नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक
हुम्ला । निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् ।
विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ । चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताए । उनले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताए ।
सवारी चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी स्थानमा भने आफूहरुले नै काम गरेको बताए । उनले प्रतिव्यक्ति प्रतिदिन रु दुई सयमा आफूहरुले काम गरेको बताए । उनले आफूहरुले झण्डै रु १५ लाख बराबरको काम गरेको उल्लेख गरे ।
नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरिएका छन् । सडक अवरुद्ध हुँदा एक महिनायता सिमकोटमा ग्यास, मैदा, तेललगायत सामग्रीको मूल्यमा वृद्धि भएको थियो । रु दुई हजार नौ सयमा भर्ने ग्यास अहिले तीन हजार पाँच सयमा भर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।
राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ । त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखि विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् । खार्पुदोभानमा बेलिब्रिज पुल निर्माण नहुँदा त्यहाँदेखि झोलुङ्गे पुलमा मानिसले बोकेर कर्णाली तार्ने गर्दछन् । सोही स्थानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का