शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पशुपतिनाथ नजिकै दुई नयाँ तीर्थ :  शिवपुरी र त्रिगजुर

बुधबार, २६ असार २०८१, १२ : २९
बुधबार, २६ असार २०८१

पशुपतिनाथ हजारौँ वर्षदेखि योगी र सत्यका खोजीहरूका लागि प्रेरणाको स्रोत रहँदै आएको छ । यहाँको ऊर्जाबाट लाभान्वित सनातन जगतले यसलाई एक महत्त्वपूर्ण तीर्थ मान्यो र दर्शनको प्रचलन बसाल्यो । भनिन्छ हजारौँ वर्ष पहिले महादेवको लीला मार्फत यस तीर्थको जन्म भयो । पृथ्वीमा मानवमात्रलाई चेतनागत रूपमा माथि लैजान यस्ता आध्यात्मिक ऊर्जाक्षेत्रको आवश्यकता पर्ने महसुस भएरै उच्च चेतनाहरूले तीर्थहरूको निर्माण गर्दछन् । जसबाट हजारौँ वर्षसम्म मानव जातिले आफ्नो मूल उद्देश्य तर्फ उत्प्रेरित हुन र ब्रह्माण्डीय ऊर्जासँग एकाकार हुँदै अन्तर्यात्रामा सरालतपूर्वक अग्रसर हुने अवसर पाउँछन् ।

अन्य तीर्थहरू जस्तै पशुपतिनाथको ऊर्जाको भरपुर उपयोग गरेको समूह ध्यानी र तपस्विहरूको नै हो । ध्यानीहरूले यस्ता ऊर्जा क्षेत्रको महत्त्व बुझ्दछन् र साधनाको लागि उपयुक्त स्थल मान्दछन् । वर्तमान समयमा बौद्ध भिक्षुहरू विभिन्न ऊर्जा पीठहरूमा साधना गरिरहेको भेटिन्छन् । ओशो सन्यासीहरु पनि यस्तै उर्जाक्षेत्र र बुद्धक्षेत्रको वरिपरि ध्यान गरिरहेको भेट्न सकिन्छ । 

पशुपतिको श्लेश्मान्तक ध्रुबस्थली जङ्गलमा धेरै नाथपन्थी सन्तहरूको समाधिस्थ भएको पाइन्छ जो पशुपतिनाथको ऊर्जा समीप ध्यान तपस्या गर्दथे । ब्रह्मनाल नजिकै बागमती किनारमा बौद्ध भिक्षु नरोपा र तिलोपाको गुफा हुनुले पनि यस तीर्थको आकर्षण विभिन्न मार्गका साधकहरूमा थियो भन्ने पुष्टि गर्दछ ।  पशुपतिनाथले हर कोहीलाई स्वागत गरेको छ, आफ्नो र जगतको कल्याण गर्न चाहने ध्यानीहरूको यो अत्यन्त प्रिय स्थल हुने नै भयो । हामी ओशो सन्न्यासी पनि पशुपति दर्शन गर्न जाँदा केही समय ध्यानमा बसिहाल्छौ । मन्दिर प्रवेशद्वारको पेटीमा बसेरै भए पनि केही क्षण महादेवको दिव्य ऊर्जा ग्रहण गर्दछौँ।

पशुपति नजिकै दुई नयाँ आध्यात्मिक हिसाबले महत्त्वपूर्ण तीर्थहरू अस्तित्वमा आएका छन् : शिवपुरी बाबा आश्रम र त्रिगजुर शिवालय । शिवपुरी आश्रम शिवपुरी बाबाको समाधिस्थ हो भने त्रिगजुर शिवालय बालयोगी आदित्य ( योगी चैतन्य आदित्यनाथ ) को परिकल्पनाबाट निर्मित शक्तिशाली र अनौठो शैलीको शिवालय हो । यहाँ तीन गजुर छन्; अन्य मन्दिरमा एउटा मात्रै गजुर हुने गर्दछन् । संयोग नै मान्नुपर्छ कि यी दुवै नयाँ तीर्थहरूमा प्रतिस्थापित शिवलिङ्ग पशुपतिको जस्तै चतुर्मुखी छन् । पशुपति नजिकै ध्रुवस्थली जङ्गलमा शिवपुरी बाबाको शान्त आश्रम रहेको छ । त्यहाँ बाबाको समाधिस्थलाई ध्यानकक्षको रूपमा परिणत गरिएको छ । जङ्गलको एकान्तमा बाबाको दिव्य समाधिको ऊर्जा सँगै मौनमा बस्न र ध्यान गर्न धेरै मानिसहरू आउने गर्दछन् ।

शिवपुरी बाबाको वास्तविक नाम गोविन्दानन्द भारती हो । भारतको अमरकण्टक जङ्गलमा ५० वर्ष हुँदा उहाँलाई परमबोध भयो । त्यसपश्चात ५० वर्षसम्म उहाँले विश्व भ्रमण गर्नुभयो । त्यस क्रममा अल्बर्ट आइन्स्टाइन, महारानी भिक्टोरिया, लियो टोलस्टोय, म्याडम क्युरी जस्ता प्रख्यात व्यक्तिहरूसँग पनि उहाँको भेट भयो । १०० वर्षको उमेरमा आफ्नो यात्रा समाप्तिको क्रममा उहाँ शिवरात्रिको समयमा पशुपति दर्शन गर्न आउनु भएको थियो । त्यसपछि उहाँले स्विजरल्याण्डमा गएर बस्ने योजना बनाउनुभएको थियो । तर भगवान शिवले दर्शन दिँदै 'नेपालमै बस्नु नेपालको कल्याण हुनेछ' भनेर आदेश भएकोले उहाँ बाँकी जीवन नेपालमै बस्नुभयो । नेपालमा बाबाले अधिकांश समय नारायणथान देखि माथि बागमतीको उद्गम मानिने शिवपुरी डाँडामा बिताउनु भयो र अन्तिमका वर्षहरू भने ध्रुवस्थलीको जङ्गलमा बस्नुभयो, जहाँ अहिले उहाँको समाधि रहेको छ ।

बाबाले प्राय एकाङ्की जीवन बिताउनु भयो । उहाँका केही सीमित प्रेमीहरू थिए जसलाई उहाँ स्वधर्मको ज्ञान दिनुहुन्थ्यो जसमा सरल अनुशासित जीवन अपनाउँदै प्रभु स्मरण गर्ने शिक्षण रहेको छ । उहाँका बारे लेखिएका पुस्तकहरू 'राइट लाइफ' , 'राइट लिभिङ' , 'स्वधर्म' , 'लङ पिलग्रिमेज' आदि हुन्। ओशो भन्नुहुन्छ कि शिवपुरी बाबा परमात्माको बोध भएका एक दुर्लभ व्यक्तित्व हुनुहुन्थ्यो ।  सन् १९७४ मा पुना आश्रममा छँदा स्वामी आनन्द अरुणलाई ओशोले काठमाडौंमा एयरपोर्टको नजिकै शिवपुरी बाबाको समाधि रहेको र त्यहाँ ध्यान गर्न जान सल्लाह दिनुभएको थियो । ओशो त्यसपूर्व  नेपाल आउनु भएकै थिएन, ओशो सन् १९८६ मा मात्र नेपाल आउनु भएको हो ।  नेपाल नआई ओशोलाई कसरी यो स्थान थाहा भयो भन्ने पनि रहस्यमय छ । गुरुहरू आन्तरिक आध्यात्मिक आकाशमा समन्वय गर्दै कार्य गरिरहेका हुन्छन् भन्ने यो एक प्रमाण हुन सक्छ । स्वामी आनन्द अरुण नेपालमा ओशोको आध्यात्मिक कार्यमा शिवपुरी बाबाको पनि महत्त्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । स्वामी आनन्द अरुण लगायत हामी ओशो सन्यासीहरुलाई बाबाको समाधिस्थ एक प्रिय ध्यानस्थल हो ।

हामीलाई प्रिय लाग्ने अर्को ध्यानस्थल त्रिगजुर शिवालय पनि हो । यो पशुपति नजिकै गौरिनगरमा अवस्थित छ । ध्यानमा सहायक हुने हरेक ऊर्जापीठ हामीलाई प्रिय लाग्दछन् । यस्ता क्षेत्रमा ध्यानमा जान अत्यन्तै सरल हुने भएकोले हाम्रो आकर्षण यस्ता तीर्थहरूमा हुनेगरेको छ ।

विभिन्न सन्तहरूको कार्यशैली एकै प्रकृतिको नहुन सक्छ । शिवपुरी बाबा एकान्तमा रमाउनु भयो र कुनै तीर्थ निर्माण गर्नुभएन । परमात्मा बोध गर्नुभएका बाबाको समाधिस्थ स्वयं एक बुद्ध क्षेत्र (तीर्थ ) बनेर विकसित भएको छ । सक्रिय जीवन नभए पनि उहाँको कार्य एजोटेरिक (गुह्य) रहेको आभास हुन्छ भने योगी चैतन्य आदित्यनाथको कार्य भने एजाेटेरिक (गुह्य) र सदृश्य दुवै रहेको छ । शारीरिक असक्तताका बाबजुद उहाँ कठिन तपस्या गर्दै तीर्थहरू निर्माण गरिरहनुभएको छ । शुद्ध आध्यात्मिक ऊर्जाले भरिपूर्ण आश्चर्यजनक तीर्थहरू निर्माण गर्नसक्ने यी १४ वर्षीय बालयोगी सामु हामी सपाङ्ग साधकहरूको शिर विनम्रताले झुकेको छ । 

यस्ता योगीले गरेका कार्यको ठिकसँग मूल्याङ्कन गर्ने र उनको सानिध्यमा कस्तो ऊर्जा प्रवाहित छ भनेर प्रयोगात्मक आत्म-अनुसन्धान गरे हामी सबैलाई धेरै लाभ प्राप्त हुन्छ । आज असार २५ गते उहाँको महाज्ञान दिवस पनि हो । बुद्धत्वको समयमा विशाल ब्रह्माण्डीय ऊर्जा प्रवाहित हुने हुँदा कतिपय संवेदनशील शरीरहरूले त्यसलाई ग्रहण गर्न नसकेर मृत्यु सम्म हुने गरेको चर्चा ओशोले आफ्ना प्रवचनहरुमा गर्नुभएको छ । सानै उमेरमा घटेको महाज्ञानका क्रममा बालयोगीको कोमल शरीरलाई त्यस्तै कुनै अप्रिय घटना भएको हुनसक्छ । विषम परिस्थितिका बाबजुद पनि उहाँको साधना र कार्य भने रोकिएको छैन ।  काभ्रेको पनौतीमा निर्माणाधीन मोक्षधाम उहाँको अर्को ठूलो परियोजना हो । उहाँको हरेक कार्यमा शिवका गुह्य साधना पद्धति सामेल हुने गरेका छन्, उहाँका सत्सङ्ग शिव-भक्तिमय हुने गर्दछन् र उहाँको जीवन नै शिवमय रहेको पाइन्छ।

त्रिगजुर शिवालयको बनावटको कुरा गर्नुपर्दा नन्दीको गर्भगृहमा विराजमान शिवलिङ्ग र तीन गजुरबाट प्रवाहित ब्रह्माण्डीय ऊर्जाको संगम हुने यस्तो मन्दिर पृथ्वी मै दुर्लभ छ । मन्दिरसँगै रहेको साधना तथा ध्यान कक्षमा गहिरो ध्यानको अनुभूति हुने गर्दछ । यन्त्र, तन्त्र, र मन्त्र शक्तिद्वारा स्थापित यस मन्दिरको सम्पूर्ण शिल्पकार बालयोगी नै हुनुहुन्छ । उहाँका अनुसार यहाँ जीवात्मा, शीवात्मा र देवात्मालाई परिपूर्ण विधिका साथ स्थापित गरिएको छ । स्वामी आनन्द अरुण बालयोगीमा उच्च चेतनाको बास भएको बताउनुहुन्छ । बालयोगी र स्वामी बीच गहिरो आत्मीयता एवम् एक अर्काको कार्य र आध्यात्मिक योगदान प्रति सम्मान रहेको छ । बालयोगीले आफ्ना महत्त्वपूर्ण कार्यक्रमहरुमा स्वामीज्यूलाई निमन्त्रण गरिरहनुहुन्छ र ओशो आश्रमहरु पनि बालयोगीका प्रिय स्थान हुन् ।

समयअनुसार जगतमा नयाँ आवश्यकताहरू पैदा हुन्छन्; परिवर्तन जगतको नियम पनि हो ।  हाम्रा सीमित दृष्टिले जगतका सम्पूर्ण सत्यहरू नदेख्न सक्छन् । तर उच्च चेतनाहरूले भने आफ्नो कार्यहरू गरिरहेका हुन्छन्, अदृश्यमा वा भौतिक रूपमै । परमात्माले प्रेमले सिर्जना गरेको यस पृथ्वीको रक्षा गर्न र मानव चेतनाको विकास गर्न उनले नै कुनै न कुनै आयोजना गरिरहन्छन् । यस्तो दुर्लभ अवसरहरूमा सहभागी हुन पाउनु हाम्रो सौभाग्य मान्नुपर्दछ । 

यो नेपाल भूमिको सौभाग्य हो कि महादेवले फेरि पनि जगत् रक्षाको कुनै महत्त्वपूर्ण कार्यका लागि हाम्रै पाशुपत क्षेत्रलाई रोजेका छन् र यस्ता उच्च चेतनाहरूलाई पशुपतिको नजिकै यी कार्यका लागि जुटाइरहेका छन् । बागेश्वरी र गुहेश्वरी सँगै यी दुई नयाँ तीर्थहरुले चतुर्मुखी पशुपतिनाथको नवीन ऊर्जा क्षेत्र कायम गर्न सहयोगी बन्नेमा शंका छैन । पशुपतिनाथ नजिकै निर्माण भएका यी दुवै नयाँ तीर्थहरू नेपालका गौरव हुन् र यी तीर्थहरूमा ध्यान साधना गर्दै यिनको भरपुर उपयोग गर्न सकौँ भन्ने सम्पूर्ण नेपाली र ध्यानप्रेमीहरुमा शुभेक्षा एवम् शुभकामना व्यक्त गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी आत्मो आनन्द
स्वामी आत्मो आनन्द
लेखकबाट थप