बिहीबार, २७ भदौ २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

बिहीबार, ०३ साउन २०८१, ०९ : ००
बिहीबार, ०३ साउन २०८१

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ ।  कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए । 

उनले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युत्को मागअनुसार आपूर्ति गरिएको बताए । यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।  “घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगञ्जमा गर्मीबाट धेरै राहत मिलेको छ”, इन्जिनियर लामिछानेले भने ।

थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लााभावन्वित हुनेछन् । 

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको छ । नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर लामिछानेले ३० थान दुई सय केभीका नयाँ ट्रान्सफर्मर र एक सय केभीका ८० ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको जानकारी दिए ।

हावाहुरीका कारण यसबाहेक ७० किलोमिटरका लागि विद्युत् तार तान्न, विद्युत्को लोड व्यवस्थापनका लागि अन्य मर्मतसम्भारसहितका काममा रु एक करोड ८४ लाख खर्च भएको वितरण केन्द्रले जनाएको छ । 

“आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ”, लामिछानेले भने । विद्युत् लाइनका लागि हावाहुरीले क्षति पुर्याएकामा नयाँ खम्बासमेत गाडिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप