कीर्तिमानहरू तोडिएको खेलमा भारतको सहज जित
दम्बुला । महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको समूह ए अन्तरगतको खेलमा भारत ७८ रनले विजयी बनेको हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो ।
भारतले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय २३ रन बनाउन सक्यो ।
यूएईका लागि काभिसा एगोडेजले नटआउट रहँदै सर्वाधिक ४० रन जोडिन् । उनले मात्र ३२ बलमा ३ चौका र १ छक्का हिर्काइन् ।
त्यस्तै, ओपनर इशा ओजाले ३६ बलमा ३८ रनको योगदान दिइन् । खुसी शर्माले १३ बलमा १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
भारतका लागि दीप्ति शर्माले २ तथा रेनुका सिंह, तनुजा कँवर, पूजा भस्त्राकर र राधा यादवले १–१ विकेट हासिल गरे ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । महिला एसिया कपमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो । यसअघि सन् २०२२ मा भारतले मलेसियाविरुद्ध ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । प्रतियोगिताको इतिहासमा सबैभन्दा ठुला ७ स्कोरमध्ये ६ वटा भारतको नाममा रहेको छ ।
टी–२० अन्तर्राष्ट्रियमा भारतीय महिला टोलीले बनाएको यो सर्वाधिक ठुलो स्कोर पनि हो । यसअघि टोलीले सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो ।
टोलीका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ६६ रन बनाइन् । उनले ४७ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरिन् । प्रतियोगितामा कुनै पनि कप्तानले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो ।
उनले रिचा घोषसँग मिलेर पाँचौँ विकेटका लागि ७५ रन जोडिन् । यो पनि महिला एसिया कपका लागि नयाँ रेकर्ड हो ।
घोषले मात्र २९ बलमा ६४ रन बनाइन् । उनले यस क्रममा १२ चौका र १ छक्का प्रहार गरिन् । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि भारतीय महिला विकेटकिपरले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो ।
त्यस्तै, ओपनर सेफाली वर्माले १८ बलमा ३७ रन बनाइन् । उनले ५ चौका र १ छक्का प्रहार गरिन् । यूएईका लागि काभिसा एगोडेजले २ तथा समाइरा धारनिधारका र हिना हटचन्दनीले १–१ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिरहेको विमानमा यात्रुले खानामा जिउँदो मुसा भेटेपछि आकस्मिक अवतरण
-
तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने
-
तल्लो सेती जलविद्युत् : ईआईएउपर प्राप्त सुझाव विभाग र एडीबीमा बुझाइयो
-
५२ प्रतिशतले बढ्यो चिया निर्यात
-
गैरआवासीय नेपालीद्वारा कतारमा रक्तदान
-
सुनवलमा डेढ करोडभन्दा बढी लगानीमा बनेको पशु अस्पताल अलपत्र