शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

भालुको आतंक बढेपछि कानूनमा संसोधन गर्न खोज्दै जापान

बिहीबार, २७ असार २०८१, ११ : ५३
बिहीबार, २७ असार २०८१

टोकियो । जापानमा हालैका वर्षमा जंगली भालुको आतंक बढेको छ । आवासीय क्षेत्र वरपर जंगली भालुको आक्रमण बढ्दा कयौंले ज्यान गुमाइरहेका छन् भने घाइते र चोटपटक लाग्नेको संख्या पनि बढेको छ ।

 यो वर्ष शुरु भएयता अप्रिलसम्मको अवधिमा देशभरमा भालुको आक्रमणका २१९ वटा घटना दर्ता भएका छन् । यसमध्ये ६ ओटामा मान्छेको ज्यानै गएको सरकारी तथ्यांकले देखाएको छ । जंगली भालुहरू मानव बस्तीमा छिर्ने क्रम बढ्दा हालैका महीनामा घातक आक्रमण बढेका छन् ।

जापानमा मान्छेको जनसंख्या घटिरहेको र वृद्ध जनसंख्या बढिरहेको अवस्थामा खासगरी शहर बाहिरका क्षेत्रमा भालुको संख्या बढेका छन् । यसको परिणाम डरलाग्दो हुने विश्लेषण गर्न लागिएको छ । अहिलेको कानून अनुसार  लाइसेन्स प्राप्त शिकारीहरूले मात्रै प्रहरी अधिकारीसँग अनुमति लिएर मात्रै भालुलाई गोली हान्न सक्छन् । भालु देख्ने बित्तिकै मार्न स्वतन्त्र भएर हतियार प्रयोग गर्न सकियोस् भनेर सरकारले संसदको आगामी अधिवेशनमा कानून संसोधन गर्ने योजना बनाइरहेको छ ।

संसोधन पारित भयो भने शिकारीले मान्छेलाई आक्रमण गरेर भालुले चोट पुर्यायो वा मान्छेहरू बस्ने आवासीय भवनमा छिर्यो आदि परिस्थितिमा प्रहरी अधिकारीको अनुमति नलिइकन भालुमाथि गोली प्रहार गर्न सक्नेछन् । जापानको सुदुर उत्तरको होक्काइदोमा सन् १९९० यता भालुको संख्या दोब्बर भन्दा माथि पुगेको छ । यहाँ अहिले झन्डै १२ हजार जति खैरो भालु रहेको अनुमान गरिएको छ । कालो भालुभन्दा खैरो भालु बढी आक्रामक हुन्छन् । कालो भालुको संख्या १० हजार आसपास भएको अनुमान गरिएको छ । भालुलाई धपाउन स्थानीय सरकारहरूले अनेकौं रणनीति अपनाइरहेका छन् । तर पनि यसले खासै काम गरेको देखिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप