शनिबार, ०५ असोज २०८१
ताजा लोकप्रिय
कोशीमा बढ्दै अपराध

तीन वर्षमा २६ हजार १७३ मुद्दा दर्ता, आत्महत्याको अवस्था डरलाग्दो

मङ्गलबार, ०८ साउन २०८१, २० : ४५
मङ्गलबार, ०८ साउन २०८१

विराटनगर । कोशी प्रदेशमा अपराधका घटना बर्सेनि बढ्दो अवस्थामा देखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको तथ्याङ्कमा प्रत्येक वर्ष अपराधका शृङ्खला बढ्दो देखिएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सामाजिक अपराध, आत्महत्या, लागुऔषध, बैंकिङ कसुर, चोरी तथा डाँका, जबरजस्ती करणी, ठगी, जबरजस्ती करणी उद्योग, किर्ते सम्बन्धी, साइबर अपराध र मानव बेचबिखन गरी प्रहरीमा तीन वर्षमा २६ हजार ३७१ वटा मुद्दा दर्ता भएको छ ।

तीमध्ये आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । कोशी प्रदेश मातहतका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ६२ वटा मुद्दा दर्ता भएको छ भने २०७९/०८० मा ८ हजार ७२४, आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ३८७ वटा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए ।

दर्ता भएकामध्ये तीन वर्षमा सबैभन्दा बढी आत्महत्या सम्बन्धी छन् । तीन वर्षमा ४ हजार ५८४ वटा आत्महत्याको घटना प्रहरीमा दर्ता भएको अभिलेखमा देखिन्छ । आत्महत्या आर्थिक वर्ष २०७८/०७९ मा १ हाजर ४८२ वटा दर्ता भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १ हजार ५४८ वटा यस्ता मुद्दा दर्ता भएको प्रदेश प्रहरीले जनाएको छ । ०८०/०८१ मा  १ हजार ५५४ वटा आत्महत्याको मुद्दा दर्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

घटनाको सुक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर–किशोरी र युवाले आत्महत्याको बाटो रोजेको देखिएको जनाएको छ । असफलता, बेरोजगार, गरिबी, नकारात्मक सोच, लागुऔषध दुर्व्यसन, अत्यधिक मदिरा सेवन, मानसिक रोगी, पारिवारिक बेमेल, असफल प्रेम, परपुरुष÷महिलाबिच विवाहेत्तर सम्बन्धलगायत कारणबाट आत्महत्या गरेको पाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दाहालले बताए ।

cirme

यस्तै डिप्रेसन, कडा खाले मनोरोग, अवैध गर्भ धारण, छुवाछुत, सामाजिक सञ्जालको दुरुपयोग, कम गुणस्तरको जीवन शैली, अभिभावकले बालबालिकालाई उचित समय नदिनु र अन्य कारणले पनि आत्महत्या हुने गरेको उनको भनाइ छ । 

त्यसैगरी तीन वर्षमा सामाजिक अपराध ४ हजार ५९१ वटा दर्ता भएको छ । त्यस्तै लागुऔषध २ हजार ६०८, बैंकिङ कसुरमा २ हजार ९९, चोरी डाँका मुद्दा २ हजार १६०, जबरजस्ती करणीमा १ हजार ५९१ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी कर्तव्य ज्यान मुद्दा तीन वर्षमा ३ सय ३२ वटा दर्ता भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी चन्द्रकुवेर खापुङका अनुसार बढ्दो जनसङ्ख्यासँगै अपराध पनि बढेको देखिएको छ । ‘मानिसहरूका महत्त्वाकांक्षा बढ्दै जान्छन्, सहजै पैसा कमाउने झोक चल्छ, अनि विभिन्न खालका आपराधिक बाटो समाएर अघि बढ्नेहरूका कारण आपराधिक घटना बढेका हुन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप