आइतबार, २३ भदौ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सत्ता राजनीति

लीला गिरीको नाममा ‘टिपेक्स’ लगाएर मुख्यमन्त्रीका लागि लेखिएको थियो आचार्यको नाम

सोमबार, ०७ साउन २०८१, १९ : ३४
सोमबार, ०७ साउन २०८१

बुटवल । नेपाली कांग्रेस र एमालेबिच केन्द्रमा भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले पाउने भएसँगै एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्नेमा ढुक्क थिए । सोही आधारमा सोमबार बिहान मुख्यमन्त्रीको दाबी पेस गर्न उनी प्रदेश प्रमुख अमिक शेरचनकहाँ जान तयारी अवस्थामा बसेका थिए ।

अचानक सोमबार बिहान एमालेको शीर्ष नेतृत्व तहबाट लुम्बिनीको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारिएपछि गिरी ‘रिङ आउट’ भए ।

लुम्बिनी प्रदेशमा एमालेभित्र विद्यमान गुटबन्दीकै परिणामस्वरुप गिरीलाई पन्छाएर आचार्यलाई मुख्यमन्त्री बनाइएको चर्चा छ । पार्टीको केन्द्रले दिएको निर्देशन अनुसार आचार्यले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

लुम्बिनी प्रदेशमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबिच गुटबन्दी छ । गिरी उपाध्यक्ष पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव पोखरेल निकट हुन् ।

मुख्यमन्त्री बनाउने सवालमा महासचिव पोखरेल हाबी भएको देखिन्छ । पोखरेल लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।

लुम्बिनीमा पौडेल र पोखरेल गुटबिच प्रदेशको राजधानी चयन गर्ने विषयमा पनि शक्ति सङ्घर्ष चर्किएको थियो । पौडेल बुटवललाई नै राजधानी बनाउने पक्षमा थिए भने पोखरेलले आफ्नो गृहजिल्ला दाङलाई राजधानी बनाउनुपर्ने अडान लिए । राजधानी तोक्ने विषयमा पनि पोखरेलले नै बाजी मारे ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा भने पौडेलले बाजी मारेका थिए । प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भए । उनलाई विष्णु पौडेल र एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता लीला गिरीको समेत समर्थन थियो । कँडेलले झिनो मतले हरि रिजाललाई पराजित गरे, जो शंकर पोखरेल पक्षधर थिए ।

मुख्यमन्त्री नियुक्त भएका आचार्यले संसदीय दलको नेता गिरी नै रहे पनि सरकारको नेतृत्व गर्ने जिम्मेवारी आफूले पाएको बताए । उनले यसबाट पार्टीको आन्तरिक शक्ति सन्तुलन नखल्बलिएको दाबीसमेत गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले केन्द्रमा भएको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व एमाले संसदीय दलका उपनेता आचार्यले गर्ने भनिएपछि कांग्रेसका सांसदहरूको हस्ताक्षरसमेत पठाएर मुख्यमन्त्रीमा दाबी पेस गरिएको जानकारी दिए । प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भन्ने सहमति भएकाले मुख्यमन्त्रीमा एमालेले जसलाई पठाए पनि आफूहरूका लागि केही फरक नपर्ने उनको भनाइ थियो ।

नवनियुक्त मुख्यमन्त्री आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री र माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(१) बाट दोस्रो पटक निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुन् ।

एमाले संसदीय दलका नेता लीला गिरीले पार्टीको पछिल्लो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले यो निर्णयले एमाले संसदीय मूल्य मान्यता विपरीत गएको महसुस भएको बताउँदै पार्टी विधिअनुसार नचलेको बताए ।

t

यसरी लाग्यो गिरीको नाममा ‘टिपेक्स’

लीला गिरीलाई एमालेको तर्फबाट मुख्यमन्त्री बनाउने पत्र तयार हुँदै गर्दा केन्द्रको निर्देशनमा उनको नाममा ‘टिपेक्स’ लगाएर चेतनारायण आचार्यको नाम लेखिएको पाइएको छ । लीला गिरीको नाममा दाबी पेस गर्न जाने गरी एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पत्र तयार गरिसकेका थिए ।

तर त्यही बेला पार्टी महासचिव शंकर पोखरेलको फोन आएपछि गिरीको नाममा टिपेक्स लगाएर चेतनारायण आचार्यको नाम लेखिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप