कर्णालीका अर्थमन्त्री गरिब, राज्यमन्त्रीसँग २० हजारको मोबाइल, ५ हजारको घडी
सुर्खेत । ‘कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण गुपचुप’ शीर्षकमा समाचार प्रकाशित गरेपछि मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार ६ मन्त्री र एक राज्यमन्त्रीमध्ये डोल्पाबाट प्रतिनिधित्व गर्ने सामाजिक विकास मन्त्री वीरबहादुर शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री विनोद कुमार शाह धनी मन्त्री रहेको पाइएको छ ।
उनीहरूसँग ठुला सहरमा घर घडेरीदेखि सुनचाँदी टन्नै छ । तर, अर्थ मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत र भौतिक राज्यमन्त्री गमता विक भने गरिब देखिएका छन् । अर्थ मन्त्री र राज्यमन्त्री गमतासँग बस्ने घर नै छैन ।
- वीरबहादुर शाही, सामाजिक विकास मन्त्री
डोल्पाको जगदुल्ला गाउँपालिका–५, निवासी उनी यति धनी छन्, कि उनको ठुला सहरमा समेत गरी चार वटा त घर मात्रै छन् । गाउँका १०६० वर्ग मिटरमा बनाइएको घर छ, जुन पुर्ख्यौली हो ।
यस्तै बाँकेमा २ वटा घर छन्, एउटा ३७६.५५ वर्ग मिटर क्षेत्रफलमा र अर्को २१ धुरमा बनेको । उक्त घर १० लाखमा जोडेको र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२, मा २५ लाख मूल्य बराबरको अर्को घर रहेको उल्लेख गरेका छन् । यी घरहरू उनले ठेक्कापट्टाबाट जोडेको उल्लेख गरेका छन् । शाही राजनीतिसँगै ठेक्कापट्टामा पनि सक्रिय छन् ।
शाहीकै नामा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा जग्गाजमिन रहेको छ । डोल्पा जगदुल्लाका दुई ठाउँमा ११ घुर, सुर्खेतमा ९ धुर, बाँकेमा २०० धुर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, का दुई ठाउँमा गरी ४०० धुर र डोल्पामै अर्को ४ विगाह जमिन छ ।
४ बिगाह पुर्ख्यौली सम्पत्ति र बाँकी ठेक्कापट्टाबाट नै जोडेको शाहीले उल्लेख गरेका छन् । सुर्खेत र बाँकेको १ करोड ५० लाख बराबर मूल्यमा खरिद गरेको र रुकुम पश्चिमको ६५ लाख रकममा खरिद गरेको उल्लेख गरेका छन्, शाहीले ।
चल सम्पत्ति पनि उनीसँग टन्नै छ । शाहीसँग २९ तोला सुन, ५ तोला चाँदी, मुरा १० तोला रहेको उल्लेख गरेका छन् । मन्त्री शाही र उनकी श्रीमती शिलकुमारी शाहीको नामा ५ लाख रकम मौज्दात रहेको छ । उनको ठेक्का कम्पनी उनकै श्रीमतीको नाममा रहेको र उक्त रकम पनि ठेक्कापट्टाबाट नै कमाएको उल्लेख छ ।
उनको डिविसी कन्स्ट्रक्सन नामको कम्पनी ६० प्रतिशत मन्त्री शाही र ३० प्रतिशत श्रीमतीको नाममा छ । उनीसँग कम्पनी र आफ्नो नाममा ८ लाख मात्र ऋण छ । शाहीसँग २ वटा डोजर, एक ट्याक्टर र अन्य केही सवारी साधन पनि छन् । तर, नाम प्रस्ट खुलाइएको छैन । सबै ठेक्कापट्टाबाट नै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् ।
यस्तै उनीसँग एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, १०० बाख्रा रहेका छन् भने एउटा उद्योग पनि छ । उक्त उद्योगमा एक करोडमा खरिद गरिएको उल्लेख छ ।
- शेरबहादुर बुढा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री
डोल्पाको काइके गाउँपालिका निवासी बुढाको वडा नम्बर २ मा पुर्ख्यौली घर तथा जमिन रहेको उल्लेख गरेका छन् । ००,९४५, ००५५०, ००.२४५, ०,०६२०, ०,००४५, ०३२० र ०,०८० वर्गमिटरको घर तथा घरको चर्चेको जग्गा रहेको उल्लेख गरेका छन् ।
यस्तै उनकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलोभेरी नगरपालिका–३, को दुई वटा ठाउँमा जमिन छ । एक ठाउँमा ०००.४२५ वर्ग मिटर क्षेत्रफल र अर्को ०००.२० वर्ग मिटर क्षेत्रफलमा जमिन रहेको उल्लेख छ । उक्त सम्पत्ति व्यापारबाट जोडेको उल्लेख भए पनि कस्तो व्यापार भन्ने उल्लेख छैन ।
बुढासँग २० तोला सुन, ६० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै श्रीमतीकै नाममा रहेको नेपाल बैँकमा २० लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उक्त रकम पनि व्यापारबाट नै जोडेको उल्लेख छ । तर मन्त्री जस्तो व्यक्ति भएको मान्छेले आफ्नो नाममा भने बैँक खाता नै नभएको उल्लेख गरेका छन् ।
बुढासँग दुईवटा बुलेट बाइक रहेका छन् । एउटा ७ लाख ५० हजार र अर्को ५ लाख ५० हजार मूल्य परेका ती बाइकहरू पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै उनीसँग चार वटा घोडा, ५ गाई, १० भेडाबाख्रा रहेको छन् । ती सबै पुर्ख्यौली सम्पत्ति रहेको बुढाले उल्लेख गरेका छन् । अन्य सम्पत्तिमा १० केजी काँच र २०० केजी तामा रहेको पनि बुढाको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ऋण छैन ।
- विनोद कुमार शाह, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री
ठाटीकाँध गाउँपालिका–१, दैलेख निवासी शाहीको घर काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५, मा ४ आनामा दुई तलाको घर छ । ७५ लाख ऋणमा किनिएको शाहले उल्लेख गरेका छन् ।
उक्त घर उनकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा छ । शाह दम्पती दुवै राजनीतिमा मात्रै संलग्न छन् । श्रीमतीकै नाममा तीन ठाउँमा जमिन छ । भक्तपुरको सूर्य विनायकमा ४८ लाख मूल्य बराबरको ५०८.७४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जमिन छ ।
आठबीस नगरपालिका दैलेखको राकम कर्णालीमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटरको जमिन छ भने आफ्नो गाउँमा ५० रोपनी जमिन छ । भक्तपुर र ठाटीकाँधको जमिन पुर्ख्यौली र राकम कर्णालीको जमिन पारिश्रमिकबाट खरिद गरिएको उल्लेख छ । मन्त्री शाहकी श्रीमती यसअघि जिल्ला समन्वय समिति दैलेखको उपाध्यक्ष थिइन् ।
उनीहरूसँग टन्नै चल सम्पत्ति छ । ६५ तोला सुन, १५ क्यारेट हिराको हार, रुवी सेट २ थान र १५ सय तोला चाँदीका भाँडा रहेको उल्लेख छ । उक्त सम्पत्ति केही पुर्ख्यौली, छोरा र आफ्नो पारिश्रमिक, छोरीले केही उपहार दिएको उल्लेख छ । उनका छोरा र छोरी अस्ट्रेलियामा बस्छन् ।
मन्त्री शाहको नाममा दुई वटा बैँकमा गरी ६० हजार रकम पारिश्रमिकको मौज्दात रकम छ भने एउटा मोबाइल र एउटा ल्यापटप छ । यी सामानहरू पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेका छन् ।
- रणसिं परियार, जलस्रोत तथा ऊर्जा विकास मन्त्री
हुम्ला अदानचुली–१, निवासी परियारसँगै खासै सम्पत्ति छैन । गाउँमा पुर्ख्यौली घर छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली पाखो बारी (जमिन) छ ।
३ तोला सुन, २० तोला चाँदी र ६० हजार रकम मौज्दात रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । नगद तलभत्ता र बाँकी पुर्ख्यौली सम्पत्ति हो ।
दुई वटा बैँकमा गरी ७० हजार रकम मौज्दात छ भने ४ वटा गाई, ७ गोरु र ३० बाख्रा छन् । सबै पुर्ख्यौली नै रहेको उल्लेख छ । ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको पनि परियारले उल्लेख गरेका छन् ।
- दुर्गबहादुर रावत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
कालिकोटको तिलागुफा नगरपालिका–७, निवासी रावतको गाउँमा एउटा घर छ । तर स्रोत भने खुलाइएको छैन । यस्तै तिलागुफामै पुर्ख्यौली ७ वटा ठाउँमा जमिन छ । उनीसँग नगद, सुन, चाँदी केही पनि छैन भने दुई वटा बैँकमा १९ लाख ५० हजार बराबर रकम रहेको उल्लेख छ । त्यसबाहेक उनीसँग केही पनि नरहेको उल्लेख गरेका छन् ।
- गमता विक, भौतिक पूर्वाधार राज्यमन्त्री
आठबिस नगरपालिका–१, दैलेख निवासी विकले घर, जमिन केही नभएको विवरण पेस गरेकी छन् । यद्यपि उनको गाउँमा कच्ची पुर्ख्यौली घर छ । उनले आफ्नो नाममा नभएकाले नराखिएको बताइन् । उनीसँग चार तोला सुन, १० तोला चाँदी छ, जो कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्ति हो । ५ लाख रकम बैँकमा जम्मा छ । उक्त रकम सांसदको तलब भत्ताबाट जम्मा गरिएको उल्लेख छ । यस्तै तीन लाख ऋण रहेको र त्यसमा एक लाख तिरिसकिएको बताएकी छन् । उनीसँग २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी रहेको उल्लेख गरेकी छन् । उक्त सम्पत्ति तलब भत्ताबाट जम्मा गरिएको हो ।
- गरिब अर्थमन्त्री
अर्थमन्त्री महेन्द्र केसी निकै गरिब देखिएका छन् । उनीसँग आफ्नो बस्ने घर छैन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, निवासी केसीको गाउँमा २७५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जमिन छ भने कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ३ कट्ठा ९ धुर जमिन छ । बाँफिकोटको पुर्ख्यौली हो भने कपिलवस्तुको स्रोत खुलाएका छैनन् ।
उनीसँग पनि सुन चाँदी केही छैन । उनी र उनको परिवारको नाममा दुईवटा बैँकमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ । केसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ । त्यस बाहेक उनीसँग केही सम्पत्ति पनि छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब दिएको छैन : महेश बर्तौला
-
चाडपर्वमा समस्या हुन नदिने गरी सडक मर्मतको काम हुँदैछ : मन्त्री दाहाल
-
सुदूरपश्चिमको पोस्टमा फेरि गोलकाे वर्षा
-
प्रहरी नै अपराधी किन बन्छन् ?
-
माओवादी केन्द्रको परामर्श बैठक : मधेस प्रदेशमा ४६ नेताले दिए सुझाव
-
कांग्रेसलाई रविको प्रश्न– सहकारीको पैसा पचाउन नक्कली डिभोर्स ?