भारत र पाकिस्तान सेमिफाइनलमा, नेपाल घर फर्किने
काठमाडौँ । भारत र पाकिस्तान श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राति सम्पन्न खेलमा नेपाली टोलीलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै मंगलबार नै संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै पाकिस्तान पनि सेमिफाइनलमा प्रवेश गरेको हो ।
बलियो टेस्ट राष्ट्र भारतले नेपाललाई ८२ रनले पराजित गरेको हो । उक्त नतिजासँगै नेपालको एसिया कप यात्रा समूहगत चरणमै टुंगिएको छ । महिला एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यो संस्करण तुलनात्मक रुपमा नेपालका लागि केही उपलब्धिमुलक रह्यो । यसअघि आफूले सहभागिता जनाएको दुई संस्करणमा नेपाली टोलीले एक खेल पनि जित्न सकेको थिएन ।
यो संस्करणमा भने नेपालले एक खेलमा जित हात पा-यो । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । समूह ‘बी’ मा रहेको नेपाली टोली दुई अंकसहित तालिकामा तेस्रो भयो ।
तीनवटै खेलमा पराजित भएको यूएई तालिकाको चौथो स्थानमा रह्यो । लगतार तीन खेलमा जित हात पार्दै भारत ६ अंकसहित समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको पाकिस्तान चार अंकसहित दोस्रो हुँदै सेमिफाइनलमा पुग्यो ।
मंगलबार नेपाल विरुद्धको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर सीता रानामगरले १८ रन बनाइन् । उनले २२ बलमा तीन चौका पनि प्रहार गरिन् । रुविना क्षेत्रीले १५ रन जोडिन् । उनले १६ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् । कप्तान इन्दू बर्माले १४ रन बनाइन् । उनले १८ बलमा दुई चौका हिर्काइन् ।
ओपनर सम्झना खड्काले सात रन बनाइन् । कविता कुँवरले ६ रन बटुलिन् । डली भट्टले पाँच रन बनाइन् । काजोल श्रेष्ठ तीन रनमा पेभेलियन फर्किइन् । पूजा महतो दुई रन बनाउँदै आउट भइन् । कविता जोशी खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् । बिन्दू रावल १७ रनमा अविजित रहिन् । उनले १९ बलमा दुई चौका हिर्काइन् ।
सबनम राई एक रनमा अविजित रहिन् । भारतीय टोलीकी बलर दिप्ती शर्माले तीन विकेट लिइन् । अरुनधती रेड्डीले दुई विकेट हात पारिन् । राधा यादबले पनि दुई विकेट लिइन् । रेणुका सिंहले एक विकेट बटुलिन् ।
त्यसअघि भारतका लागि ओपनर सफाली बर्माले ८१ रनको योगदान गरेकी थिइन् । उनले केवल ४८ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काइन् । अर्की ओपनर दयालन हेमालथाले पनि टोलीका लागि ४७ रनको योगदान गरिन् ।
उनले ४२ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । सफाली र दयालनले ओपनिङ विकेटका लागि एक सय २२ रनको साझेदारी गरे । यी दुबै ओपनर ब्याट्र १४ ओभरसम्म क्रिजमा टिकेका थिए ।
दयालनलाई नेपाली टोलीकी अनुभवी बलर सीता रानामगरले रुबिना क्षेत्रीद्वारा क्याच गराएकी थिइन् । अर्की ओपनर सफालीको विकेट पनि सीताले नै लिएकी थिइन् । उनले सफालीलाई विकेटकिपर काजोल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् ।
भारतको तेस्रो विकेट भने कविता जोशीले लिएकी थिइन् । उनले तेस्रो नम्बरमा क्रिज समाल्न आएकी भारतीय ब्याट्र सञ्जिवन सजनालाई १० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएकी हुन् । उनले सजनालाई एलबीडब्लूको धरापमा पारेकी थिइन् ।
यसैबीच मंगलबारको अर्को खेलमा टस हारी पाकिस्तानविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने १४.१ ओभरमा कुनै पनि विकेट नगुमाई एक सय सात रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
पाकिस्तानको जितमा गुल फिरोजाले अर्धशतकीय योगदान गरिन् । उनले अविजित ६२ रन बनाइन् । उनले ५५ बलको सामना गरी आठ चौका पनि हिर्काइन् । अर्की ओपनर मुनिबा अलीले पनि अविजित ३७ रनको योगदान गरिन् । उनले ३० बलको सामना गरी चार चौका पनि हिर्काइन् ।
त्यसअघि पहिलो ब्याटिङ गरेको यूएईका लागि ओपनर थिरथा सतिषले सर्वाधिक ४० रन बनाएकी थिइन् । उनले ३६ बलमा पाँच चौका पनि प्रहार गरिन् । कप्तानसमेत रहेकी अर्की ओपनर एसा ओजाले १६ रन जोडिन् ।
खुसी शर्माले टोलीको खातामा १२ रन थपिन् । यूएईका अन्य ब्याट्सले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानी टोलीका बलर सादिया इक्वाल, नासरा सन्धु र तुबा हसनले दुई–दुई विकेट लिएका थिए ।