कुलुङले खनेको ‘कुलो’, अरुका लागि ‘काँडा !’
‘कुलुङले कुलो खन्यो,
थुलुङले थुन्यो ।
सोताङले सोध्यो,
खालिङले खोल्यो ।’
माथिको भनाइ सन् २००६ मा प्रकाशित ‘जनजाति सेरोफेरो’ नामक आफ्नो किताबमा डा. हर्क गुरुङले उद्धृत गरेका छन् । जुन भनाइ गुरुङले लेखेको ‘भिग्नेट्स् अफ नेपाल’ नामक अंग्रेजी किताबमा पनि उल्लेख छ । त्यस्तै गरेर ‘विषय विविध’ र ‘जनजाति सेरोफेरो’ नामक किताबमा पनि माथिको लोकगीतलाई उल्लेख गरिएको छ ।
खासगरी ‘जनजाति सेरोफेरो’ नामक किताबको दोस्रो संस्करणमा संकलित २६ वटा लेखमध्ये अन्तिम अर्थात् २६औँ लेखको ‘आदिवासी जनजाति सूचीकरण ः अवधारणा र अनुभव’ शीर्षकको पाना १९६ मा माथिको भनाइलाई पुनः उद्धरण गरिएको छ । जुन लोकगीतलाई डा. हर्क गुरुङले पूर्वमा रहेको उखान भनी प्रस्ट्याउँदै उल्लेख गरेका हुन् ।
हुन पनि २०६८ को जनगणना अनुसार नेपालमा १२५ जातजाति र १२३ भाषाभाषी थिए । २०७८ को जनगणनाअनुसार १४० जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति, भाषाभाषी र धार्मिक समूहको साझा फूलबारी हो भन्नुपर्ने हुन्छ । भलै राज्यले त्यहीअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो ।
२०६८ को जनगणनामा उल्लेख भएका १२५ जातजाति र १२३ भाषाभाषी एवं २०७८ को जनगणनामा आएका १४० जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहमध्ये एक हो– ‘कुलुङ जाति ।’ त्यसअघि कुलुङ जातिलाई कथित राई जातिमा गाभिएको थियो, गाभ्ने गरिन्थ्यो ।
कुलुङ जातिको अरु जातिका भन्दा भिन्न प्रकारका संस्कार–संस्कृति रहेका छन् । जन्मदेखि मृत्युसम्म आफ्नै जातिका पुर्खाले मुख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युसंस्कार गर्दा मृतकको आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाउँमा पठाउनुपर्छ ।
त्यसो त अझै पनि नेपाल सरकारको मातहतमा रहेको र आधिकारिक मानिएको र तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन ।
यसो हुनुमा ‘राई’ के हो ? कुलुङ के हो वा को हो ? भन्नेबारे वास्तविक कुरा बाहिर नआएकाले पनि हो । राई थर जाति नभएर विगतमा खासगरी नेपालको भौगोलिक एकीकरणपछि शासकले दिएको पगरी वा पदवी मात्रै हो भन्नेबारे सर्वसाधारणमाझ पनि पछिल्लो समय प्रस्ट हँुदै गएको छ । जेहोस्, कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरूको ऐतिहासिक थलो भूमि छ वा छैन ? कुलुङहरू अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो वा होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? इत्यादिबारे छोटकरीमा जान्ने प्रयास गरौँ !
नेपालको हालसम्मको जातीय बनोटका आधारमा उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जाति मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थर हुन्छन्, त्यसरी नै कुलुङ भनेको पनि बाहुन भनेजस्तै जात हो भने कुलुङको पनि बाहुनभित्र विभिन्न थरहरू छन्, त्यसरी नै कुलुङभित्र पनि थर वा उपथरहरू छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु लगायत २६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर वा उपथरहरू रहेको छ ।
कुलुङ जातिको मूलथलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थान (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरू आफ्नो मातृभाषामा ‘मा कूलू’ भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरू र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङको बाक्लो बसोबास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक सङ्खुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जिलिङ, सिक्किम लगायत ठाउँमा छ ।
नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २३ वा २४ जिल्लामा कुलुङ बस्ती रहेको छ ।
२०६८ को जनगणनाअनुसार कुलुङहरूको जनसंख्या २८ हजार ६३१ भए पनि २०७८ को जनगणनामा कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ पुगेको छ । यस्तै, कुलुङ मातृभाषीको संख्या ३७ हजार ९१२ र आफ्नो पुर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या ४० हजार ४७९ रहेको छ ।
हुन त कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)’ले गरेको आन्तरिक जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या एक लाख ६० हजारभन्दा बढी छ । वास्तवमा कुलुङ जातिको मात्रै नभएर ‘राई’ रणको मारमा परेका सबै किराती महाजातिभित्रका अन्य जातिहरूको तथ्यांङ्क पनि २०६८ को जनगणना र २०७८ को जनगणनामा यसरी नै कम देखाइएको थियो, छ । अझ २०५८ को १०औँ राष्ट्रिय जनगणनामा त ‘राई’ रणको मारमा परेका कुनै पनि किरातीभित्रका जातिहरूको अलग्गै जातीय तथ्यांक नै आएको थिएन ।
केही किराती जातिहरूको भाषागत तथ्यांक मात्रै आएको थियो । जस्तो : २०५८ को जनगणनामा तेह्रथुम जिल्लामा एकजना पनि कुलुुङ देखिएनन् । तापनि तेह्रथुम जिल्लामा कुलुङको जनसंख्या लगभग १४, १५ सयको हाराहारीमा रहेका थिए, छन् । जेहोस्, नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै अलग्गै मातृभाषा छ । जसलाई उनीहरू ‘कूलू रीङ’ भन्छन् ।
जहाँका कुलुङ भए पनि कुलपितृ आदिमा कुलुङ जातिका मोप÷नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, ईन्द्र होनीत्ती, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरू अमृत योञ्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो । त्यस अनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकाले लिपिबद्ध गरिँदा अहिलेसम्म दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (:) दिने वा : चिह्न प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
मूलथलोका कुलुङहरू मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । मूलथलो छाडेका कुलुङहरू भने अन्य जातजातिको देखासिकी र त्यसो नगर्दा बहिष्कृत हुनुपर्ने र हेलाहोँचो हुनुपर्ने डरले नुन नबारे पनि तीन–चार दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, राँगा–सँुगुर मार्ने गर्छन् ।
कुलुङ जातिको अरु जातिका भन्दा भिन्न प्रकारका संस्कार–संस्कृति रहेका छन् । जन्मदेखि मृत्युसम्म आफ्नै जातिका पुर्खाले मुख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युसंस्कार गर्दा मृतक (मृतात्मा)को आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाउँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिका लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ । यो ठाउँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाउँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ ।
यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरूको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरू दुईपटक विवाह गर्छन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइतीले नै काजकिरिया गर्नुपर्छ । दोस्रो विवाह छिन्ती विवाह हो, जुन विवाहलाई कुलुङ जातिले ‘दाप्लो कुइम’ भन्ने गर्छन् ।
त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहना छन् भने आफ्नै मौलिक बाजागाजा पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैँले नाइटो काट्ने; भांग्रे सिस्नोको धागोले बाँध्ने; बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने; स्थान र समय अनुसार पाँच–सात दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाइदिने गरिन्छ । यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।
मृत्यु संस्कारमा भने अकालमा मरेकाहरूलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाङ्गै घोप्टो पारेर राखिन्छ । त्यसपछि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्युलाई कुलुङहरू ‘हिल्सी’ भन्छन् । स्वाभाविक रूपमा मृत्यु भएकाहरूलाई भने घु¥यान वा घरनजिकैको बारीमा गाडिन्छ ।
असलियतमा कुलुङ जातिमा मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु–मंस बार्ने गर्दैनन् । अझ मूलथलोका कुलुङहरू मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । मूलथलो छाडेका कुलुङहरू भने अन्य जातजातिको देखासिकी र त्यसो नगर्दा बहिष्कृत हुनुपर्ने र हेलाहोँचो हुनुपर्ने डरले नुन नबारे पनि तीन–चार दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, राँगा–सुँगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई चढाउँदा वा बिदा दिँदा सिङ भएको जनावर चल्दैन) गर्छन् ।
कुलुङ जातिका चाडपर्वहरूमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम वा साइपोको आदि प्रमुख हुन् । साह्रै अनिकाल प-यो, दुःख–बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ, तर यो साह्रै खर्चिलो हुन्छ । यसका लागि जोडी सुँगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरबारले हानेर मार्नुपर्छ । त्यसरी सुँगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्न सक्छ, त्योभन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँ अनुसार फापर, मकै, जौ र कोदोको जाँड (दी) ले गरिन्छ ।
(प्रस्तुत विचार लेखकका निजी हुन् ।)