शनिबार, ०५ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

‘संसद् फेस’ गर्दै मुख्यमन्त्री जम्कट्टेल, सत्ता विमुख निश्चित

शनिबार, ०५ साउन २०८१, २० : ४०
शनिबार, ०५ साउन २०८१

हेटौँडा । सत्ता विमुख हुने निश्चित रहेका बखत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संसद् फेस गर्दैछन् । अंक गणितीय रूपमा सत्ता उनको पक्षभन्दा बाहिर गइसकेका बखत साउन ६ गते (भोलि) संसदबाट विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने भएका हुन् । सोहीअनुसार शनिवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ पेस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रक्रियागत रूपमा संसदबाट विश्वासको मत लिने प्रस्ताव पेस गरेसँगै सो उपर छलफल हुने संसद्को कार्यसूची निर्धारण गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसउपर प्रदेशसभाका दलहरूले दलगत रूपमा छलफलमा भाग लिने उनले बताए । दलगत रूपमा संसदीय दलका नेताले धारणा राखेपछि मुख्यमन्त्रीले जवाफ पेस गर्ने र सो पश्चात् प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने उनको भनाई छ ।

मत विभाजनसहित मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो गरिने उनले बताए ।

गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति बनेसँगै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको थियो । केन्द्रीय तहको समीकरण अनुसार प्रदेश सरकारबाट तत्कालीन साझेदार दल नेकपा एमालेले असार २४ मा सरकारको समर्थन फिर्ता लिएको थियो भने ५ मन्त्रीको सामूहिक राजीनामा समेत गराएको थियो ।

असार २४ गतेदेखि अल्पमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री जम्कट्टेलले आगामी साउन २२ गते भित्र संसद्बाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । जसअनुसार मुख्यमन्त्री जम्कट्टेलले आइतबार मत विभाजनसहित विश्वासको मत लिने तयारी गरेका हुन् ।

कांग्रेस र एमालेले विपक्षमा मतदान गर्ने

नयाँ समीकरणअनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन् । केन्द्रीय सहमतिअनुसार एमालेसँगका सहकार्यमा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी अघि बढेका दुवै दलले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने भएका हुन् ।

शुक्रबार काठमाडौँमा बसेको एमाले कांग्रेसको संयुक्त बैठकले बसेर ३ बुँदे सहमति गरेर मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । उक्त बैठकले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशनसहित विपक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

बैठकले प्रदेशसभाका अन्य दलहरूलाई मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न आग्रह गर्ने निर्णय गरेको छ भने दुई दलको सहकार्यमा सरकार निर्माण गरी प्रदेशको समृद्धि र राजनैतिक स्थायित्वको अनुभूति प्रदान गर्न न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सोहीअनुसार मुख्यमन्त्री जम्कट्टेललाई एमालेले विश्वासको मत नदिने निर्णय गरेको छ । शनिवार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मत गर्ने निर्णय गरेको हो ।

एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको हो । प्रदेशसभामा एमालेका २७ सांसद रहेका छन् ।

त्यसअघि नै शुक्रबार नै बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विपक्षीमा मतदान गर्न निर्णय गरेको थियो । प्रदेशसभामा कांग्रेसको ३७ सांसद रहेका छन् ।

राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपा र नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको थियो । प्रदेशसभा राप्रपाको १३ जना सदस्यहरू रहेका छन् ।

प्रदेशसभाको सशक्त प्रतिपक्षको रूपमा छवि बनाएको नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । विगतदेखि नै प्रतिपक्षमा रहँदै आएको सो दलले यसपटक पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नलिने निर्णय गरेको हो । प्रदेशसभामा एकीकृत समाजवादीको ३ सांसद छन् ।

मुख्यमन्त्रीको पक्षमा २९ मत 

मुख्यमन्त्री जम्कट्टेलको पक्षमा २९ मत प्राप्त हुने देखिन्छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र साझेदार दल एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी समेतको गरी २९ मत प्राप्त हुने देखिन्छ ।

एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मतदान गर्ने निश्चित भएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मत दिने तयारी रहेको छ । प्रदेशसभामा सो दलको ७ सांसद रहेका छन् ।

यता हाम्रो नेपाली पार्टीको २ मध्ये एक सांसदले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मतदान गर्ने भएका छन् । सो दलको एक सांसद भने विश्वासको मतबारे निर्णय हुन सकेको छैन ।

सो दलका जम्कट्टेल नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेका शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा मत दिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको पार्टी माओवादी केन्द्रका २१ सांसद उनको प्रस्तावको पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप