आइतबार, २३ भदौ २०८१
ताजा लोकप्रिय

नेपाली भाषालाई साझा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छ : प्रदेश प्रमुख भट्ट

शनिबार, २९ असार २०८१, २० : २३
शनिबार, २९ असार २०८१

कास्की । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान रहेको बताएका छन् । आदिकवि आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले भानुका कृति सामाज कल्याणका लागि समर्पित, जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न रहेको उल्लेख गरे ।

प्रदेश प्रमुख भट्टले आदिकवि भानुभक्तले छरिएर रहेका नेपाली भाषालाई एकीकरण गरेकाले उनी सदैव स्मरणीय रहेको बताए ।  “नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान छ । उहाँका सृजनाबाट नेपाली भाषाको उन्नयन, प्रवद्र्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ”, उनले भने, “भानुभक्तले वाल्मीकि रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर धेरै जनसङ्ख्यामा पुर्याउन सबैभन्दा बढी योगदान गर्नुभएको छ । साथै नेपाल र विश्वभरका नेपालीभाषी क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन महत्वपूर्ण सेतुको काम गरेकाले हामी उहाँलाई सधैँ सम्मान गरिरहन्छौँ ।”

आजका दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउन र नेपाली भाषाप्रति सम्मान तथा गौरव बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

“आजको दिन उहाँलाई विशेष रूपमा सम्झिरहेका छौँ । यसले पक्कै पनि नयाँ पुस्तालाई भाषा, साहित्यमा रुचि बढाउन सघाउ पुग्नेछ । अब आदिकविसँग जोडिएका विभिन्न ठाउँलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने मेरो विश्वास छ । त्यसैले आफ्नो मातृभाषाको शक्ति एवम् महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता छ”, उनको भनाइ थियो ।  

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषाको विकासमा भानुभक्तको योगदान अतुलनीय भएको बताए । पोखरामा चाँडै नै भानु स्मारक बन्ने  विश्वास व्यक्त गर्दै उनले यस कार्यमा महानगरको सहयोग रहने बताए ।

भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले भानुभक्तले नेपाली भाषा र सहित्यको विकासमा गरेको  योगदानको चर्चा गर्दै पोखराको फूलबारीमा ठूलो प्रयासपछि भानुपार्क निर्माण गरिएको उल्लेख गरे । 


प्रतिष्ठानका अध्यक्ष सरुभक्तको सभापतित्व एवम् सचिव अम्बिकाप्रसाद भट्टराईद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा महानगरपालिका–११ का वडाध्यष प्रेमप्रसाद कर्माचार्य, स्थानीय समाजसेवी निर्मलप्रसाद कर्माचार्यलगायतले भानुको योगदानको प्रशंसा गरे । 

त्यस अवसरमा पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय अध्यापन गराएकी पोखरा महानगरपालिका–२६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई नगदसहित सम्मान गरिएको थियो । 

यस्तै प्रदेश प्रमुख भट्टले भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि व्यक्तिगत रूपमा नगद रु २० हजारको चेक प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान गरेका थिए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले भानु वाङ्मय प्रतिष्ठानका लागि व्यक्तिगत रुपमा रु एक लाख ११ हजार एक सय ११ अक्षयकोष सहयोग गरेका छन् ।  

भानु जयन्तीका अवसरमा पोखराको चिप्लेढुङ्गाबाट महेन्द्रपुल हुँदै भानु पार्क फूलबारीसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा तीनवटै सुरक्षा निकाय, साहित्यप्रेमीलगायतको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप