महन्थ ठाकुरलाई महोत्तरी प्यारो, यस कारण महोत्तरीकै नेतालाई बनाउँछन् मन्त्री
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संघमा होस् वा प्रदेश सरकारमा महोत्तरीलाई प्रतिनिधित्व गराउन छुटाउँदैनन् । लोसपाबाट गएका मन्त्रीहरूमध्ये कोही न कोही महोत्तरीका हुन्छन् नै ।
ठाकुरले तमलोपा गठन गरेदेखि नै यो परम्पारालाई कायम राख्दै आएका छन् । तमलोपा, राजपादेखि लोसपासम्म आउँदा उनले महोत्तरीबाट गणेश नेपाल, कोशी देवी झा, शरतसिंह भण्डारी, चन्दा चौधरी, अभिराम शर्मा र रानी शर्मालाई मन्त्री बनाएका छन् ।
सर्लाहीबाट चुनाव जित्न नसकेपछि महन्थ ठाकुर आफ्नो गृह जिल्ला महोत्तरी सरेका थिए । २०७४ देखि उनी महोत्तरीबाट चुनाव जित्दै आएका छन् । सर्लाहीमा हारेका महन्थ ठाकुरलाई महोत्तरीका जनताले जिताउन थालेसँगै महोत्तरीप्रति उनको मोह पनि बढेको छ ।
महन्थ ठाकुरको जन्मघर महोत्तरी भए पनि कर्मघर सर्लाही हो । उनले सर्लाहीबाटै राजनीति गर्नुका साथै वकालत पेसा पनि अघि बढाएका थिए । तर सर्लाहीले चुनावमा साथ नदिएपछि उनी महोत्तरी फर्के । महोत्तरीमा चुनाव जितेपछि महन्थले आफ्नो पूरै शक्ति महोत्तरीमै केन्द्रित गरे ।
सानोतिनो भए पनि मधेसका हरेक जिल्लामा उनको पार्टीको संगठन छ । तर महोत्तरीबाहेक प्रायः अन्य जिल्लामा उनी जाँदैनन् ।
सरकारबाट होस् या कुनै सामाजिक संस्थाबाट हुने कार्यक्रम तथा विकासका योजनाहरू अध्यक्ष ठाकुरले आफ्नै क्षेत्रमा लैजाने गरेका छन् । त्यसैले उनको पार्टीमा बेलाबेलामा ‘महन्थ ठाकुर महोत्तरीका मात्र पार्टी अध्यक्ष हुन् कि पूरै देशको’ भनेर टिप्पणी पनि हुने गरेको छ ।
लोसपाको संगठन देशभरिमा सबैभन्दा राम्रो महोत्तरीमै छ । महोत्तरीको १५ वटा पालिकामध्ये पाँच वटा पालिका लोसपाले जितेको छ । प्रदेश सभामा लोसपाका नौ जना सांसद छन् । त्यसमध्ये पाँच जना महोत्तरीकै छन् । त्यसमा पनि तीन जना प्रत्यक्ष चुनाव जितेर आएका हुन् भने दुई जना समानुपातिकबाट आएका छन् ।
चार जना संघीय सांसदमध्ये दुई जना (महन्थ ठाकुर र शरतसिंह भण्डारी)ले महोत्तरीबाट नै चुनाव जितेका हुन् । त्यही भएर महन्थ ठाकुरले महोत्तरीलाई यति माया गरेको नेताहरू बताउँछन् ।
आफ्नो क्षेत्र सुरक्षित राख्नका लागि उनले महोत्तरीबाट मन्त्री र सांसद चयन गर्ने गरेको सो पार्टीका नेता बताउँछन् । महन्थ ठाकुरले जितेको क्षेत्रबाट रानी शर्मा र अभिराम शर्मा मधेस प्रदेशको प्रदेश सभामा निर्वाचित भएका हुन् ।
दुवै जनालाई अध्यक्ष ठाकुरले मन्त्री बनाइसकेका छन् । अभिराम शर्मालाई मधेस प्रदेश सभामा लोसपा संसदीय दलको नेता बनाइएको थियो । तर थमन विक हत्याकाण्डमा मुछिएका उनी हाल प्रदेश सभाबाट निलम्बनमा परेका छन् ।
बिहीबारमात्र अध्यक्ष ठाकुरले रानी शर्मालाई मधेस प्रदेश सरकारको मन्त्री बनाएका छन् । त्यसले गर्दा अन्य जिल्लाका सांसदमा असन्तुष्टि देखिएको छ ।
हालै संघीय सरकारमा लोसपाबाट मन्त्री पठाएका शरतसिंह भण्डारी पनि महोत्तरीका हुन् । उनी क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन् । महन्थ ठाकुर र शरतसिंह भण्डारीको निर्वाचन क्षेत्र टाँसिएकाले पनि भण्डारीलाई मन्त्री बनाउँदा ठाकुरलाई पनि फाइदा भइरहेको हुन्छ ।
शरतसिंह भण्डारीको गतिविधि आफ्नो क्षेत्रभन्दा बढी अध्यक्ष ठाकुर क्षेत्रमा भइरहेको हुन्छ । त्यही भएर पार्टीमा विवाद भए पनि भण्डारीलाई पटकपटक मन्त्री बनाउने गरेको सो पार्टीका नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी प्रकरण : रिसेप्सनिस्टको २६ करोडको बैंकिङ कारोबार
-
पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने
-
१० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङलाई सरकारको मान्यता
-
भारत–अस्ट्रेलिया दोस्रो टेस्ट क्रिकेट : हेजलउडपछि स्मिथ पनि घाइते
-
काठमाडौँसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक