आइतबार, २३ भदौ २०८१
ताजा लोकप्रिय

रुग्ण आयोजनाको अध्ययन गर्ने भौतिक मन्त्री मास्केको निर्णय

बुधबार, ०९ साउन २०८१, २१ : ४५
बुधबार, ०९ साउन २०८१

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले रुग्ण आयोजनाहरूको अध्ययन गर्ने निर्णय गरेका छन् । बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका मास्केले पदभार ग्रहण गर्दै रुग्ण आयोजनाको अध्ययन गर्ने निर्णय गरेका हुन् ।

उनले रुग्ण हुनुको वास्तविक कारण तथा व्यवस्थापनका लागि सुझाव सहित १५ दिन भित्र प्रतिवेदन पेस गर्ने निर्णय गरे । मन्त्री मास्केले मन्त्रालय अन्तर्गत आयोजना निर्देशनालय तथा कार्यालय मार्फत सञ्चालन भएका आयोजनाहरू तोकिएबमोजिम समयावधिमा सम्पन्न नभई अपेक्षित प्रतिफल प्राप्त गर्न ढिलाइ भइरहेको सन्दर्भमा अध्ययन गर्ने बताए । 

त्यस्ता आयोजनाहरूको पहिचान गरी, कार्यान्वयनमा भएका ढिलासुस्तीको वास्तविक कारण पहिल्याई, यथोचित कारबाही अगाडि बढाई रुग्ण आयोजनाहरूको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाई छ । यसका लागि यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । उक्त समितिको सदस्यमा महाशाखा प्रमुखहरू चन्द्रकाजी गुरुङ र चन्द्रदेव भट्ट रहेका छन् ।

मन्त्रालयमा भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो अभियान रहेको उनले बताए । बजेट सही तरिकाले कार्यान्वयन गर्न कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने भन्दै इमानदार भएर लाग्न आग्रह गरे । प्रदेश निर्वाचन क्षेत्रमा सम्बन्धित सांसदलाई उत्तरदायित्व  बहन गर्ने गरी कार्यक्रम बनाउनुपर्ने पनि उनको भनाई छ । मन्त्रालयका गतिविधि सम्पादन गर्न निरन्तर छलफल गर्ने उनले बताए । कर्मचारीको वृत्ति विकासको लागि सहजीकरण गर्ने मन्त्री मास्केले बताए ।

‘सेतो लुगा लगाएका छौँ, त्यसमा दाग लगाउने काम नगरौँ, अरूको कारण पनि बाछिटा आउन सक्छ त्यसबाट पनि बच्न पर्छ,’ उनले भने, ‘महत्त्वपूर्ण मन्त्रालय भएकोले अब्बल हुने गरी सबैको समन्वयमा काम गर्नपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप