मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शशांकको ‘दोहोरो चरित्र’ : ओल्लो घरको नरे पल्लो घरमा सरे !

बिहीबार, २० वैशाख २०७५, १० : ३६
बिहीबार, २० वैशाख २०७५


नेपाली काँग्रेसमा कोइराला परिवार र वर्तमान सभापति शेरबहादुर देउवाबीच घनिष्टताको सम्बन्ध रहेन । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग मनमुटाव भएपछि देउवाले २०५९ मा नेपाली काँग्रेस विभाजन गरेका थिए । 

कोइराला परिवारले देउवालाई दूर राख्न चाहेको विगतले देखाउँछ । तर वर्तमानमा त्यस्तो रहेन । १३औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट निर्वाचित भएका महामन्त्रीको शशांक कोइरालाका पछिल्ला गतिविधि ‘शङ्कास्पद’ रहेको पौडेल पक्षको बुझाइ छ । निर्वाचन पराजयपछि देउवाप्रति आक्रामक हुँदै गएको पौडेल–सिटौला पक्षबाट कोइराला नै टाढा देखिएका छन् । 

सन्दर्भ–१,

प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसका अधिकांश हस्तीहरूले पराजय भोगेका थिए । उच्च तहका नेतामा सभापति देउवा, कोइराला र प्रकाशमान सिंहले मात्रै निर्वाचनमा जित निकाले । कोइरालाको नवलपरासी १ को जित ह्याट्रिक थियो । 

निर्वाचन पराजयपछि संसदीय दलको निर्वाचनका क्रममा अस्वाभाविक रूपमा कोइराला तटस्थ देखिए । सर्वसहमति भएको अवस्थामा उम्मेदवार बन्ने बताएका कोइरालाले पौडेल पक्षका उम्मेदवार प्रकाशमान सिंहलाई मत नै दिएनन् । फागुन २१ मा भएको निर्वाचनमा कोइरालाको निष्क्रियताले देउवाको पक्षमा मत बढेको बताइएको थियो । 

प्रतिनिधि सभामा बहुमत सङ्ख्या पार्टी सभापतिको पक्षमा छ । महामन्त्री कोइराला सिंहको पक्षमा खुलेर लागेको भए मतान्तर घट्ने आँकलन गरिएको थियो । संसदीय दलको निर्वाचनमा देउवाले ४४ मत ल्याउँदा प्रतिस्पर्धी सिंहले १९ मतमा खुम्चिएका थिए । 

सन्दर्भ–२, 
निर्वाचन समीक्षाका डाकिएको केन्द्रीय समितिको गत आइतबार सकिएको छ । वैठक समापन भएसँगै देखिएको महामन्त्रीको ‘दोहोरो चरित्र’ले काँग्रेस नेताहरूमा उनको भूमिकाका विषयमा चर्चा हुने गरेको छ । वैठक सकिएलगत्तै बोलाइएको पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला प्रवक्तासँगै उपस्थित भएका थिए । कोइरालाले निर्णय प्रस्ताव एकमतले पारित भएको बताए । पदाधिकारी चयन पनि सर्वसहमतिबाट हुने उनको जिकिर थियो । पदाधिकारी चयनमा अर्को पक्षको विरोध नहुने उनले आश्वस्त बनाएका थिए । 

प्रवक्ताले बोलाएको पत्रकार सम्मेलन सकिनासाथ देउवाइतर समूहले बोलाएको पत्रकार सम्मेलनमा पनि महामन्त्री उपस्थित भएका थिए । पौडेलले आफ्ना कुरा राखिसकेपछि निस्कन लागेका कोइरालालाई एक सदस्यले ‘दाइ तपाईं बस्नुपर्छ’ भनेपछि उनी रोकिएका थिए । 

सन्दर्भ–३,

आइतबार सकिएको वैठकका निर्णयहरूलाई पौडेल/सिटौला पक्षका नेताहरूले आपत्ति जनाएका थिए । सोमबारका लागि बोलाइएको निर्वाचित केन्द्रीय सदस्यहरूको वैठकप्रति पौडेलको थप आक्रोश थियो । पदाधिकारी चयनका लागि बोलाइएको वैठक पौडेल/सिटौला पक्षको विरोधले बस्न सकेन ।  

बस्दै नबसी स्थगित गरिएको वैठकका लागि सोमबार केन्द्रीय कार्यालय पुगेका कोइरालाले वैठकको प्रस्ताव सर्वसहमतिबाट ल्याइएको बताए । पौडेल पक्षप्रति सदासयता राख्ने कोइरालाले वरिष्ठ नेता पौडेललाई उत्तेचित नहुन सुझाव दिए । पौडेल पक्षकै धारमा चिनिँदै आएका उनले पौडेललाई आवेगमा प्रतिक्रिया नदिन आग्रह गरे । विधान विपरीत पदाधिकारी चयन गर्न नदिने रणनीति बनाएको पौडेल÷सिटौला पक्षलाई सहमतिमा ल्याउन दाबी गरे । सोमबार बसेको शीर्ष नेताको वैठकमा कोइरालाले नै सहमतिमा ल्याउने बताउँदै सभापतिलाई कन्भिन्स गराएका थिए ।  पदाधिकारी प्रस्तावलाई रोक्न खोजेका पौडेललाई सहमतिमा आफूले ल्याउने दाबीसमेत गरे । 

१३औं महाधिवेशनबाट पौडेल पक्षबाट महामन्त्रीमा निर्वाचित भएका कोइराला यतिबेला किन मध्यधारमा देखिएका होलान ? नेपाली काँग्रेसको राजनीति नियालिरहेका केही विश्लेषक तथा लेखकहरूको धारणा

ओल्लो घरको नरे पल्लो घरमा सरे, राजनीतिमा भइरहन्छ : पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक तथा लेखक 

महामन्त्री शशांक कोइरालाको कुरा गर्नुपर्दा मेरो स्पष्ट धारणा के छ भने नेपाली काँग्रेसमा तीनवटा घरानाले डेरा जमाइरहेका छन् । कोइराला परिवार विराटनगरबाट, काठमाडौंबाट गणेशमान सिंहको परिवार र मधेसबाट महेन्द्रनारायण निधीको परिवारले काँग्रेसमा नेतृत्व गर्दै आएको छ । यी तिनै परिवारका सन्तानहरू राजनीतिमा यतिबेला सक्रिय छन् । 

कोइराला परिवारवाट शशांक, शेखर र सुजाता शीर्ष तहमा छन् । त्यस्तै निधी र सिंहको परिवारबाट पनि केन्द्रीय नेताहरू सक्रिय छन् । कोइराला परिवारबाट राजनीतिमा लागेर योगदान गरेका अलि बढी डा. शेखरको छ । सुजाता ०४६ पछि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् भने डा. शशांक ०६४ पछि अप्रत्यासित रूपमा राजनीतिमा आएका व्यक्ति हुन् । उनको त्यसभन्दा अघि राजनीतिमा कुनै योगदान नै छैन । 

शशांकले राजनीतिमा सक्रिय भएर लागेको अवस्थामा काँग्रेसलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर दोहोरो भूमिका देखाएका होलान् । यसलाई मैले सायद भन्छु । विभाजित भएमा भविष्य छैन भन्ने सोच होला । सकरात्मक रूपमा भन्ने हो भने  सभापति, महामन्त्री र अन्य सबै नेता मिल्नुपर्छ भन्ने धारणा विकास गरेर हो कि ? यसैलाई नकरात्मक रूपमा भन्ने हो भने भोलिका दिनमा जहाँ अवसर छ, त्यसकैपछि लागेको पनि हुन सक्छ । सभापतिसँग रहँदा आफू सुरक्षित हुन्छु भनेर पनि हुनसक्छ । भोलिको नेतृत्व तयार गर्दै गरेको बुझ्न पनि सकिन्छ । 

रामचन्द्र भोलिको नेतृत्वका लागि अघिसर्छन् नै । शेरबहादुरले भोलिको नेतृत्व लिने सम्भवना छैन । भोलिका लागि शेरबहादुरसँगको निकटता फलदायी हुन पनि सक्छ । 

१३औं महाधिवेशनमा पौडेल पक्षबाट विजयी भएका हुन् । एउटै पार्टीमा पक्ष विपक्षी भइरहन्छ भन्ने हुँदैन । कुनै समय खुमबहादुर खड्का देउवाका एकदम निकट रहेका थिए । पछि टाढिए । पार्टी फुटाउने बेलामा देउवालाई साथ दिएका दीपकुमार उपाध्याय, नारायण खड्का अर्को पक्षमा लागेको उदाहरण पनि छ । नेपालीमा एउटा उखान छ– ‘ओल्लो घरको नरे, पल्लो घरमा सरे ।’ पार्टीमा एकअर्कोसँग जोडिने कुरा त्यही उखान जस्तो हो । 

सक्रिय पदलाई निष्क्रिय बनाउनुभएको छ –देवराज चालिसे राजनीतिशास्त्रका प्राध्यापक

व्यक्तिबाट समस्याको समाधान खोज्ने प्रवृत्ति अप्राकृतिक समाधान खोज्ने पराधीन स्वभाव हो । काँग्रेसमा वर्तमानमा देखिएको समस्या कुनै गुट वा समूहबाट सम्भव छैन । धेरै व्यक्तिहरूको गुण मिलाएर पद्धति बन्ने हो । 

पद्धति अधीनस्थ व्यक्ति हुनुपर्छ । वर्तमान नेतृत्वमा देखिएका व्यक्तिहरूले आफ्नो भूमिकालाई गौण बनाउँदै पद्धतिलाई बलियो बनाउनुपर्ने हो । व्यक्ति केन्द्रित भएर गरिएका कार्यहरूले दलको हित गर्दैन । शशांक बलियो देखिने वा नदेखिने उहाँको कारणले होइन कि समूहको कारणले हो । कृत्रिम शक्तिको आधारमा प्राप्त गरेको शक्तिलाई क्षमताको मापदण्ड मान्न सकिन्न । 

महामन्त्री शालीन हुनुहुन्छ, मृदुभाषी हुनुहुन्छ । सर्वोच्च नेताको पुत्र पनि हो । इमानदारीपूर्वक भन्नुपर्दा पदीय जिम्मेवारी उहाँले निर्वाह गर्न सक्नुभएकै छैन । सक्रिय पदलाई निष्क्रिय सञ्चालन समस्याको समाधान होइन ।  

दुवै पक्षलाई समदुरीमा राखेर शक्ति प्राप्त गर्न खोजेका छन् – डा.राजेश गौतम,इतिहासविद् 

शशांक कोइरालाको भूमिका हालमा विचमा बसेर दुवैतर्फका नेताको साथ लिएर भोलिको नेतृत्व हात पार्ने देखिन्छ । कोइराला परिवारका तीन सदस्य बसेर अर्को पटकको नेतृत्व कोइराला परिवारमा ल्याउनुपर्छ भनी कुरा गरेका पनि हुन् । उनीहरूको घरेलु मिटिङमा बोलेकै हुन् । 

शशांकले अहिले त्यसै किसिमको भूमिका निर्वाह गरिराखेका छन् । त्यसकारण उनले रामचन्द्र वा शेरबहादुरलाई चिढ्याउने पक्षमा उनी छैनन् । दुवैबाट आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ भन्ने ध्याउन्नमा शशांक देखिन्छन् । काँग्रेसमा व्यक्तिभन्दा पनि विरासतको राजनीति हुँदै आएको छ । शशांक राजनीतिमा आउनुअघि कुनै भूमिका नै थिएन । बीपीको अनुहार हेरेर सबैले मत दिए, उनले जिते । 
भोलिका दिनमा सभापतिमा उठ्ने भए पनि उनले बाउलाई अघि राखेर मत माग्छन् । बाउको नाममा मत मागेर जित्न सक्लान् तर परिस्थिति हिजोको जस्तो छैन । वैचारिक रूपमा शशांकभन्दा शेखर धेरै माथि छन् । तर उनका लागि बलियो आधार दिने व्यक्ति देखिँदैन । शशांकको पछाडिको अनुहार हेर्नुपर्छ । 

शशांक राजनीतिक व्यक्ति नै होइनन् –पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक  

 जुन रूपमा काँग्रेसको अहिलेको अवस्था छ । त्यस अनुरूप शशांकको भूमिका देखिएकै छैन । क्षमता छैन वा रुचि छैन होला । शेरबहादुरलाई सहयोग गरेर भोलिको दिनलाई पर्खेर बसेका छन् । 

शशांक राजनीति गर्छु भनेर आइसकेपछि आम कार्यकर्ताको उनीप्रति आकाङ्क्षा हाई थियो । बीपीको छोरा हुन् भनेर महाधिवेशन प्रतिनिधिले भावनामा बगेर मत दिएर विजयी भएका हुन् । तार्किकता र सबलता भएर जितेकै होइनन् । एजेन्डा बोकेका होइनन्, कुनै प्रचार गरेका पनि होइनन् । उनी हार्दा बीपीमाथि अन्याय हुने सम्झेर प्रतिनिधिले मत दिएका हुन् । 

देउवाको पृथक धारबाट जितेका हुन् । तर वर्तमानमा देउवाको सहयोगी देखिएका छन् । शशांकलाई म राजनीति व्यक्ति मान्दिनँ । राजनीतिमा आइसकेर पनि उनले खेलेको भूमिका अराजनीतिक छ । अराजनीतिक व्यक्तिले काँग्रेसको महामन्त्रीको पद पाएका छन् । सभापति र महामन्त्री अहिले एउटै कित्तामा छन् । यो कित्ताले सिर्जनात्मक काम गर्दैन । काँग्रेसलाई क्षति नै पुर्याउँछ । साङ्गठनिक रूपमा दललाई बलियो बनाउने दायित्व महामन्त्रीको अझ बढेको थियो तर देउवाको असफलतासँगै टाँसिएर बसेका छन् । 

शशांक देउवाको प्रभावमा परेका छन् –गेजा शर्मा वाग्ले 

शशांकको वर्तमानको भूमिका भनेको दुवैतिरको विश्वास पूर्ण रूपमा जितिनसकेको हो । प्रकारान्तरमा देउवा निकट पुग्ने सङ्केत देखिन्छ । दुवैतिर सन्तुलन कायम गरी देउवापछिको नेतृत्वमा स्थापित हुने कोसिस पनि हुन सक्छ । 

१४औँ महाधिवेशनमा नेतृत्वमा आउने उद्देश्यले दुवै समूहलाई सन्तुलनमा राखेको जस्तो देखिन्छ । दुवैतिरको विश्वास जित्ने रणनीति अनुसरण गर्न खोजे पनि दुवैतिरको विश्वास गुमाएको देखिन्छ । वर्तमानमा शशांकले देउवा पक्षको विश्वास प्राप्त गर्न सकिराखेका छैनन् भने पौडेल पक्षबाट प्राप्त विश्वास दिनहुँ गुमाउँदै गएका छन् । 

विगतमा कोइराला परिवारसँग देउवाको दुस्मनी जस्तै थियो । शशांक महामन्त्रीमा आइसकेपछि कोइराला परिवारमा देउवा छिर्न सफल भएका छन् । निर्वाचनपछि देउवालाई चौतर्फी आक्रमण भएकाले पनि शशांकको साथ देउवालाई अहिले बढी छ । देउवाको राजनीतिक सुरक्षाका लागि पनि शशांकलाई विश्वासमा लिनुपर्ने बाध्यात्मक स्थिति छ । राजनीतिक ठोस दृष्टिकोण भएको नेता शशांक होइनन् । आफ्नै विचार दृष्टिकोणमा सञ्चालित नेता उनी होइनन् । शशांकको कुनै राजनीतिक दृष्टिकोण नभएकाले देउवाको प्रभाव परेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप