सोमबार, २४ भदौ २०८१
ताजा लोकप्रिय

हैजाबाट बच्न, पानी र खानेपानीको शुद्धतामा ख्याल गर्न आग्रह

बुधबार, ०९ साउन २०८१, १३ : ४८
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण खानेकुरा दूषित हुने उत्तिकै सम्भावना छ । यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको हो । 

हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएका छन् । यस क्रममा वडा नं. ११ ले सामाजिक अगुवा, विद्यालयका शिक्षक शिक्षिका, टोल सुधार समिति तथा उपभोक्ता समिति, क्लबसहितका संस्थाबाट प्रतिनिधि बोलाएर हैजा नियन्त्रणका लागि तालिम सञ्चालन गरेको छ । 

जनस्वास्थ्य तथा वातावरण संस्था (इन्फो) सँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा पानीका स्रोत दूषित हुने कारण, दूषित बस्तुसँग मानिसहरूका सम्बन्ध र स्वच्छताका विषयमा प्रस्तुतीकरण र छलफल गरिएको थियो । तालिममा वडाका कार्यवाहक अध्यक्ष दीपेश राउतले, गएको वर्षहरूमा व्यहोरेको समस्या यो वर्ष व्यहोर्नु नपरोस् भनेर तालिम आयोजना गरिएको बताए । 

यस्तै वडा सदस्य सरोज मुल्मीले, आवश्यकताका आधारमा हैजाजन्य विपद् व्यवस्थापनको तयारी गरिएको जानकारी दिए ।  यस्तै वडा सदस्य आशा श्रेष्ठ रौनियारले, शङ्का लागेको पानी जाँच गर्ने प्रणाली वडा स्तरमा उपलब्ध गराउन प्रयास हुने बताइन् । 

वरिष्ठ जनस्वास्थ्य अधिकृत न:ली बज्राचार्यका अनुसार अहिलेसम्म हैजाका बिरामी भेटिएको छैन । गएको वर्ष भने विभिन्न ठाउँमा बिरामी भेटिएका थिए । ललितपुरमा भने एक जनामा पुष्टि भएको छ । 

हैजाबाट बच्ने सहज उपाय भनेको, पानी तताएर शुद्धीकरण गर्नु हो । लक्षण तथा उपचारका विषयमा जानकारी लिनुपरे महानगरले सञ्चालन गरेको ११८० नम्बरमा फोन गरेर परामर्श लिन सकिने व्यवस्था मिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप