडा
कांग्रेस र एमालेजस्ता पुराना संसदीय खेलाडी रहेका दलहरूलाई पन्छाएर संसद्मा सानो आकारमा खुम्चिएको दलले डेढ वर्षसम्म सरकारको नेतृत्वमा निरन्तरता पाउनुलाई केहीले स्वाभाविक मानेका छन् ।
नेपालको राजनीतिमा यस्तो पहिलो पटक भएको पनि होइन । ०५१ पछिको राप्रपालाई सम्झिँदा हुन्छ ।
राजनीतिक विश्लेषक डम्बर खतिवडाले प्रचण्डलाई ०५१ सालपछिको राप्रपाका नेता सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दसँग तुलना गरेका छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति पुरानै संसदीय विकृतिको निरन्तरता बाहेक केही नभएको उनले बताए ।
तेस्रो दलले पटकपटक सत्ता नेतृत्वको अवसर पाउन उत्तर वा दक्षिणको प्रभाव नभई कांग्रेस र एमालेबिचको प्रतिस्पर्धा नै मुख्य कारण भएको खतिवडाले जिकिर गरे ।
‘प्रचण्डजीको सरकारले निरन्तरता पाउनु उत्तर–दक्षिणको आशीर्वाद केही होइन । खासमा कांग्रेस–एमालेको प्रतिस्पर्धामा तेस्रो दललाई हुने लाभ हो,’ उनले भने, ‘नेपालको राजनीतिमा यस्तो पहिलो पटक भएको पनि होइन । ०५१ पछिको राप्रपालाई सम्झिँदा हुन्छ ।’
सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले कांग्रेस–एमालेसँग मिलेर पालैपालो सरकारको नेतृत्व गरेको उदाहरणसमेत खतिवडाले दिए । उनले भने, ‘पछिल्लो चरणको कुरा गर्दा ०६४ सालमा तेस्रो दल रहेको एमालेका माधव नेपाल र झलनाथ खनालले यसैगरी नै प्रधानमन्त्री खाएका थिए । त्यसैले प्रचण्डसँग कुनै जादुमयी अङ्क केही छैन । पहिलो र दोस्रो दलको प्रतिस्पर्धामा तेस्रो दलले लाभ प्राप्त गर्नु ०५१ र ०६४ को पुनरावृत्ति ०८१ मा जोडिएको हो । यसमा धेरै रहस्य खोज्नु जरुरी छैन ।’
कांग्रेस र एमालेले चाहेमा प्रचण्डलाई जुनसुकै बेला हटाइदिन सक्ने खतिवडाले बताए । गएको फागुन २१ गते एमालेसहितको नयाँ सत्ता समीकरण बनेपछि ३० गते प्रधानमन्त्रीले तेस्रोपटक विश्वासको मत लिने बेलामा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको गठबन्धन चीन वा भारतले नभई आफैँले बनाएको दाबी गरेका थिए । कुनै सत्ता स्वार्थ नभई दीर्घकालीन लक्ष्यका साथ वर्तमान सत्ता समीकरण बनेको उनको भनाइ थियो ।
असार ६ गते प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको एमाले, माओवादी, रास्वपासहित शीर्ष नेताहरूको बैठकले वर्तमान गठबन्धनलाई चुनावसम्म लैजाने निर्णय गरेको पनि ओलीले बताएका थिए । यद्यपि उनको जवाफ असन्तुष्टिको भावमा आएको कतिपयको बुझाइ छ ।
‘यो सरकारलाई चुनावसम्म सुदृढ ढङ्गले लाने । चुनावपछि पनि यसैलाई कायम राख्ने भन्ने भयो’, त्यतिबेला ओलीले ठाडो प्रतिक्रिया दिएका थिए ।
- ओलीका कारण प्रचण्डले अवसर पाए ः शंकर तिवारी
अर्का विश्लेषक शंकर तिवारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संसद्लाई लावारिस बनाएका ओलीकै कारण प्रचण्डले अवसर पाइरहेको दाबी गरे ।
‘निर्वाचनपछि पहिलो दलको हैसियतले सरकार बनाउन खोज्दै गर्दा तेस्रो दललाई प्रधानमन्त्री बनाउने ओली हुन् । प्रचण्डको आत्मविश्वास बढ्नुको कुनै अर्थ छैन । कहिले आत्मविश्वास बढाउनुहुन्छ, कहिले गुमाउनु हुन्छ । प्रचण्ड सरकार लम्बिनुको कारण ओली नै हो’, उनले भने, ‘प्रचण्डको कदम कदममा ओलीले ह्युमिलेसन गराएको हो । ओलीले प्रचण्ड र रविको काँधमा बन्दुक राखेर संसद्, प्रजातान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरिरहेका छन् ।’
तेस्रो पार्टीको नेतृत्वमा सरकार लामो समयसम्म टिक्नुमा घरेलु कारण मुख्य र बाहिरी कारण सहायक भएको तिवारीको बुझाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल वा प्रचण्डको बारेमा सोच्ने फुर्सदसमेत नभएको उनले बताए ।
- किन मिल्दैनन् ठुला दल ?
संसदीय लोकतन्त्रको सिद्धान्त अनुसार चुनावअघि जुन गठबन्धन छ, बहुमत ल्याएमा उसैको नेतृत्वमा सरकार बनाउने अभ्यास संसारभर रहेको जानकारहरू बताउँछन् । तर नेपालको हकमा संसदीय मूल्य, मान्यता, संविधान, विधि र प्रक्रियालाई राजनीतिक दलहरूले मिच्दै आएका छन् ।
०४६ मा बहुदल स्थापना भएपछि २०४८ सालको निर्वाचनमा कांग्रेसले एकमना सरकार बनायो । कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता दिग्गज नेता हुँदाहुँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल भए । ०५१ सालमा सरकारले ल्याएको नीति तथा कार्यक्रम कांग्रेसकै असन्तुष्ट ३६ सांसदले फेल गराइदिएपछि प्रधानमन्त्री कोइरालाले संसद् विघटन गरी मध्यावधि घोषणा गरेका थिए ।
सोही बिन्दुबाट संसदीय राजनीति विकृति र दुष्चक्रमा फसेको विश्लेषकहरूको भनाइ छ । त्यही संसदीय विकृतिको फाइदा उठाउँदै प्रचण्डले १० वर्ष सशस्त्र विद्रोह गरेका थिए । गणतन्त्र स्थापनापछि २०६४ मा भएको संविधान सभा निर्वाचनपछि पनि संसदीय विकृतिले निरन्तरता पायो । तेस्रो दलको फाइदा उठाउँदै एमालेका माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बन्न सफल भए । २०७२ सालमा संविधान जारी भएपछि तेस्रो दलको फाइदा प्रचण्डले बारम्बार उठाइरहेका छन् ।
०४६ यता ३५ वर्ष बितिसक्दा समेत सत्ता राजनीतिमा कुनै फरकपन नआएको उनीहरू बताउँछन् । अहिले कांग्रेस र एमाले नमिल्नु पनि ०५१ कै पुनरावृत्ति भएको खतिवडाको बुझाइ छ ।
विकृत संसदीय लोकतन्त्रविरुद्ध विद्रोह गरेको माओवादी नै अहिले संसद्को माहिर खेलाडी भएर निस्कनु तथा पछिल्लो समय ‘नो नट अगेन’को नारा दिएर आएको नयाँ दल रास्वपा पनि पुराना दलजस्तै भागबण्डामा सामेल हुनु दुर्भाग्य भएको उनले टिप्पणी गरे ।
‘कांग्रेस गठबन्धनको पहिलो दल हो । उसको नेतृत्वमा गठबन्धन सरकार बनाएर एमाले प्रतिपक्षमा बसेको भए त्यो सबैभन्दा नेचुरल हुन्थ्यो । तर चुनावपछि यहाँ पाँच दलीय गठबन्धन पनि कायम रहेन । संसदीय लोकतन्त्रमा कांग्रेस र एमाले मिल्ने भनेको पनि अल्टर हो’, खतिवडाले भने, ‘पहिलो र दोस्रो दल नै मिल्ने हो भने प्रतिपक्ष कमजोर हुन्छ । प्रतिपक्ष कमजोर हुनु लोकतन्त्रमा त्यति राम्रो मानिँदैन ।’ राष्ट्रमा ठुलो विपद् भएको वा युद्ध भएको बेला ठुला दल मिलेर सहमतिको सरकार बनाउने अभ्यास रहे पनि सामान्य अवस्थामा दुई ठुला दल मिल्न उचित नमानिने उनको भनाइ छ ।
भारतमा विगत १० वर्षमा कांग्रेस आइले १० प्रतिशत सिट नल्याउँदा प्रतिपक्षबिहीन भएको अवस्थामा समेत भाजपासँग मिल्न नगएको उदाहरणसमेत उनले दिए । तथापि तेस्रो दलको सरकार बन्नु, निर्वाचनको बेला एउटा दलसँग गठबन्धन गर्ने र निर्वाचनपछि अर्को दलसँग गठबन्धन गर्नु र बारम्बार सरकार फेरिनु पनि उचित नभएको खतिवडाको तर्क छ ।
विकृत संसदीय लोकतन्त्रविरुद्ध विद्रोह गरेको माओवादी नै अहिले संसद्को माहिर खेलाडी भएर निस्कनु तथा पछिल्लो समय ‘नो नट अगेन’को नारा दिएर आएको नयाँ दल रास्वपा पनि पुराना दलजस्तै भागबण्डामा सामेल हुनु दुर्भाग्य भएको उनले टिप्पणी गरे ।
साथै प्रधानमन्त्री प्रचण्डले तेस्रो दल भएर पनि सत्तामा टिकिराख्नुलाई जादुमयी भन्नु वा सफल भन्नु इतिहासमा मेटिनुबाहेक केही नभएको खतिवडाको भनाइ छ । उनले प्रधानमन्त्री नभए पनि भारतका महात्मा गान्धी, नेपालका मदन भण्डारी, गणेशमान सिंह लगायतले इतिहासमा सदा स्मरणीय रहने गरी काम गरेको स्मरण गराए ।
‘प्रचण्ड राप्रपाका थापा र चन्द जस्तै घुमाइफिराइ प्रधानमन्त्री खाने मान्छे भएको कारण उनको व्यक्तित्वमा र इतिहासमा पनि कुनै ओज कायम हुनेवाला छैन,’ खतिवडाले भने, ‘हिजो विद्रोही नेता हुँदा त्यो ओज र इज्जत थियो । अब त्यो इज्जत पनि रहेन । मर्ने बेलासम्म बचेखुचेको इज्जत र पार्टी पनि रहन्छ कि रहँदैन ? यी सबै सिध्याएर प्रधानमन्त्रीमा टिकिराखेँ भन्दा के मज्जा लागेको होला ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल