नेपाली टोली पाकिस्तानसँग पराजित, सेमिफाइनल यात्रा रोचक मोडमा
काठमाडौँ । श्रीलङ्कामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आइतबार नेपाली टोली पराजित भएको छ । टेस्ट राष्ट्र पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ११.५ ओभरमा एक विकेट गुमाएर एक सय १० रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
उक्त नतिजासँगै अघिल्लो चरण प्रदेशको होड पनि रोचक बनेको छ । समूह ‘ए’ मा रहेका चारवटै टोलीले दुई–दुई खेलिसकेका छन् । भारत चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई र दोस्रो खेलमा युएईलाई हराएको हो ।
पाकिस्तान दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । पाकिस्तान आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी भारतसँग पराजित भएको थियो । नेपाल दुई अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा युएईलाई पराजित गरेको थियो ।
समूहगत चरणको अन्तिम खेलले अब सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लगाउने छ । समूहगत चरणको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र भारतको र पाकिस्तानले युएईको सामना गर्नेछ । प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । समूह ‘बी’ मा भने थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र मलेसिया रहेका छन् । उक्त समूहमा चारवटै टोलीले एक–एक खेल खेलेका छन् । दुई अङ्कसहित थाइल्यान्ड पहिलो र समान अंक जोडेको श्रीलङ्का दोस्रो स्थानमा छन् ।
आइतबारको खेलमा नेपालका लागि ओपनर सीता रानामगरले २६ रनको योगदान गरिन् । उनले ३० बलमा तीन चौका पनि प्रहार गरिन् । पूजा महतोले २५ रन बनाइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ३२ बलमा तीन चौका हिर्काइन् ।
कविता जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । उनले २३ बलमा एक छक्का र चार चौका हिर्काइन् । कविता कुँवरले १३ रन बनाइन् । पाकिस्तानकी बलर सादिया इक्वालले दुई विकेट लिइन् ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानका लागि ओपनर गुल फेरोजाले ५७ रनको योगदान गरिन् । उनले केवल ३५ बलमा १० चौका पनि प्रहार गरिन् । अर्की ओपनर मुनिबा अलीले ४६ रन बनाइन् । विकेटकिपर समेत रहेकी उनले ३४ बलमा आठ चौका प्रहार गरिन् । नेपाली बलर कविता जोशीले एक विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण तेस्रो प्रवेशमार्गका स्थानीयले एक वर्षसम्म पनि पाएनन् मुआब्जा
-
बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति
-
नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाका मेजर जनरल
-
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
-
सीपमूलक शिक्षा दिन सके मात्र युवालाई स्वदेशमा रोक्न सकिन्छ : मुख्यमन्त्री पाण्डे
-
हरियाणामा खस्यो ६१ प्रतिशत मत, यस्तो छ एक्जिट पोलको परिणाम