"/> "/>
आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

'माओवादीमा सबैले गल्ती गरेका छन्, सामूहिक राजीनामा दिने प्रस्ताव गरेको छु'

बिहीबार, १७ साउन २०८१

सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रले पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्र देखिएको समस्या र भावी योजनाबारे गम्भीर छलफल गर्‍यो । यद्यपि कुनै निष्कर्षमा पुगेको छैन ।

विचारको विकास र पार्टी निर्माण गर्नका लागि साउन २५ गते स्थायी समिति बैठक बोलाएको छ । चार दिनसम्म चलेको बैठकमा कस्ता विषय उठे, अध्यक्ष प्रचण्डले जवाफमा के भने जस्ता विषयमा केन्द्रित रहेर रातोपाटी टिभीले उपमहासचिव हरिबोल गजुरेलसँग कुराकानी गरेको छ । प्रस्तुत, गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • पदाधिकारी बैठकले प्रचण्ड नेतृत्वको सरकार ढलेकोबारे के निष्कर्ष निकाल्यो ?

प्रचण्डले विश्वासको मत माग्दै गर्दा स्पष्ट रूपमा आफ्ना कुरा राख्नुभएको छ । दलाल नोकरशाही पुँजीपति वर्गको घेराबन्दीका कारण सरकार गयो भनेर उहाँले भन्नुभएको छ । त्यही नै सही हो ।

  • यो अलि भेग भयो, बुझ्ने भाषामा भन्नुस् न ?

व्यापारी घरानाको घरमा बसेर, उनीहरूकै सहभागितामा जे गरियो, त्यो प्रस्ट रूपमा अगाडि आइसकेको छ । त्यो नै मुख्य कारण त होइन । तर कांगे्रस र एमालेभित्रको चिन्तन नै मुख्य हो । तयारी कसरी भयो भन्ने कुरा त्यहाँबाट उजागर भयो । हुनत पहिला पनि त्यस्तो हुन्थ्यो तर खुला भएको थिएन ।

  • त्यतिबेला सरकार ढल्नुमा प्रधानमन्त्री प्रचण्डको कमजोरी कति रह्यो ?

हैन, टेक्निकल्ली बाहिर बोल्दा झस्किने खालको अभिव्यक्ति आयो । तर ती मुख्य कारण होइन । मुख्य कारण परिवर्तनप्रति कांग्रेस र एमालेको अरुचि नै हो । २०७४ सालमा झण्डै दुई तिहाइको सरकार हुँदा संविधान संशोधनको मुद्दा हामीले उठाउनुपर्‍थ्यो । त्यसमा कमजोरी रह्यो ।

haribol gajurel

  • तपाईं त कति दूरदर्शी नेता हुनुहुँदो रहेछ । प्रचण्डको चालामाला देखेर सरकार धेरै जाँदैन भनेर राजनीतिक सल्लाहकार छोड्दिनुभएछ ?

मैले राजीनामा दिँदा कांग्रेससँग गठबन्धन थियो । एमालेसँगको गठबन्धन स्वाभाविक नै थियो । एमालेले धोका दिए पनि स्वाभाविक नै थियो । गलत थियो भनेर हामी भन्दैनौँ । मेरो राजीनामा दिनुको अर्कै कारण हो । भ्रष्टाचारविरुद्धको आन्दोलनमा जसरी जानुपर्‍थ्यो, त्यसरी जान नसकेकोमा राजीनामा दिएको हुँ ।

  • प्रचण्डले सुशासन कायम गर्न थालेको थिएँ, भ्रष्टाचारी समाउन थालेको थिएँ । त्यस्तो बेला मेरो सरकार ढल्यो भनेर संसदमा भन्नुभयो । त्यो देखाउनमात्र रहेछ, हैन ?

पछि उहाँले केही कोसिस गर्नुभयो । रवि लामिछाने गृहमन्त्री भएपछि पनि कोसिस नगरेका होइनन् । प्रधानमन्त्रीको सहमतिविना कृष्णबहादुर महरालाई पक्राउ गर्न सजिलो थिएन । उहाँले आफ्नो विषयमा पनि केही आयो भने छानबिनमा सघाउन तयार छु भन्नुभएकै थियो । जेजस्तो भए पनि ठुल्ठुला नेताहरू छानबिनको दयरामा आएका छन् ।

  • पदाधिकारी बैठकमा यसअघि अध्यक्षले मात्र बोलेर निर्णय गरिन्थ्यो तर यसपटक सबै नेताहरूलाई बोल्न दिनुभएछ । प्रचण्ड गल्नुभएको हो ?

बोल्न त पहिला पनि नपाउने कुरा थिएन । सरकारमा भएका बेला २/३ घण्टा बोल्न सम्भव थिएन । अहिले सबैले खुला कुरा राखेका हुन् । अहिले पार्टी कमजोर भएको अवस्था छ । पार्टी निर्माणको विषयमा जनताले पनि प्रश्न उठाएका छन् । यस्तो बेला नयाँ शिराबाट अगाडि बढाउनु पर्छ भनेर छलफल भएको हो । अन्तरविरोधलाई पनि हल गर्ने गरी अगाडि बढेको छ । पहिला आफू करेक्सन हुने र त्यसपछि कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउनु पर्छ भनेर उहाँले छलफल चलाउनुभयो ।

  • तपाईंले बैठकमा के भन्नुभयो ?

मैले धेरै कुरा गर्न मिल्दैन । तर सिरियस कुरा राखेको छु । पार्टीमा जे–जति नीतिगत निर्णय भएका छन्, हामी सबै सामेल भएका छौँ । प्रचण्ड पनि सामेल हुनुहुन्छ । हामी पनि सामेल छौँ । जस अपजसको मुख्य भागिदार मूल नेतृत्व नै हुन्छ । यसो भन्दैमा पार्टीमा जुन क्षति पुगेको छ, त्यसको जिम्मेवारी सबैले लिनुपर्छ । पदाधिकारी बैठकमा जे–जस्ता एजेण्डा आउँछ, त्यसमा पदाधिकारीहरूले आफ्नो अडान लिन सक्नुपर्‍थ्यो । हामीभित्र विरोध गर्नेले पनि सही ठाउँमा बसेर प्रतिवाद गर्न नसक्ने, समर्थन गर्नेले पनि सही ठाउँमा बसेर समर्थन नगर्ने । अनि उत्तराधिकारी कसरी तयार हुन्छ ? सही ठाउँमा बसेर विरोध गर्दा उत्तराधिकारी तयार हुन्छ ।

जस्तै प्रचण्डले मोहनविक्रम सिंहको गलत कार्यको विरोध गर्नुभयो । मोहनविक्रमको चिन्तन नै गलत छ । विचारमा विचलन आएको छ भने पहिलो पटक प्रचण्डले नै बोल्नुभएको हो । मोहनविक्रमसँग सङ्घर्ष गर्दा पनि सही ठाउँमा बसेर विरोध गर्नुभयो । त्यसपछि मोटो मशाल बनाउँदा पनि नजिक बसेर मोहन वैद्यलाई सहयोग गर्नुभयो ।

  • बैठकमा अरु बढी आक्रामक भए, तपाईंले अध्यक्षलाई जोगाउनुभएछ, हैन ?

मैले जोगाएको होइन । अहिलेको स्थितिमा जे यथार्थ हो, त्यही नै राख्नुपर्छ ।

  • प्रचण्डले हिजो कांग्रेससँग गठबन्धन गर्नुभयो, त्यसलाई सर्लक्क छाडेर एमालेसँग गठबन्धन गर्नुभयो । त्यसबेला तपाईं र अन्य पदाधिकारीसँग सल्लाह गर्नुभएको थियो ?

अन्तिम दिन बैठक त उहाँले बोलाउनुभयो, जुन दिन सत्ता समीकरण बदलिसकेको थियो । त्यतिबेला मैले भनेको थिएँ– तपाईंले किन बैठक बोलाउनुभएको ? आधा घण्टापछि विष्णु पौडेलले कागज लिएर आउँदै हुनुहुन्छ । बरु जानकारी गराउनु न, मैले यसो गरेँ, तपाईँहरूलाई ठिक बेठिक के लाग्छ भन्नोस् भनेर ।

baribol 2

हैन अझै पनि समय छ भन्नुभयो उहाँले । समय घर्किसकेको थियो । त्यो त हाम्रो समस्यै छ । जस्तै तीन दिनको छलफलमा सामान्य कुरा बाहेक अन्य विषय बाहिर नजाहोस् भनेपछि बाहिर कुनै कुरा आएन । त्यति हैसियत त पदाधिकारीमा रहेछ नि ।

  • बैठकमा प्रचण्डको विकल्पको बारेमा पनि कुरा उठ्यो रे, होइन ?

विकल्पको विषयमा त्यस्तो छलफल भएको छैन । विकल्प कतिखेर हुन्थ्यो भने जसले सही ठाउँमा बसेर प्रतिवाद गरेको भए विकल्प त्यही हुन्थ्यो । हामीले त्यसो गरेनौँ । हामीले आफैँलाई केन्द्रमा राखेर काम गर्‍यौँ । मेरो हकमा बढी विश्वासले काम गर्‍यो । कतिपय साथीहरूले स्वार्थमा रहेर काम गरे । कतिपयले ठिक ठाउँमा बसेर प्रतिवाद गरेनन् । किरणजीले बाबुरामसँग जोडिएर धोबीघाटमा बसेर प्रतिवाद गर्नुभयो । त्यसैले माओवादीमा उत्तराधिकारी भएनन् । कम्युनिस्ट पार्टीमा सही ठाउँमा बसेर नेतृत्वलाई सहयोग गर्‍यो भने पनि उत्तराधिकारी बन्छ । सही ठाउँमा बसेर प्रतिवाद गरे पनि उत्तराधिकारी बन्छ ।

पहिला त प्रचण्डलाई बढी नै विश्वास गरियो । १० वर्ष क्रान्तिको नेतृत्व गर्नुभयो भनेर सहयोग गर्नतिर लागियो । उहाँ नेता हो । म पनि एउटा घटकको नेतृत्व गरेर एकता प्रक्रियामा जोडिएका हौँ ।
  • तपाईंहरूले सही ठाउँमा बसेर सही प्रतिवाद गरेको त देखिँदैन नि ?

पहिला त प्रचण्डलाई बढी नै विश्वास गरियो । १० वर्ष क्रान्तिको नेतृत्व गर्नुभयो भनेर सहयोग गर्नतिर लागियो । उहाँ नेता हो । म पनि एउटा घटकको नेतृत्व गरेर एकता प्रक्रियामा जोडिएका हौँ । त्यस्तै निर्मल लामा, रुपलाल विश्वकर्मासहित चार दलको नेतृत्व गरेर नै पार्टी एकता भएको हो । त्यतिबेला आफूले पनि खबरदारी गरेको भए पार्टी अहिले यस्तो हुने थिएन । यतिसम्म भयो कि सर्लाहीको मलंगवामा ०६२ चैत २३ गते कब्जा भयो । २४ गतेबाट जनआन्दोलन थियो । संविधानसभा निर्वाचन पछि म कोचिला राज्यमा पुगेँ । मेरो नेतृत्वमा २२ मध्ये १० सिट जित्यो । त्यो बेला कसैले विश्वास गर्दैनथ्यो । सिटौलाजी हार्नुभयो । एकताकेन्द्रसँग एकता भइसकेपछि स्थायी समितिमा म परिनँ । त्यतिबेला म नभए पनि प्रचण्डको नेतृत्वमा क्रान्ति बढोस् न त भनेर सहयोग गरेँ । त्यतिबेला मापदण्ड के हो भनेर प्रश्न गर्नुपर्थ्यो, तर गरिनँ । अहिले आएर गल्ती गरिएछ जस्तो लाग्यो । देशभरि सहानुभूति हुन्थ्यो । पार्टीले कारबाही गरेको भए पनि कार्यकर्ताको समर्थन पाइन्थ्यो । त्यसैले मैले बढी विश्वास गरेँ ।

  • त्यतिबेला तपाईंले प्रतिवाद गरेको भए किरण, बाबुरामलाई जस्तै कारबाही गर्थे होलान् नि ?

हैन त्यस्तो होइन । कारण अर्कै छन् । हिजोको बैठकमा पनि अध्यक्षले सिरियस कुरा राख्नुभएको छ । शान्ति प्रक्रियामा आएपछि अन्तरसङ्घर्षमा नेता तथा कार्यकर्ताहरू जोडिएका छन् । माओवादी विरोधी शक्तिहरूले माओवादीलाई कसरी कमजोर बनाउने भनेर चलखेल गर्ने हुन्छ । त्यसलाई चिरिदिएको भए पार्टी एकताबद्ध हुन्थ्यो । घेराबन्दीलाई चिर्न सकेनौँ । त्यहाँ वास्तविक कमजोरी रहेको भनेर भन्नुभयो । त्यसकारण यस्ता कुरामा हाम्रो ध्यान गएन ।

  • त्यसोभए प्रचण्डलाई तपाईंले जोगाउनुभयो हैन ?

कमजोरी उहाँको मात्र होइन, सबैको भयो । हिजो युद्धकालमा झेल्न सक्नुभयो । शान्तिकालमा आएपछि झेल्न सक्नुभएन किनकि त्यतिबेला सूचनाको पहुँच थिएन । अहिले सहरमा आएपछि प्रविधिको विकाससँगै माओवादी विरोधी शक्तिहरू सक्रिय भए । जहाँ क्रस भयो, सफल भयो । जहाँ क्रस हुन सकेन, पार्टी विभाजन भयो ।

  • शान्ति प्रक्रियामा आएको १८ वर्षमा सत्तामा रहँदा के के गल्तिभयो भनेर कुरा भयो ?

१८ वर्षमा झण्डै १५ वर्ष कुनै न कुनै रूपमा सरकारमा रह्यौँ । १८ पटक सरकारमा जाँदा जनतालाई कति डेलिभरी दियौँ भनेर प्रश्न उठाएका छन् । यस विषयमा बैठकमा पनि कुरा उठेका छन् । यद्यपि दोसो कार्यकालमा अध्यक्ष संविधान कार्यान्वयन गर्नमा केन्द्रित रहनुभयो । मधेसी दलहरूलाई सहमतिमा ल्याएर चुनाव गराउनुभयो । तेस्रो कार्यकालमा कोसिस गर्नुभयो । पहिलो कार्यकालमा सेनापति प्रकरणमा भयङ्रकर नै गल्ती भयो । चार महिनापछि स्वतः अवकाशमा जान लागेका सेनापतिलाई कारबाही गर्नु हुन्थेन । यसमा पार्टीभित्रको अन्तरविरोधलाई सही ढङ्गले व्यवस्थापन गर्न सकेनौँ । राजीनामा दिन बाध्य भयौँ ।

  • यस्ता गल्ती प्रचण्डले पटक पटक गर्दै आएका छन् । पार्टी कहाँ पुगिसक्यो । अझै पनि प्रचण्डको विकल्प छैन भनेर बस्यो भने पार्टीको भविष्य कहाँ होला भनेर भन्छन् नि ?

पहिलो कुरा पहिलो संविधान सभा निर्वाचनपछि संविधान बन्ने स्थितिमा पुगेर संविधान बनेन । अलिकति लचिलो भएको भए अहिलेको भन्दा राम्रो संविधान त्यतिबेला बन्थ्यो । उल्टै सरकार पनि छोडियो । जनताले अपेक्षा गरेअनुसार भूमिका निर्वाह गर्न सकेनौँ । ०७० को निर्वाचनमा माओवादीको साइज स्वाट्टै घट्यो । यद्यपि प्रचण्डको पहलकदमीमा संविधान निर्माण भयो । ०७४ को निर्वाचनमा वाम गठबन्धन गर्‍यो । यसले राम्रो इमेज बनायो । विनापहिचान र तयारी नगरी पार्टी एकता भयो । सबैभन्दा ठुलो गल्ती गरिएको त्यहाँ हो । वैचारिक र राजनैतिक छलफल नभइ आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा एकता भयो, त्यसले माओवादीलाई बढी क्षति गरायो ।

baribol gajurel 1

  • प्रचण्डको गल्तीले सिङ्गो माओवादीलाई असर गरेको छ तर पनि विकल्पमा जान सक्नुभएको छैन नि ?

विकल्प हुन्छ । कुनै पनि पार्टीमा विकल्प नहुने हुँदैन । हाम्रो किन भएन भने हामीले सही ठाउँमा उभिएर सहयोग र प्रतिवाद गर्न सकेनौँ ।

कांग्रेस र एमालेलाई धन्यवाद दिनुपर्छ । माओवादीले रि–थिङ्क र समीक्षा गर्न मोर्चा कसिसकेको छ । अप्रत्यासित घटनामा जो पनि स्तब्ध हुन्छ । प्रचण्डलाई भएको त्यही हो ।
  • सत्ताविना माओवादी बस्न सक्दैन भन्ने आरोप छ । फेरि सत्तामा जान तयार हुनुभएको हो ?

कांग्रेस र एमालेलाई धन्यवाद दिनुपर्छ । माओवादीले रि–थिङ्क र समीक्षा गर्न मोर्चा कसिसकेको छ । अप्रत्यासित घटनामा जो पनि स्तब्ध हुन्छ । प्रचण्डलाई भएको त्यही हो । यो स्वाभाविक हो । तर पार्टी पंक्तिमा सत्ता गुमेर खुसी आएको छ किनकि पार्टी निर्माण गर्न जनतामा जाने एउटा अवसर आएको छ । कोही निराश छैनन् ।

  • आगामी कार्यक्रमका लागि के समीक्षा भयो ?

वैचारिक र राजनीतिक समस्या हो । कसरी पार्टी निर्माण गर्ने भन्नेमा सुझाव लिने काम भएको छ । निष्कर्षमा पुगेको छैन ।

  • अब पार्टी निर्माणमा लाग्ने कि भत्काउनतिर ?

कहाँ समस्या छ र कसरी जाने भन्नेमा करिब टुङ्गो लाग्ने क्रममा छ । माओवादी अब सकिँदैन । हिजो खतरा थियो । हेर्दै जानुहोला ।

  • दुई ठुला दल मिलेर सत्ता चलाएका छन् । मिलेरै चुनाव लड्ने भनेका छन् । कसरी सकिँदैन पार्टी  ?

कांग्रेस र एमालेले यथास्थितिबाट पश्चगमनमा लाने न हो । माओवादीलाई साइड लगाउने, कर्नरमा पार्ने कुरा हुँदैन रहेछ नि । संविधान जारी हुनेबेला पनि कांग्रेस र एमालेकै सरकार थियो । त्यतिबेला पनि माओवादी कर्नरमा परेन नि । त्यसकारण राम्रो काम गर्न अहिलेको सरकार बनेको होइन । ओलीजी प्रधानमन्त्री बन्न चाहेको भए प्रचण्ड दिने मुडमै हुनुहुन्थ्यो ।

  • मोदीलाई भेटेर आएपछि राष्ट्रिय सहमतिको सरकार बनाउँ भनेर शेरबहादुर देउवासँग किन प्रस्ताव राखेपछि ओलीलाई झस्काएको भन्छन् नि ?

वामपन्थी मिलेका छन् । संविधान कार्यान्वयन गर्नुछ । शान्ति प्रक्रियाका काम टुङ्ग्याउनु छ । प्रधानमन्त्रीको हैसियतले विपक्षी दलका नेतालाई भेट गर्नु राम्रो । कांग्रेसलाई पनि धेरै पर धकेल्नु त हुन्थेन नि ।

  • अब माओवादीले के गर्छ ?

हामीले जनतालाई झुटमुट कुरा गरेर हुँदैन । जे हो त्यही भन्नुपर्छ । राम्रा नराम्रा चिजको जस लिँदै आगामी दिनमा करेक्सन गरेर जानुपर्छ । पार्टी अब जनतासँग जोडिनुपर्छ । अहिले जनताबाट कटेकाले विचारको विकास नभएको हो । जनताको विचार लिन्छौँ ।

हामीले जनतालाई झुटमुट कुरा गरेर हुँदैन । जे हो त्यही भन्नुपर्छ । राम्रा नराम्रा चिजको जस लिँदै आगामी दिनमा करेक्सन गरेर जानुपर्छ । पार्टी अब जनतासँग जोडिनुपर्छ । अहिले जनताबाट कटेकाले विचारको विकास नभएको हो । जनताको विचार लिन्छौँ ।
  • कहिले एमाले, कहिले कांग्रेसको ओत लाग्ने माओवादीको स्ट्रेन्थ खोइ ?

माओवादीको स्ट्रेन्थ कमजोर नै भयो । त्यसलाई स्वीकार गर्नुपर्छ ।

  • पदाधिकारी बैठकमा प्रचण्डले के भन्नुभयो त ?

उहाँले कम्युनिस्ट पार्टीहरू किन कमजोर हुन्छन् ? किन अनावश्यक अन्तरविरोध र विभाजन हुन्छ ? यसको कारण खोतल्नुपर्छ । अब हामी नसच्चिकन उपाय नै छैन । अहिलेको छलफल र बहस भयो यो पर्याप्त छैन । म सन्तुष्ट छैन । यतिले पुग्दैन । सतहमा सबै चिज आउनुपर्छ । स्थायी समितिमा गएर फेरि छलफल गरौँ भन्नुभयो । मलाई अध्यक्ष बस्न मन छैन, एउटा संस्मरण लेख्न पाए भावी पुस्तालाई काम लाग्थ्यो तर समय भइसकेको छैन भन्नुभयो ।

  • संविधान संशोधनमा बढी आपत्ति जनाएको छ, किन ?

उहाँहरू समानुपातिक समावेशी हटाउनुपर्छ भनिरहनुभएको छ । हामी प्र्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद हुनुपर्छ भनिरहेका छौँ । ठिक उल्टो कांग्रेस र एमाले हटाउन खोजिरहेका छन् । स्थायित्वका लागि दुई दलीय प्रणालीमा जानुपर्छ भनिरहेका छन् । त्यो सम्भव छैन ।

baribol 1

  • अहिलेको सरकार पूरा अवधि जाला ?

राम्रो काम गरे सरकार टिक्ने हो । राम्रो काम नगरे सरकार कहाँ टिक्छ ? जनताले राजनीतिक स्थायित्वसहितको डेलिभरी खोजेका छन् ।

माओवादी अब सकिँदैन । वे–आउट पहिचान गरिसकेपछि सकिँदैन । समस्याको पहिचान माओवादीले केही गरिसकेको छ । केही गर्न बाँकी छ ।
  • अब माओवादी सकिन्छ कि सुध्रिन्छ ?

माओवादी अब सकिँदैन । वे–आउट पहिचान गरिसकेपछि सकिँदैन । समस्याको पहिचान माओवादीले केही गरिसकेको छ । केही गर्न बाँकी छ । विचार अनुसारको नीति, विधि र पद्धति बन्छ । त्यसले व्यवहारलाई सुधार्छ । माओवादीको विधान अधिवेशनले निर्वाचन प्रक्रिया अपनाउने भनेको छ  । निर्वाचन प्रक्रियाले जनवाद त आयो, केन्द्रीयता खोइ ? कांग्रेस र एमालेभन्दा हामी कसरी भिन्न भयौँ ?

  • माओवादीमा नेतृत्वमात्र सुध्रिएमा ८० प्रतिशत समस्या समाधान हुन्छ, हैन ?

नेतृत्वमात्र होइन, सबै पदाधिकारीले सामूहिक राजीनामा दिउँ । पाटी बिगार्न अध्यक्षमात्र होइन, सबैले गल्ती गरेका छन् । आठौँ महाधिवेशनको विधानले स्थायी समितिको एक तिहाइ पदाधिकारी भनेको छ । अहिले ४६ जना स्थायी समिति छ । त्यसको एकतिहाइ पदाधिकारी हुनुपर्नेमा विधान उल्लङ्घन गरेका छौँ । त्यसरी पार्टी बन्छ ? अध्यक्षमार्फत स्थायी समितिमा सामूहिक राजीनामा दिने मैले प्रस्ताव गरेको छु । राजीनामा दिन मैले अनुमति मागेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया