बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय
संविधान संशोधन बहस

‘संशोधन भनेको हिजो शासकले सनद जारी गरेजस्तो होइन’

अहिले एकपटक शान्त मनले संविधानलाई हेर्नुपरेको छ : डा. मीनेन्द्र रिजाल (भिडियोसहित)
बिहीबार, २७ असार २०८१, ०९ : १५

कांग्रेस–एमालेको नयाँ सत्तासमीकरण बनेसँगै संविधान संशोधनको चर्चा छ । खासगरी संविधान संशोधनको विषयलाई लिएर विभिन्न मत प्रकट भइरहेका छन् । संविधान संशोधन किन आवश्यक पर्‍यो ? के के विषय संशोधन गर्नुपर्ने हो ?

यिनै प्रश्नमा केन्द्रित रहेर संविधानका मस्यौदाकार, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग रातोपाटीका रामप्रसाद दाहाल र ध्रुवसत्य परियारले संवाद गरेका छन् । प्रस्तुत छ, उनीसँगको संवादको सम्पादित अंश :

  • संविधान संशोधनका नाममा कांग्रेस र एमाले एक ठाउँमा उभिए, राजनीतिक रूपमा प्रतिस्पर्धी दलहरू सत्ताको एउटै डुंगामा कसरी आइपुगे ?

योबाहेक अरू उपाय नै के थियो र ? पछिल्लो डेढ वर्षको अवधिमै प्रधानमन्त्रीले चारपटक विश्वासको मत लिइसक्नुभयो । उहाँले भन्नु नै भयो, मैले यस्ता विश्वासको मत १२ पटक लिनुपर्छ कि ! यसको अर्थ, उहाँलाई विश्वासको मत छ कि छैन भनेर संसद्ले १२ पल्टसम्म जाँच्नुपर्ने भयो । यो त सुखद होइन ।

यहाँ जसले जसलाई झुक्काएर सत्ता लिए हुन्छ भन्ने अवस्थामा आज हामी पुगेका छौँ । हिजो कुनै नेताले आफ्नो कुरा राख्यो र पछि त्यसलाई बदल्यो भने अविष्मरणीय जस्तो हुन्थ्यो । अहिले त ‘रुल अफ् द गेम’जस्तो भइसक्यो । हाम्रो राजनीतिमा यस्तो संरचना बनेको छ, जसले हामीलाई यस्ता समीकरण बनाउने बाध्यतामा पारेको छ ।

अहिले हामीले मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ । पहिले २०५ सांसद हुन्थे, त्यसमा पाँच प्रतिशत हुँदै १० प्रतिशतसम्म महिला ल्याउने भनियो, यद्यपि महिलाको उपस्थिति खासै हुन सकेन । दलितको उपस्थिति नगन्यजस्तै हुन्थ्यो । कतिपय जातजातिका व्यक्ति प्रतिनिधि सभामा आउँदै नआउने खालको परिस्थिति थियो । त्यसैले हामीले अनुभव गर्‍यौँ, सोच्यौँ— प्रतिनिधिसभामा सबैको प्रतिनिधित्व हुनुपर्छ । नेपालको अनुहार जस्तो छ, त्यो प्रतिनिधिसभामा देखिनुपर्‍यो । ठ्याक्कै जातको प्रतिनिधित्व हुनुपर्छ भन्न खोजेको होइन, यस्तै खालको एक थरी एक्स्ट्रिम विचार पनि छ । कहीँ न कहीँ सबै समुदायका मानिस आउन सक्ने ‘फेयर चान्स’ हुनुपर्छ भन्नेमा हामी पुग्यौँ र निर्वाचनमा समानुपातिक प्रावधान राख्यौँ । जसले गर्दा पहिलो र दोस्रो संविधानसभामा विभिन्न समुदायका मानिस आए र विभिन्न मुद्दामा मन्थन भए ।

प्रचण्डजीसँग डराउनुपर्ने कुनै कारण छैन । एकछिन भाषण गर्दा उहाँलाई रमाइलो लाग्छ होला । म आग्रहपूर्वक भनिरहेको छैन । उहाँप्रति मेरो सम्मान नै छ, मित्रताको सम्बन्ध छ ।

दुवै संविधानसभा विचार मन्थनको चौतारी बन्न सक्यो । त्यसपछि हामीले संविधान लेख्यौँ । एउटा बलियो सत्ता पक्ष र सत्तापक्षलाई मज्जैले हल्लाउन सक्ने प्रतिपक्ष हुनुपर्ने खालको संवैधानिक व्यवस्था हामीले गरेका हौँ, यद्यपि यस्तै भाषा त्यहाँ लेखिएको छैन, अपेक्षा भने यही हो ।

अहिले आएर हाम्रो अपेक्षा अनुरूपको परिस्थिति बन्न सकेन । किनभने हामीले समानुपातिक अंश अलि ठुलो बनाएछौँ । यसमा त्यति गहिराइमा नगईकन भन्नुपर्दा— एउटा दलित पुरुष र एउटा गैरदलित महिलामा कसको प्रतिनिधित्व सहज रूपमा हुँदैन भन्ने जवाफ मैले दिइरहनुपर्दैन । दलित पुरुष आउनलाई गाह्रो छ । किन भन्दाखेरि, एकातर्फ महिलाको एकतिहाइ पुर्‍याउनुपर्छ भन्नेछ, अर्कोतर्फ दलितको सङ्ख्या पनि पुर्‍याउनुपर्छ भन्नेछ । दलितको पनि सङ्ख्या पुर्‍याउनुपर्ने र महिलाको एकतिहाइ पनि पुर्‍याउनुपर्ने हुँदा दलित पुरुषलाई नपठाएर दलित महिलालाई पठाउनुपर्ने भयो । यही इरादा र नियतका साथ संविधान लेखेको होइन । समानुपातिक चाहियो, किनभने जो आउन नसक्ने अवस्थामा छ, उसको आउने बाटो बन्द गर्नु हुँदैन, ऊ आउने बाटो सहज बनाउनुपर्‍यो । अर्कोतिर एउटा दलित पुरुषलाई र एउटा अल्पसङ्ख्यकलाई पनि आउन सहज हुने बाटो हुनुपर्‍यो । यो बाटो कायम गरी सँगसँगै एउटा पार्टीले बहुमत ल्याउने वा बहुमतको छेउछाउ पुग्ने खालको पनि प्रावधान हुनुपर्‍यो ।

अघिल्लो पटकको निर्वाचनमा एउटा पार्टी सरकारमा कांग्रेससँगै थियो । २०७४ को निर्वाचनमा जाने बेला ऊ अर्को पार्टीसँग मिल्यो । पहिलोपटक सुन्दाखेरि त नेपालमा निकै ठुलो वैचारिक परिवर्तन हुन थाल्यो जस्तो भएको थियो, वाम गठबन्धनका रूपमा चुनाव लडेर पछि एउटै पार्टी बनाउने भनिएको थियो । एउटा पार्टी पनि बन्यो, तर त्यसको व्यवस्थापन हुन सकेन । दुई पार्टीका नेताको व्यवस्थापन, पुरानो ठुलो पार्टीभित्रैका पुराना र नयाँ नेताहरूको व्यवस्थापन आदिलाई लिएर गणतन्त्रपछिको पहिलो प्रतिनिधिसभा झन्डै दुर्घटनामा परेन, दुईपटक संसद् विघटनको प्रयास भयो । संविधानको प्रावधान बमोजिम प्रतिनिधिसभाको पुनस्र्थापना भयो । यद्यपि यो प्रावधान ठिक हो वा होइन भन्ने आजका दिनमा बहस छ । त्यसपछि चुनावमा जाने क्रममा आग्रह–पूर्वाग्रहबिनै गठबन्धन गर्‍यौँ, त्यतिबेला भनेका थियौँ— यो गठबन्धन संविधान जोगाउने र संविधान भत्काउने बिचको हो । संविधान जोगाउनेहरू मिलेर चुनावमा त गयौँ, तर परिणाम नआउँदै प्रधानमन्त्री पद कताबाट सुरक्षित हुन्छ भन्नेमा लाग्यौँ । निर्वाचन प्रणाली, प्रतिनिधिसभाको स्वरूप, प्रतिनिधिसभाको सङ्ख्या, राजनीतिक दलहरूको उपस्थितिले हामीलाई त्यो अवस्थामा पुर्‍याएको हो । त्यसैले यही रूपमा (संविधान) रहने हो भने, ०८४ सालमा चुनावमा जाँदा को कोसँग मिल्ने हो थाहा छैन । अहिले हामी कांग्रेस र एमाले एक ठाउँमा भएका छौँ । भोलि चुनाव लड्ने बेलासम्म को कोसँग नजिक हुन्छ थाहा छैन । त्यतिबेला हामीले नारा त एउटा निकालिहाल्छौँ र त्यो नारा लिएर चुनावमा जान्छौँ । त्यसपछि पनि एउटा गठबन्धनमा सँगै हुने, प्रधानमन्त्री बन्ने र अरूतिर लाग्ने हुन सक्छ । उही प्रधानमन्त्रीले १२ पटकसम्म विश्वासको मत लिनुपर्ने हुन सक्छ । त्यसैले संविधानमा एकपटक रिभ्यु गर्नुपर्छ भनिएको हो ।

जादुगरले टोपी खोल्छ र तुरुन्त खरायो वा अरू केही निकालेर देखाउँछ । संविधान भनेको चटक गरेर बनाउने चिज होइन । कष्टसाध्य रूपमा हामीले यो संविधान बनाएका हौँ ।

०७२ मा संविधान बनाएर निस्कँदा संविधान प्राथमिकतामा थियो । संविधान बनायौँ, तर सुशासन प्राथमिकतामा हुनुपर्छ भन्ने चरणमा पुग्न सकेनौँ । त्यो अनुभवबाट हामीले सिक्नुपर्नेछ । अब हामी ट्र्याकमा पुग्नका लागि अर्को कुनै उपाय छैन, राजनीतिक स्थिरता नै चाहिन्छ । सँगसँगै संविधानका हाम्रा उपलब्धिलाई रक्षा गर्दै कसरी अगाडि बढ्न सकिन्छ, त्यतातिर सोच्नुपर्ने भयो ।

  • कांग्रेस–एमालेको अहिलेको जुन सहमति छ, त्यो अहिलेसम्म अपारदर्शी छ, तर आवरणमा संविधान संशोधनलाई एउटा नारा बनाएर दुई पार्टी एक ठाउँमा आएका छन् । तपाईंको भनाइ अनुसार त, एक्लै खान खोज्ने प्रचण्डसँग तर्सिएर कांग्रेस–एमालेले समीकरण गरेका हुन् भन्ने बुझियो नि !

प्रचण्डजीसँग डराउनुपर्ने कुनै कारण छैन । एकछिन भाषण गर्दा उहाँलाई रमाइलो लाग्छ होला । म आग्रहपूर्वक भनिरहेको छैन । उहाँप्रति मेरो सम्मान नै छ, मित्रताको सम्बन्ध छ । मेरो जीवनमा यस्तो सौभाग्य छ कि सात सालयता नेपालमा जति प्रधानमन्त्री भए, केआई सिंहबाहेक सबै प्रधानमन्त्रीसँग मेरो प्रत्यक्ष र व्यक्तिगत सम्बन्ध भयो । आजको दिनमा सत्ता परिवर्तन हुनेबित्तिकै एउटा व्यक्तिमाथि राख्ने विचारलाई परिवर्तन गर्न खोजेको होइन मैले । उहाँको सीमा उहाँकै हो । उहाँभन्दा पनि साना पार्टीको फूर्ति मामुली छैन । त्यसैले व्यक्तिका कारण (समीकरण) भएको होइन । हामीले बनाएको संविधानको अभ्यासमा जहाँ कठिनाइ आएको छ, त्यो कठिनाइलाई कसरी आफ्ना पक्षमा उपयोग गर्न सकिन्छ भन्ने अभ्यासका क्रममा जता पनि मिल्न मिल्ने मान्छेहरू सबैभन्दा बढी उफ्रिनुपर्ने हुन्छ, त्यो भएको हो ।

  • भनेपछि संविधान संशोधन नै यस समीकरणको मुख्य ध्येय हो ?

मैले त्यसरी भनेको होइन, अंग्रेजीमा उखान छ— ‘पुल अ र्‍याबिट आउट अफ द ह्याट’ ।

जादुगरले टोपी खोल्छ र तुरुन्त खरायो वा अरू केही निकालेर देखाउँछ । संविधान भनेको चटक गरेर बनाउने चिज होइन । कष्टसाध्य रूपमा हामीले यो संविधान बनाएका हौँ । दुइटा पार्टीका नेताहरू बस्ने, हस्ताक्षर गर्ने र अरूलाई फर्मान जारी गरेजस्तो गरी संविधानको संशोधन वा जारी हुँदैन । त्यसो गर्न संख्याले पनि दिँदैन, संख्याले दिए पनि त्यसो गर्न पाइँदैन । हिजो कांग्रेस र एमाले सँगै भएको सरकारमा संख्याले दिँदादिँदै पनि संविधानसभा छाडेर गएको माओवादीलाई फिर्ता बोलाएर संविधान लेखिएको हो । संविधानको एउटा विशिष्ट प्रक्रिया हुन्छ, लामो ‘कन्सल्टेटिभ प्रोसेस’बाट संविधान बन्ने वा संशोधन हुने हो । दुईजना कुनै कुनामा लुकेर षड्यन्त्र गरेर जादुगरले खरायो निकालेजसरी यो संशोधन गरिहाल्नुस् भनेर हुँदैन ।

नेपाली जनताको भोट पाएर आएका सभासद्ले जसरी हिजो संविधान लेखे, त्यसरी नै संविधान संशोधनमा पनि नेपाली जनताको स्वामित्व लिएर राजनीतिलाई अलग राखेर प्रक्रिया हुनुपर्छ भन्ने मलाई लाग्छ । यस्तो प्रोसेज जसलाई पार्टी राजनीतिले नछोओस्— पार्टी राजनीतिभन्दा पर र कसैको स्वार्थपूर्ण भावनाभन्दा पर रहेर शान्त मनले संविधानको पुनरावलोकन गर्ने समय हो यो । यही कुरा मैले राख्दै आएको छु । संविधान संशोधनको विषय कन्सल्टेटिभ हुनुपर्छ, आम जनताले यसमा कुनै न कुनै किसिमले विचार राख्न पाउनुपर्छ । संशोधनको प्रक्रियाका लागि संसद्मा दुईतिहाइ नै आवश्यक हुन्छ । संशोधन भनेको हिजो शासकले सनद जारी गरेजस्तो होइन ।

सरकार बदलिएको बदलियै छ, जनतामा निराशा छ— आफ्नै रोजगारीको टुंगो नभएका नेताले हाम्रो रोजगारीका लागि के गर्छन् भनेर हरेक दिन २३ सय मान्छे प्लेन चढेर बाहिरिएका छन् । अन्तर्राष्ट्रिय विमान चढेपछि मुक्ति पाएको उनीहरूले महसुस गरिरहेका छन् । त्यसैले निराश जनतालाई सम्बोधन गर्ने किसिमले अबको सरकारको मूल कार्यादेश हुनुपर्छ । राजनीतिक दलहरू र नेताहरूले आमजनताबाट जुन विश्वास गुमाएका छन्, त्यसलाई पुनर्स्थापित गर्नुपर्‍यो । अहिलेको संविधानको दोष छैन, हाम्रा दोषका कारण जनतामा निराशा छ, अब शासन ठिक बाटोमा हिँड्नुपर्छ ।

भोलि ओलीजीले प्रधानमन्त्रीको चिन्ता गर्नुपरेन, अथवा शेरबहादुरजीले आफ्नो पालोको चिन्ता गर्नुपरेन भने उहाँहरूले देश र जनताका लागि के गर्ने भन्नेतिर ध्यान दिन पाउनुहुन्छ ।

यहाँ के भएको छ भने एउटा सत्तामा गएपछि उसले बाँकी सबैलाई थुन्ने कुरा गर्छ । भोलि सत्ता परिवर्तन भएपछि थुनिनेको लिस्ट चेन्ज हुने ? यो ढंगले राज्य चल्न सक्दैन । अन्यत्र त यस्तो छैन, दक्षिण एसियामा कहीँ न कहीँ एउटा सत्तामा आएपछि अर्कोको नाश हुने जुन राजनीति भइरहेको छ, त्यस कारण ती देशको लोकतन्त्र कठिन मोडमा पुगेको छ । हामीकहाँ पनि त्यो किसिमको परिस्थिति देखिएको छ ।

हामीकहाँ भ्रष्टाचार पहिलेभन्दा निकै मौलाएको देखिन्छ । केन्द्र सरकारमा भएका अनियमितता अख्तियार दुरुपयोग आयोगले हेर्ला, छानबिन गर्ला, तर आज ६ हजार ७४३ वडामा कसरी कार्यकारिणीले काम गरेको छ भनेर हेर्ने उसलाई फुर्सद नहोला । त्यसैले अहिले माथिदेखि तलसम्म काम भएको पनि देखिएको छ, कामसँगै बदमासी भएको पनि देखिएको छ । कहाँ कहाँ के के बदमासी भएको छ भन्ने प्रमाण नहोला, तर जनताको मनले केही गोलमाल भएको देखिरहेको छ ।

भोलि ओलीजीले प्रधानमन्त्रीको चिन्ता गर्नुपरेन, अथवा शेरबहादुरजीले आफ्नो पालोको चिन्ता गर्नुपरेन भने उहाँहरूले देश र जनताका लागि के गर्ने भन्नेतिर ध्यान दिन पाउनुहुन्छ । उहाँहरूको ध्यान विश्वासको मत बनाउनतिर मात्रै होइन, आमजनताको बिचमा जानका लागि उहाँहरूको ध्यान केन्द्रित हुनुपर्‍यो, यसका लागि एउटा ‘इन्सेन्टिभ क्रेट’ गर्नुपर्छ भन्ने हो ।

  • भनेपछि कांग्रेस–एमालेको यो समीकरण सुशासनका लागि हो । संविधान संशोधन गर्ने हो भने बोर्डर कन्सेन्ससमा जानुपर्‍यो अर्थात् आम सहमति जुटाउनुपर्‍यो भन्ने यहाँको कुरा आयो । यो समीकरणका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले जेमा हस्ताक्षर गर्नुभएको छ, त्यो यहाँले पढ्नुभएको छ ? त्यसमा यहाँले भनेका कुुराहरू होलान् ?

यसबारे तपाईंहरूले जे प्रकाशन गर्नुभयो, मैले त्यही पढेको हुँ, त्योभन्दा अर्को पढेको छैन । (यस्तो राजनीतिक अवस्थामा) हामीकहाँ के (अनुमान गर्ने) चलन छ भने केही त पक्का छ होला ! वी क्रेट मन्स्टर अदर नथिङ (हामी आफैँ राक्षस बनाउँछौँ, अरू केही होइन) । षड्यन्त्रबाहेक अरू केही पनि हुँदैन भन्ने हामीलाई पर्न थालेको छ ।

बाहिर आएको कुरा यही हो कि संविधानको कार्यान्वयनमा केही कठिनाइ देखिएका छन्, ती कठिनाइका बारेमा छलफल गरेर एउटा टुंगो लगाउनु स्वाभाविक प्रक्रिया हो ।

हामीकहाँ अहिलेको राजनीति जुन किसिमको चलिरहेको छ, त्यसमा सत्ता परिवर्तन गर्ने निर्णय गर्दा कहीँ न कहीँ झन्झट देखिन्छ । जस्तो : सँगै बसेर सरकार चलाउने कुरा मजाले परिपक्व नगर्दासम्म त्यसलाई बाहिर नल्याउनुपर्ने परिस्थिति भएकाले यो अलि भित्र बसेर गर्‍याजस्तो देखियो । केही चिज लुकाउनका लागि गरिएको छ भन्ने किसिमले नबुझ्नुस्, मेरो सूचना र तपाईंको सूचना बराबर हो । त्योभन्दा बढी केही चिज छन् भने, जनताको तहमा बसेर छलफल गर्नुपर्ने विषय केही परेका छन् भने, ती त्यहीँ हराए हुन्छ । त्यसो भयो भने एउटा स्वच्छ बाटोबाट संविधानको पुनरवलोकन हुन्छ, सनकका रूपमा संविधान संशोधन हुन्न । तर शासन चाहिँ आजैदेखि बदल्नुपरेको छ । जनतामा यो भाव वा आशा सञ्चार गर्नुपरेको छ कि अब नेताले आफ्नो रोजगारी होइन, मेरो रोजगारीमा ध्यान दिने समय आएको छ, उनीहरूलाई काम फुर्सद भएको छ, अब काम गर्छन् ।

  • यहाँ निकै सूचना राख्ने नेतामा पर्नुहुन्छ तर शेरबहादुर देउवा र केपी ओलीले गरेको सम्झौता पढ्न पाउनुभएको छैन, अझ जनताले कहिले पाउने त्यो दोस्रो कुरा भयो । त्यो सम्झौतामा संविधान संशोधनको विषय छ भनेर कसरी पत्याउने ? शंकाको सुविधा रहेन र ?

बाहिर आएको कुरा यही हो कि संविधानको कार्यान्वयनमा केही कठिनाइ देखिएका छन्, ती कठिनाइका बारेमा छलफल गरेर एउटा टुंगो लगाउनु स्वाभाविक प्रक्रिया हो ।

अर्को कुरा, अबको साढे तीन वर्ष सँगै काम गर्ने गरी कांग्रेस–एमाले मिल्ने हो । यो संविधानले अहिले शासन गर्न फरक पारेको छैन । संविधान बदल्ने कुरामा कांग्रेस र एमाले सँगै आउन सक्छन् । अबको साढे तीन वर्षसम्म शासन गर्ने कुरामा— जे बारेमा जनताले शङ्का गरेका छन्, कांग्रेस र एमालेले गज्जबले चलाएर एउटा तल–माथि नगरी कसैले कसैलाई धोका नदिई हरेक कुरा भनेजस्तो पूरा गर्न सक्छौँ, यसो गरे पनि कांग्रेस–एमाले भोलि चुनावमा घच्चीसाथ प्रतिस्पर्धा गर्ने हो, यी दुईले गठबन्धन बनाएर चुनाव लड्ने होइन । हामीमध्ये कुनै एउटा दल असाध्यै खुम्चिएर गयो भने कुनै अर्को दल निस्केला, तर दुइटा दल मजाले प्रतिस्पर्धा गर्न सक्ने राजनीतिको खोजी गर्दाखेरि त्यसलाई संवैधानिक प्रबन्धले कहीँ न कहीँ कठिनाइ पारेको छ, ती प्रबन्धलाई बदल्नुपर्छ भन्ने हो ।

आज जनताबाट जे जे खालका प्रतिक्रिया आउँछन्, ती सबैलाई मैले गाली गर्दै हिँड्नुपर्दैन । मेरो पार्टीको सभापतिको एउटा स्वभाव छ, उहाँले धेरै कुरामा खासै रुचि दिनुहुन्न, इग्नोर गर्नुहुन्छ ।
  • यहाँको भनाइमा अब साढे तीन वर्षको अवधि कांग्रेस–एमालेले मिल्दा मात्रै संविधान संशोधन गर्ने ठाउँमा पुग्न सक्छौँ, तत्काल यी दुइटा दलबिच बेमेल भयो भने त्यो प्रोसेस डिरेल हुन्छ ?

मैले त्यसो भन्न खोजेको होइन ।

  • हिजो नेकपाजस्तो एउटै पार्टी भएर बनेको सरकार त टिकेन, कांग्रेस र एमाले त फरक पार्टी हुन् । यो समीकरण टिक्छ र संविधान संंशोधन हुन्छ भन्ने के ग्यारेन्टी छ ? 

तपाईं र म दुइटा ठाउँमा छौँ, तपाईं पत्रकारितामा हुनुहुन्छ, तपाईंले शङ्का गर्नुस्, निरन्तर औँलो देखाउनुस् । म त्यो आशङ्कालाई गलत प्रमाणित गर्ने ठाउँमा छु, कांग्रेस पार्टीमा छु । त्यो आशङ्का गलत हो भनी प्रमाणित गर्ने कुरामा म रत्ति पनि आफ्नो ध्यानदृष्टि अलमल नपारीकन लाग्छु । हामी दुवै आ–आफ्नो काममा लागौँ न ।

  • कांग्रेस र एमालेको सहमति हुनासाथ यहाँ सामाजिक सञ्जाल लगायतमा चर्चा भयो— बेचन झाको पक्राउले कांग्रेसमा बेचैनी बढ्यो । कसैले भने— यो गिरी–बन्धु चियाको समय हो । यसलाई कसरी लिनुहुन्छ ?

आज जनताबाट जे जे खालका प्रतिक्रिया आउँछन्, ती सबैलाई मैले गाली गर्दै हिँड्नुपर्दैन । मेरो पार्टीको सभापतिको एउटा स्वभाव छ, उहाँले धेरै कुरामा खासै रुचि दिनुहुन्न, इग्नोर गर्नुहुन्छ । कति नेताकै पनि फेददेखि टुप्पासम्म सामाजिक सञ्जाल पढ्ने बानी छ । जहाँसुकै बैठकमा मोबाइल चलाएकै देखिन्छ । म पनि अलिअलि चलाउँला, तर थुप्रै नेताको काम त्यति मात्रै छ, तर मेरो पार्टीको सभापतिले केही चलाएको देखिँदैन । त्यसैले लोकतन्त्रमा र मान्छेको जीवनमा पनि एउटा चिज सिक्नुपर्ने हुन्छ— यु ह्याभ टु लर्न टु इग्नोर । मैले यो सुन्दै आएको थिएँ, जति पाको हुँदै गएँ, यसको अर्थ बुझ्दै जाँदै छु । सबै चिजलाई ध्यान दिनुभयो भने जीवन व्यतीत गर्न सक्नुहुन्न । अरू कहीँ जानुपर्दैन, घरमै श्रीमान् र श्रीमतीका बिचमा हुने कुरालाई सिरियस्ली लिन थाल्यो भने त कसरी सँगै बस्छ मान्छे ! बाबुआमासँग छोराछोरी कसरी सँगै बस्छन् !

संविधान भनेको चटक गरेर बनाउने चिज होइन । कष्टसाध्य रूपमा हामीले यो संविधान बनाएका हौँ । दुइटा पार्टीका नेताहरू बस्ने, हस्ताक्षर गर्ने र अरूलाई फर्मान जारी गरेजस्तो गरी संविधानको संशोधन वा जारी हुँदैन ।

‘ह्वाट इज् इम्पोर्टेन्ट फ्रम अनइम्पोर्टेन्ट’ छुट्ट्याउनुभएन भने, ‘ह्वाट इज् रिलेभेन्ट फ्रम इररिलेभेन्ट’ छुट्ट्याउनुभएन भने, ह्वाट् आई क्यान अफोर्ड टु इग्नोर र ह्वाट आई सुड नट इग्नोर छुट्ट्याउनुभएन भने— आई एम नट सेइङ इग्नोर एभ्रिथिङ, यु गेट द सेन्ट्रल म्यासेज, सेन्ट्रल म्यासेज नेपालको आज के छ भने, जनता निराश छन्, पत्याएका छैनन् राजनीति गर्ने मान्छेलाई । हामीले पत्याऊ भनेर पत्याउँदैन कसैले । तपाईंले भनेको कुराको मैले लिने अर्थ यति हो । कुरा गरेर होइन, काम गरेर पत्याउने बनाउनुपर्‍यो । हरेक गालीको शैलीलाई हेर्न थाल्ने हो भने त त्यसबाट म विक्षिप्त हुनेबाहेक अरू केही कुरै हुन्न । किन मैले कसैलाई नराम्रो भनिरहनु !

  • शासकीय सुधार गर्ने, स्थायी सरकार बनाउने र सुशासन दिने जुन कुरा यहाँले गर्नुभयो, तर हाम्रा पुराना राजनीतिक दल र पुराना पात्रहरूमाथि केही प्रश्न छन् । संविधान संशोधन गर्ने नाममा आफूमाथि आएको प्रश्नलाई यसो छायामा पार्ने जस्तो पनि हो कि यो ? संशोधनको नारा लिएपछि अरू प्रश्न त्यसै कमजोर हुन्छन्, पात्रमाथिको प्रश्नमा के गर्ने त ?

यसमा मैले यति मात्रै भन्छु— तपाईंलाई मैले असाध्यै राम्रोसँग यस प्रश्नको जवाफ दिएँ भने पनि, मैलेभन्दा पनि राम्रो जवाफ ओलीजी र प्रचण्डजीले दिनुभयो भने पनि, अथवा थुप्रैले पत्याउने अहिले आएका अरू नेताले यसमा मजाले जवाफ दिनुभयो भने पनि जनताले जवाफबाट पत्याउँदैनन्, कामबाटै पत्याउँछन् । यस कारण तपाईंलाई मैले जति मिठो जवाफ दिए पनि त्यो निष्प्रयोजनको हुन्छ । साँच्चै खिरको स्वाद खाएपछि थाहा हुन्छ, खिर पकाउन सक्छौँ कि सक्दैनौँ भन्ने कांग्रेस र एमालेको जिम्मामा छ ।

तपाईंं निरन्तर शङ्का गर्नुस्, तपाईंको शङ्का व्यर्थको हो भन्ने प्रमाणित गर्ने चुनौती मैले हरेक दिन सामना गर्नुपर्छ ।

  • पुराना दल र नेताका कार्यशैलीमाथि प्रश्न छ नि ?

प्रश्न गरिराख्नुस् न । नेपालको सबैभन्दा पुरानो दलको मान्छे म, म पनि पुरानै नेतामा पर्छु । सबैभन्दा पुरानो दललाई प्रश्न गर्ने बेला छैन है, तपाईंको प्रश्नको जवाफ चित्त बुझ्ने गरी दिन्छु भन्नलाई काम गरेर देखाउने हो । हामीले बोलेर जित्ने संस्कृति बनायौँ, यसबाट पार लाग्दैन ।

हामीकहाँ दुईपटक चुनाव भइसक्यो । तीन तहको कोअडिर्नेसन गर्ने बारेमा समस्या छ । हामीले प्रदेश र स्थानीय तह बनायौँ, त्यसलाई क्रियाशील बनाउने कुरामा धेरै अगाडि जान सकेका छैनौँ हामी । 

मलाई वा मभन्दा पाकालाई शङ्का गर्नुभएको छ, अथवा मभन्दा जवानलाई माया गर्नुभएको छ । यो अवस्थामा मलाई शङ्का गर्ने कुरा उचित छैन भनी प्रमाणित गर्ने मेरो भार भयो । त्यो भार अनुसार मैले काम गर्नुपर्ने हो । मैले बोलेर जित्न सक्दिनँ ।

  • संविधान संशोधनको जुन चर्चा छ, संविधानमा लेखिएका शब्दहरूकै कारण संशोधन गर्नुपरेको हो वा पात्रहरूका कारण यो कुरा उठेको हो ?

मैले तपाईंलाई बुझाउन सकिनँ, सञ्चारजगतका साथीहरूसँग धेरै लामो समयदेखि संगत भएको मान्छेमध्ये म पर्छु होला । तर आजसम्म बुझाउन नसकेको हुनाले म मिहिनेत गरिरहेकै छु । अहिले संविधानमा लेखिएका कुराले पनि केही कठिनाइ भाछ भन्ने हामीलाई लागेको छ । तर त्यो अघि नै भनेजस्तो जादुगरले टोपीबाट खरायो तानेर सनद जारीजस्तो होइन । अहिले शासन चलाउन समस्या भएको छैन तर भोलिको पार्लियामेन्ट कस्तो हुने, बहुमतका लागि कसरी चुनावमा जाने भन्ने प्रश्न छ । कि त एउटा पार्टी यसरी इमर्ज हुनुपर्‍यो, जसलाई ५० प्रतिशतभन्दा बढी मान्छेले भोट दिऊन् । नेपालको इतिहासमा यस्तो कहिले पनि भएको छैन । २०१५ सालदेखि आजसम्मको इतिहासमा सबैभन्दा बढी मत कांग्रेसले पाएको थियो, ३८.५ प्रतिशत । त्योभन्दा बढी मत अहिलेसम्म कसैले पाएको छैन । २०७४ को निर्वाचनमा एमालेले ३३.२५ र कांग्रेसले ३२.७८ प्रतिशत मत पाएको थियो । २०७९ निर्वाचनमा कांग्रेसले २५.७१ प्रतिशत र एमालेले २६.९५ प्रतिशत मत पाएको छ । हाम्रो समर्थनको आधार खुम्चिएको छ भन्ने पनि एकातिर हामीले हेक्का राख्नुपर्‍यो । सँगसँगै एउटा न एउटा किसिमको स्थिरता चाहियो ।

म संविधान मस्यौदा समितिको कार्यदल सदस्य हुँ । त्यसैले यसका धाराहरूको बारेमा मलाई राम्रोसँग ज्ञान छ । त्यतिबेला अहिले जारी गरेनौँ भने कहिले जारी गर्ने भन्ने हतारोमा हामी पर्‍यौँ । त्यसैले अहिले एकपटक शान्त मनले संविधानलाई हेर्नुपरेको छ ।

चटकी हिसाबले प्रत्यक्ष निर्वाचित कार्यकारी गरौँ भन्ने होइन, त्यसो गरे पार्लियामेन्टको चुनाव मात्रै हुन्छ, पार्लियामेन्ट महाकालीमा बगाइदिए हुन्छ जसरी कुरा गर्छन् कतिले । प्रत्यक्ष निर्वाचित कार्यकारी पनि संसद्प्रति जिम्मेदार हुनुपर्ला नि ! बजेट र विधेयक त्यहीँबाट पास गर्नुपर्छ । यस्ता चटकी सोलुसन हुन सक्दैन । संविधानका बारेमा गम्भीरतापूर्वक सोचौँ, विमर्श गरौँ, आम जनताका कुरा सुनौँ, हामी आफ्ना कुरा पनि राखौँ । अहिले हामीले नयाँ व्यवस्थाको खोजी गर्नुपर्दैन, दुनियाँमा यत्तिका धेरै लोकतान्त्रिक व्यवस्था छन्, आज दुनियाँका सबै मुलुकमा निर्वाचन हुन्छ, कुनै लोकतान्त्रिक पद्धतिमा रहेर समाधानमा जान सकिन्छ । सबै खालका पहिचानका मानिस एउटै तरिकाले चुनाव जितेर आउन सक्दैनन् । यो समुदाय यसरी अप्ठेरोमा परेको छ, यो परेको छैन, यसरी सोच्यौँ भने कहीँ न कहीँ यसको जवाफ हुन्छ ।

‘टेकिङ दिस अवे फ्रम दी मेन पोलिटिकल प्रोसेज’, आजको दिनमा हामीमाथि भरोसा छैन, संविधान संशोधन हामीले गर्छौँ भनेर सनद जारी गर्ने हो भने यिनका मात्रै स्वार्थका कुरा भयो भन्ने जनतामा पर्छ । त्यसरी हुँदैन, त्यसरी संविधान बनेको पनि होइन ।

यो संविधान बनाउने बेला अन्तिममा केही हतार गर्नुपरेको थियो । यसका केही भाषा मिलाउनुपर्ने सम्भावना थियो । यसैमा पनि एकअर्का (धारा)सँग कन्सिस्टेन्सी (संगति)को कुरा गर्नुपर्ने थियो । यी काम थप एक–डेढ महिना लगाएर गर्न सकिन्थ्यो । म संविधान मस्यौदा समितिको कार्यदलको पनि सदस्य हुँ । त्यसैले यसका धाराहरूको बारेमा मलाई राम्रोसँग ज्ञान छ । त्यतिबेला अहिले जारी गरेनौँ भने कहिले जारी गर्ने भन्ने हतारोमा हामी पर्‍यौँ । त्यसैले अहिले एकपटक शान्त मनले संविधानलाई हेर्नुपरेको छ ।

  • संविधानको मस्यौदा समितिमा यहाँ हुनुहुन्थ्यो । तपाईंकै शब्द सापटी लिँदा— पहिलो त त्यहाँ केही भाषागत इरर थिए, अर्को कुरा केही लेखिएकै कुराले हामीलाई समस्यामा पारेका छन् । यसरी हेर्दा दश वर्षभित्रै संशोधन गर्ने गरी तपाईंहरूले कति कमजोर चिज लेख्नुभए छ त ?

यसलाई जीवनभर परिवर्तन नगर्ने भनेर लेखेको होइन । यो संविधान दुई ठाउँमा त संशोधन भइसकेको छ । मैले नै संशोधन राखेको थिएँ । 

यो संविधानले नै संशोधनको बेग्लै महल लेखेको छ । हामीले नेपालको संविधान लेखेका हौँ, यसमा कुनै साल लेखेका छैनौँ, यो संविधान सधैँ रहिरहन संविधानले नै देखाएको पाटोबाट र हाम्रो अनुभवका आधारमा संविधान बलियो बनाउँदै जाने हो । हाम्रो मात्रै कुरा होइन, अमेरिकामा सबैभन्दा धेरै संशोधन इमिडियट्ली सँगै पास भएका छन्, त्यसपछाडि संविधानको संशोधन बडो मुस्किलले भएको छ । 

हामीकहाँ दुईपटक चुनाव भइसक्यो । तीन तहको कोअडिर्नेसन गर्ने बारेमा समस्या छ । हामीले प्रदेश र स्थानीय तह बनायौँ, त्यसलाई क्रियाशील बनाउने कुरामा धेरै अगाडि जान सकेका छैनौँ हामी । 

अढाइ वर्षदेखि निरन्तर रूपमा मैले भन्दै आएको छु— पार्टीहरूले एक्लाएक्लै चुनाव लड्नुपर्छ । तर किन एक्लै चुनाव लड्न सकिएन भन्ने कुराको निष्कर्षमा म पुगेँ ।

अर्को महत्त्वपूर्ण कुरा— धारा ७६ को उपधारा ५ मा संसद्मा बहुमत हुन सक्ने अवस्थासम्म पार्टीका ह्विप नलागीकन प्रधानमन्त्री निर्वाचन गर्ने व्यवस्था गरियो, सबैले बुझ्ने सामान्य अर्थ यही हो । अस्ति नै केन्द्रमा त्यसरी सरकार बन्यो, शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । मेरै पार्टीका साथीको नेतृत्वमा कोशी प्रदेशमा सरकार बन्यो, त्यहाँ दलको ह्विप नलागीकन बहुमतले नेता बनायो, तर त्यसरी बनेको नेताले आफ्नो बजेट तथा कार्यक्रम बहुमतबाट पारित गराउन नसक्ने खालको अवस्था बन्यो । त्यो संविधानले लेखेको बाटोबाट प्रधानमन्त्री वा मुख्यमन्त्री बनाउन ह्विप नलाग्ने, बाँकी सबै चिजमा ह्विप लाग्ने भनिएको रहेछ । ह्विप नलागी बनेको प्रधानमन्त्रीलाई उसका कार्यक्रमहरू लागु गर्न एकातर्फ दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्ने छ, अर्कोतिर दुई वर्षसम्म टिक्ने उपाय के गरेको छ त ? हुँदाहुँदा सङ्कल्प प्रस्तावले विपक्षमा बहुमत छ भन्ने देखायो । यी सबै अभ्यासले कहीँ न कहीँ हामीलाई संविधानका बारेमा गम्भीरतापूर्वक सोच्ने बनाएको छ । यद्यपि संविधान संशोधन सहज छैन । राजनीतिसँग डिट्याच मान्छेहरू तर संविधान र शासन व्यवस्थासँग जोडिएका मान्छे, समाजशास्त्रसँग जोडिएका मान्छेहरू बसेर छलफल गरौँ । अनि मात्र संसदीय प्रक्रियाको कुरा आउँछ, जहाँ दुईतिहाइ चाहिन्छ ।

  • यहाँकै कुरालाई लिँदा पनि यसअघि दुईचोटि संविधान संशोधन भइसक्यो । त्यसको परिवेशमा मधेस आन्दोलन पनि थियो । तलबाट संविधान संशोधनको माग थियो । अहिलेचाहिँ तलबाट मागभन्दा पनि पोलिटिकल डिमान्डजस्तो भयो । जनताबाट माग भएको छ त ?

जनताले भनेका छन् कि स्थिरता भएन । 

व्यक्ति भन्नुहुन्छ भने त्यही मान्छे प्रधानमन्त्री हुन्छ, डेढ वर्ष बितेको छैन, प्रधानमन्त्री फेरिनुभएको छैन । तर सरकारको रूप चार खालको भइसक्यो । अहिले हामीले पाँचौँ खालको रूपको सरकार बनाउन थालेका छौँ । यो कस्तो खालको सरकार हो भन्ने प्रश्नमा हामीले आ–आफ्नो धर्मग्रन्थलाई राखेर भाकल गरेर अब तल–माथि गर्दैनौँ भनेर मात्रै पुग्दैन होला । केही संरचनागत सुधार गर्नुपर्नेछ, केही संविधान र कानुनले गर्नुपर्ने सुधार होलान्, केही हामी आफूले हाम्रो अभ्यासमा सुधार गर्नुपर्नेछ । हामी त ऐन बनाउन सक्ने अवस्थामा भएनौँ । संविधान छाडिदिनुस् एक छिन्, मानौँ संविधान ठिक छ, सत्ता जोगाउने र सत्ता भत्काउनेमा हामी यति व्यस्त भयौँ कि ऐन बनाउने फुर्सद भएन ।

अहिलेसम्म केन्द्र र प्रदेशको सम्बन्ध कस्तो हुने; स्थानीय र प्रदेश तथा केन्द्रको सम्बन्ध कसरी हुने; तीन तहका सरकारले कसरी सहकार्य गर्ने; जस्तो : अख्तियारले केन्द्रलाई हेर्छ, प्रदेश र पालिकाहरूको वडालाई अख्तियारले हेर्ने कि नहेर्ने ? प्रश्न छ । के के कुरा केन्द्रीय संरचनाले हेर्ने वा नहेर्ने भन्ने विषयमा छलफल हुनुपर्छ । हामीकहाँ त छलफल हुनुअघि नै चटकीले समाधान दिन थाल्छ । उसो भए यत्रा विश्वविद्यालयहरू र बुद्धिजीवीहरू किन चाहियो ? विभिन्न विषयको अध्ययन र अनुसन्धान किन गर्नुपर्‍यो ? 

हामीकहाँ समस्या छन्, किन छन् भने— हाम्रो शैलीका कारण, लोभका कारण, दलीय अभ्यासका कारण छन् । हाम्रो दलीय लोकतन्त्रको अवस्था, हाम्रो नियमावलीको अवस्था, हाम्रो पत्रकारिताको अवस्था— यी सबै विषयलाई समग्रमा सोच्नुपर्छ । 

  • अहिले तपाईं ‘अप्रेसनल वे’बाट जानुभयो । संविधानको विश्लेषण हुनुपर्छ, तर दलहरू कहाँ चुके भने दश वर्षसम्म एउटा कानुन नदिने, मौलिक हकहरू कार्यान्वयन नगर्ने, अनि अहिले एकैचोटि संविधान संशोधन गर्ने त ! 

अढाइ वर्षदेखि निरन्तर रूपमा मैले भन्दै आएको छु— पार्टीहरूले एक्लाएक्लै चुनाव लड्नुपर्छ । तर किन एक्लै चुनाव लड्न सकिएन भन्ने कुराको निष्कर्षमा म पुगेँ । हिजो हामीले के भन्यौँ भने— १६४ निर्वाचन क्षेत्रमा पार्टी एक्लै चुनाव लडोस्, अर्कोसँग नमिलोस्, तर मेरो निर्वाचन क्षेत्रमा गठबन्धन बनोस् । यसरी त हुँदैन । चुनावका विषयमा व्यावहारिक कठिनाइ थिए, व्यावहारिक कठिनाइ भनेको सरकार निर्माणको कुरा नै हो । यो विषयको समाधान हुनुपर्छ भनेर मैले आफ्नो विचार राख्दै आएको हुँ । तर म शीर्षस्थ त के गर्धनको पनि नेता होइन जस्तो छ आजको दिनमा । मेरो भनाइ लागु हुने भएन ।

शासन ठिक ढंगले चलाउने विषयमा हामी तुरुन्तै अगाडि बढ्न सक्छौँ, यसमा कुनै बाधा छैन । विश्वास आर्जन गरेर अगाडि बढेपछि बाँकी सबै कुरा हुन्छन् भन्ने मेरो कुरा हो । 

  • कांग्रेसभित्र यहाँको प्रभाव राम्रै छ । त्यस हिसाबले यहाँले भनिदिनुपर्‍यो कि संविधान संशोधनका विषयमा नेपाली कांग्रेसको कन्टेन्ट यो यो हो भन्ने तय भएको छ ?

क्षमा गर्नुस् कि म यहाँले भनेजस्तो प्रभावशाली नेता होइन, मेरो कुनै प्रभाव छैन । 

  • हामी प्रभावशाली मान्छौँ ! 

मैले गफ लगाएर त भएन, आफ्नो प्रभावको सीमा मैले बुझिसकेको छु । म तपाईंसँग अहिले यसरी फुर्सदमा कुरा गरिरहेको छु । तपाईंसँग कुरा गर्नु सट्टा म अहिले संसद्को बैठकमा बसेको हुन्थे हुँला । अहिले आफ्ना कुरा मैले सार्वजनिक रूपमा राखिरहेको छु । अर्को साथीले अर्को किसिमले राख्नुभएको छ । शेखरजीले केही कुरा बोलिरहनुभएको छ, अरू साथीहरूले बोलिरहनुभएको छ । हाम्रो पार्टीमै (कन्टेन्टका विषयमा) छलफल भएको छैन । अघिदेखि म भनिरहेको छु— सनद जारी गरेजसरी संविधान संशोधन हुँदैन । अब तपाईंहरू पत्याउनुहुन्न । अब मैले तपाईंलाई विश्वास दिलाउने कामले हो । 

  • पार्टीमा छलफल भएको छैन । यहाँले संविधान संशोधनका विषयमा केही कुरा त भन्नुभयो, के यति नै हुन् संशोधन गर्नुपर्ने ? 

म आफूलाई लागेका केही एजेन्डा भनेँ । केही न्यायालयलाई लागेका एजेन्डा होला, केही संसदीय सुनुवाइ प्रक्रियासँग सम्बन्धित एजेन्डा होला, कहीँ सरकार बदलिँदा हुने कार्यकारिणीको नियुक्तिको प्रक्रियासँग सम्बन्धित विषय होला— यस्ता थुप्रै चिज छन् । यी सबै विषय राख्दै जाऊँ । हामीले संविधानलाई हुँडल्ने होइन, हामीले स्थापित गरेको जगलाई अझ बलियो बनाउने हो । अब नभएको कुरा वा मसला तपाईंलाई समाचार बनाउनका लागि दिने भन्ने भएन । 

बहिर्गमन हुन थाल्या प्रधानमन्त्री, बहिर्गमन हुन थाल्या पार्टीमाथि चाबुक मारेर अगाडि बढ्ने होइन । २०७२ सालदेखि निरन्तर सत्तामा बसेको पार्टीलाई सत्ताबाट बाहिरिँदा ठुलै पश्चगमन भएजस्तो लाग्छ ।
  • यहाँ बीआरआईदेखि एमसीसीसम्मका कुरा विवादमा आइरहेका छन् । अहिले संविधान संशोधनको विषयमा भूराजनीतिको पनि कहीँ न कहीँ चासो देखिएको छ कि ?

मानौँ तपाईंले कल्पना गरेर भन्नुभयो— अमेरिकामा आउने नोभेम्बरमा हुने चुनावले नेपालको संविधान संशोधनमा चासो लिन्छ । मैले पनि हो हो भनेर जवाफ दिन थालेँ भने तपाईंको क्षमताको र मेरो मूर्खताको पनि प्रदर्शन हुन्छ । यो नगरौँ । 

  • यो संविधान जारी हुने बेला त भूराजनीतिक चासो देखिएको थियो नि ?

मैले बुझेँ । मैले बुझेरै जवाफ दिइरहेको छु तपाईंको कुराको । 

  • अहिले प्रतिपक्षमा पुग्दै गरेको नेकपा माओवादीले यो नयाँ समीकरणलाई प्रतिगमनकारी भनेको छ । यसले समानुपातिक निर्वाचन प्रणाली उल्ट्याउन लाग्यो भन्न थालिएको छ । यहाँहरूले गर्ने भनेको संशोधन प्रतिगमनकारी हो वा अग्रगमन हो ? 

यो विषयमा जवाफ दिइरहने आवश्यकता मैले किन देख्दिनँ भने, आज नयाँ सत्ता निर्माण भइरहेको छ । मैले नयाँ सत्ता राम्रो बनाउने कुरा गर्नेभन्दा अहिले सत्तामा रहेकालाई गाली–गलौज गर्नु उचित हुँदैन । 

बहिर्गमन हुन थाल्या प्रधानमन्त्री, बहिर्गमन हुन थाल्या पार्टीमाथि चाबुक मारेर अगाडि बढ्ने होइन । मैले यहाँभन्दा बढी भन्दिनँ, मैले भन्ने यति मात्रै हो । यसमा थप एउटा कुरा भन्छु— २०७२ सालदेखि निरन्तर सत्तामा बसेको पार्टीलाई सत्ताबाट बाहिरिँदा ठुलै पश्चगमन भएजस्तो लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप
रामप्रसाद दाहाल
रामप्रसाद दाहाल

दाहाल रातोपाटीका सम्पादक हुन् ।

लेखकबाट थप