चौधर नदी धार परिवर्तन गरी बस्तीमा
कञ्चनपुर । कञ्चनपुरको चौधर नदी धार परिवर्तन गर्दै बस्तीमा पसेको छ । हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन् ।
सोमबार बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन् । बेल्डाडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताए ।
“अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन”, उनले भने, “तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठुलो क्षति हुने भय छ ।” बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठुलो क्षति पुगेको छ । बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ । चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन् ।
केही स्थानीयको घरसमेत नदीले बगाएपछि बिचल्ली भएको छ । यता बेल्डाँडी गाउँपालिकामा बाढीले एक हजार पाँच सयभन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए ।
“बाढीले ६ सय परिवारको घरमा भएको अन्न नै बगाएको छ”, अध्यक्ष रानाले भने, “चौधर नदीले बगाएको नहर नबने यहाँ धेरै क्षति हुने त्रास छ ।” यहाँका विस्थापितलाई बेल्डाँडी–२ स्थित मोर्डन केयर बोर्डिङ स्कुलमा राखिएको छ ।
त्यसैगरी, बेलौरीको बाराझाला, भुडा, कानपुर र कलकत्तामा अझै सहज अवस्था भइसकेको छैन । तीन दिनदेखि बेलौरी नगरपालिका–१० भुडाबाट बेलौरी–८ कलकत्तासम्म सडकमा पानी भरिँदा सडक ठप्प छ । बेलौरी नगरपालिका–१० मा चार सय र वडा नं ८ मा एक सय ५० परिवार चौधर नदीमा आएको बाढीबाट प्रभावित भएका छन् ।
बेलौरीका ओमप्रकाश पन्तले तत्काल बस्ती पसेको ठाउँमा मर्मतकार्य नगरिए दुई पालिकाका धेरै वडा थप प्रभावित हुने बताए । उनले भत्किएका संरचना निर्माणमा स्थानीयदेखि सङ्घीय सरकारलाई सहयोगका लागि गुहारेका बताए । तीन वर्षअघि बेल्डाँडी गाउँपालिका–४ गौडी खल्लादेखी–५ मा रहेको भारतीय सीमासम्म तटबन्ध निर्माणका लागि पहल भए पनि सुनुवाइ भएन । सिँचाइ आयोजनाले शिवनगर क्षेत्रमा २०५० सालमा निर्माण गरेको मूल नहर मर्मतसम्भार नहुँदा अहिले समस्या भएको छ ।
त्यसैगरी महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीले बजेट अभावका कारण क्षति भएको नहर मर्मत गर्न नसकिएको बताए । “नहरको अवस्था हेर्दा तत्काल बन्लाजस्तो छैन”, उनले भने, “५० मिटर नहरको भाग नदीले बगाएको छ भने एक सय २० मिटर नहरमा क्षति पुगेको छ ।”
सिँचाइ कार्यालयले २०६५ सालमा पनि नहर भत्किएर बाढी गाउँ पस्दा सो क्षेत्रमा ठुलो क्षति भएको जनाएको छ । बाढीका कारण मूल नहरमा क्षति पुर्याएकाले तीन हजार चार सय बिघा सिञ्चित क्षेत्रमा पानी सञ्चालन गर्न नसकिने भएकाले तत्काल नहर मर्मतका लागि सिँचाइ विभागलगायत निकायसँग सहयोगको आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी नै अपराधी किन बन्छन् ?
-
माओवादी केन्द्रको परामर्श बैठक : मधेस प्रदेशमा ४६ नेताले दिए सुझाव
-
कांग्रेसलाई रविको प्रश्न– सहकारीको पैसा पचाउन नक्कली डिभोर्स ?
-
प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार घोषणा
-
सबैले आफ्नो भूमिका अनुरूप खेल्नेछन् : प्रशिक्षक मोन्टी
-
‘सानो संसार’को ट्रेलर : अभाव, कठिनाइ र संघर्षको कथा