गैँडाकोट र पोखरातिर कला गतिविधि
यसपल्ट गैँडाकोट, नवलपरासीदेखि पोखरा समेतका कला गतिविधिबारे लेख्ने जमर्को गरेको छु ।
मोफसलमा कलाका गतिविधि कम हुने गर्छन् । ललितकला अलि बढी प्राविधिक विषय हो, यसको पढाइ लगायत विभिन्न कलागत गतिविधि काठमाडौँ उपत्यकामै बढी हुने गर्छन् । ठुलादेखि साना कलाका ग्यालरी पनि यतै छन् । सदियौँदेखि मूर्तिकला, वास्तुकला र चित्रकला यहीँ थुप्रँदै आएका छन् । अर्कोतिर कलाको इतिहास पनि उपत्यकालाई केन्द्रमा राखेर लेखिएका छन् । कलाको सङ्ग्रहालय, कलाको व्यापार–व्यवसाय र कलासम्बन्धी अन्तर्राष्ट्रिय सम्पर्क राख्ने ठाउँ पनि उपत्यका रहँदै आएको छ । यसो हुँदा कलामा थोरै चासो हुने कलाकार उपत्यका नपसी नहुने भयो । फलस्वरूप उपत्यकाबाहिर कलाका कार्यक्रम त्यति हुन नसकेको हो ।
मोफसलकै कलाकारले काठमाडौँ उपत्यका भरिएको छ । अर्को कुरा, कलागत कार्यक्रमको ढाँचा (कलाको वर्कसप अनि कला प्रदर्शनी मात्र गरिने परम्परा)ले गर्दा थोर–बहुत मोफसलमा हुने गरेका कार्यक्रमका बारेमा कम लेखिएका छन्, लेखिन्छन् । यसपालि मोफसलका कला बारेमा थोरै सन्दर्भ उठाउने मौका मिलेको छ ।
तराई मधेसमा अवस्थित गैँडाकोट भनौँ वा उता पहाडमा बसेको पोखराको रमणीय ठाउँ भनौँ, यी दुवै गण्डकी प्रदेशमा पर्छन् । यसपल्ट यी दुवै ठाउँको भ्रमण गर्ने अवसर जु¥यो । दुवैतिर औपचारिक–अनौपचारिक स–साना कार्यक्रम बनेका रहेछन् । छलफलका साथै पुरस्कार वितरणको कार्यक्रम पनि रहेछ ।
- गैँडाकोटतिर
त्रिवेणी साहित्य प्रतिष्ठान गैँडाकोटले यो मौका मिलाइदिएपछि स्थानीय कवि–कलाकारका साथसाथै बाहिरबाट पनि कवि–कलाकार जमघट हुने सन्दर्भ जु¥यो ।
दिनभरजस्तो कार्यक्रम हुँदा पनि स्थानीय कवि–कलाकारको निकै ठुलो भीड लागेको थियो । साहित्यका विषयमा धेरै लामो कुरा भए तर कलाको कुरा केही सुनिएन । कलाको विषय छलफलमा किन राखिएन ? दैव नै जानून् ।
साहित्य, संगीत र नाटकमाथि भने खास चर्चा गरियो । कविता र कलाको चर्चा भने अनौपचारिक रूपमा निकै जम्यो । काठमाडौँबाट कवि प्रभा भट्टराई र डा. गीता त्रिपाठी, मुकेश मल्ल, अनि पोखराबाट रमेश श्रेष्ठ पनि समावेश भएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव तथा समालोचक डा. धनप्रसाद सुवेदी, प्रज्ञाकै सदस्य तथा उपन्यासकार अमर न्यौपाने आदि जम्मा भएका थिए ।
देशका हरेकजसो क्षेत्रका कलाकार अस्थायी र अनि स्थायी रूपमै काठमाडौँ उपत्यका पस्न वा बस्न रुचाउने गरेका छन् । यस मानेमा पोखरा अलि अलग्ग छ । यहाँ कलाकार आफैँले कलाको वातावरण बनाएका छन् ।
गैँडाकोट क्षेत्रमा पछिल्लो समय निकै कलाकार थपिइसकेका अर्थात् उत्पादन भइसकेका रहेछन् । यहाँ कलाकै कार्यक्रम पनि थोरबहुत बढ्न थालेका छन् । यस क्षेत्रमा नउठाइएका वा उठाउन नभ्याइएका गतका सालहरूदेखि भइरहेका कलाका कार्य पनि छन् । पछि अनुकूल हुँदै गए प्रकाशनमा आउने नै छ ।
पूर्वमा मोरङ पथरी, विराटनगर, इटहरी; त्यसदेखि पश्चिमतिर लागेपछि जनकपुर अनि थोरबहुत बुटवलमा बाहेक अन्य ठाउँमा कलाका औपचारिक कार्यक्रम भएको त्यति सुनिँदैन । तथापि ‘ओपन एयर पेन्टिङ’ (बाहिर गई खुला आकाशमा दृश्यचित्र बनाउने) कार्यक्रम तीव्र गतिमा बढ्न थालेपछि कलाकार घुम्ने, रमाउने अनि कला कोर्ने गर्न थालेका छन् । युरोपमा १९औँ शताब्दीको अन्त्यतिर कलाकारहरूले बन्द कोठाबाट बाहिर आई खुला आकाशमा प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गर्दै चित्र बनाउन थालेका थिए । यो आन्दोलनकै रूपमा देखिन आएको थियो । अहिले यसरी चित्र बनाउने प्रचलन विश्वभरि छ ।
गैँडाकोटमा गतका केही वर्षदेखि तीन–चारपल्ट आउने अवसर पाएको छु । यो ठाउँ सायद काठमाडौँ उपत्यका, पोखरापछि कलाकारका लागि एक अलग्ग कला–हब बन्दै छ । ठुलै कला प्रदर्शनी गर्न मिल्ने किसिमको ‘किसान कला ग्यालरी’ गैँडाकोटमा केही वर्षअघि खुल्नुले पनि कलाको विकासमा ठुलै पृष्ठभूमि तयार गरेको छ । सहकारीसँगको समन्वयमा बन्न पुगेको यो प्रदर्शन कक्ष बाहिरबाट गएका कलाकारका लागि केही गर्न एउटा भरपर्दो ठाउँ भएको छ । यति सुलभ, सहजै उपलब्ध हुने अनि सहर–बजारबाट पनि नजिक रहेको यति ठुलो व्यवस्थित सभाकक्ष सम्भवतः नेपालभरिमा कहीँ देखिँदैन । यसैले गर्दा यहाँ बाहिरबाट कला र कलाकार आउने–जाने क्रम बढेको छ ।
यस भेगका कलाकारको समसामयिक कलामै पनि एक अलग्ग कलागत शैैली छ । समसामयिक कलाकारहरू यही अलग्ग कला शैलीमा अभ्यस्त हुन थालेका रहेछन् ।
कलामा संचेतना जागेको सकारात्मक सन्दर्भ यो हो कि यस क्षेत्रमा प्रदेश वा नगरपालिका अन्तर्गत खुलेका अनगिन्ती प्रतिष्ठानहरू छन्, जसले कला, साहित्य र संगीतलाई विकास गर्ने लक्ष्य लिएका छन् । सबैजसो ठाउँमा साहित्यकार टन्नै संलग्न छन् । साहित्यसँग जोडिने वा जोड्नैपर्ने भएकाले पनि यस क्षेत्रमा थोर–बहुत कलाका कार्यक्रम हुन थालेको सकारात्मक अवस्था देखिन्छ । यस्ता कार्यक्रम गुणस्तर रूपमा कति भए वा भएन ? यसलाई अलग्ग चर्चा गरौँला । यद्यपि यस्ता कार्यक्रमले एउटा सामाजिक कलागत हलचल भने ल्याएको मान्नैपर्छ । यो सँगसँगै पुराना कला वा साहित्यका संस्थाले मनाउने गरेका कार्यक्रम अनि तिनले समेट्ने कला पनि छँदै छन् । समग्रमा भन्दा हिजोको भन्दा आज कला सिर्जना फरक ढंगबाट देखापरेको पक्कै हो ।
साहित्यका विषयमा धेरै लामो कुरा भए तर कलाको कुरा केही सुनिएन । कलाको विषय छलफलमा किन राखिएन ? दैव नै जानून् ।
गैँडाकोटमा अवस्थित नारायणी होटलको विशालसभा कक्षमा गएको असार १५ गते तीन कलाकारलाई विविध पुरस्कारसहित सम्मान गरियो । त्रिवेणी गोविन्द–भीम कलाश्री पुरस्कारबाट मुकेश मल्ल, त्रिवेणी रामहरि श्रेष्ठ कला पुरस्कारबाट वरुणबाबु घिमिरे र त्रिवेणी प्रा.डा. होमनाथ भगवती कला वाङ्मय पुरस्कारबाट रमेश श्रेष्ठ सम्मानित भए ।
एउटा साहित्यिक संस्थाले तीनजना कलाकारलाई एकैपटक यसरी सम्झेको पहिलोपटक हुनुपर्छ । कला सर्जक अनि कला लेखनमा लागेकाहरू बगुन्द्रो हुन थाले पनि यस प्रकारले सम्मान गर्ने प्रचलन छैन, थिएन । यसर्थ यसलाई सुखद र सकारात्मक कार्य मान्नुपर्छ ।
यसबाहेक काव्य क्षेत्रमा तीनजना सर्जक पुरस्कृत भए— त्रिवेणी पण्डित नीलकण्ठ काव्य पुरस्कारबाट प्रकाश चापागाईं, त्रिवेणी इन्द्रराज काव्य पुरस्कारबाट प्रभा भट्टराई र त्रिवेणी धर्मटीका काव्य पुरस्कारबाट डा. गीता त्रिपाठी । यस्तै, त्रिवेणी रामचन्द्र अन्नपूर्ण हरिमाया नाट्य पुरस्कारबाट गोपी सापकोटा, त्रिवेणी कविवर तीर्थराज स्मृति पुरस्कारबाट मनोज भण्डारीलाई सम्मान गरियो ।
गोविन्द–भीम कलाश्री पुरस्कार
साहित्य क्षेत्रले कलामा राख्ने गरेको (यसैपल्टदेखि) पुरस्कार र सम्मान एउटा मानकको रूपमा स्थापित भएको छ ।
दुई सर्जक गोविन्दराज विनोदी र भीम शर्माको नाममा ‘त्रिवेणी गोविन्द–भीम कलाश्री पुरस्कार’ स्थापना गरिएको छ ।
गोविन्दराज विनोदी मूलतः साहित्यकार नै हुन्, उनी राम्रा कला पनि बनाउँछन् । यस क्षेत्रमा उनलाई आदरभावले हेरिँदो रहेछ । भीम शर्मा यस क्षेत्रका नाम कमाएका वरिष्ठ कलाकार भइहाले । सामाजिक संस्थाहरूमा पनि उनको ठुलो देन रहेकाले समाजमा कलाको स्थानलाई उच्च स्थानमा बसाउन उनले यथेष्ट प्रयास गरेको देखिन्छ । कलासम्बन्धी ‘हामी कलाकार’ भन्ने संस्था र ‘कलावती कला दीर्घा’ उनले सञ्चालन गरेका छन् । जहाँ कलाका कार्यक्रम भइरहन्छन् ।
रामहरि श्रेष्ठ यस क्षेत्रका राम्रा साहित्यकार हुन् । उनले थुप्रै साहित्यिक कार्यक्रम आयोजना गर्नुका साथै सम्पादन, लेखनका साथ पुस्तक पनि प्रकाशनमा ल्याएका छन् । साथसाथै उनी कला कोर्न पनि पोख्त छन् । यसरी यी तीनैजना कलाकारको सक्रियता र पहलले गर्दा पनि सम्भवतः यो साहित्यकारको माहोलमा कलाले पस्न पाएको हुनुपर्छ ।
पोखरातिर
पोखरा त्यसै पनि काठमाडौँ उपत्यकापछि बढी समसामयिक कलाकार रहेको ठाउँ हो । नेपालका हरेकजसो क्षेत्रका कलाकार अस्थायी र अनि स्थायी रूपमै काठमाडौँ उपत्यका पस्न वा बस्न रुचाउने गरेका छन् । यस मानेमा पोखरा अलि अलग्ग छ । यहाँ कलाकार आफैँले कलाको वातावरण बनाएका छन् । यसर्थ यहाँका कलाकारलाई अन्य क्षेत्रले त्यति तान्न सकेको देखिँदैन ।
आफ्नै जन्मथलोमै बसी निमग्न भएर कला सिर्जना गरिबसेका कलाकार यहाँ देखिन्छन् । नेपालका राष्ट्रियस्तर र मूलधारका धेरै कलाकार यहीँ छन् । प्रभाववादी जलरंगी चित्रहरू बगुन्द्रो बनाउने ठाउँ हो पोखरा । पर्यटन क्षेत्र भएका कारण यहाँ यस्ता कलाहरूको अत्यधिक मात्रामा सिर्जना र बिक्री हुने गरेको छ ।
पोखराको कलाकै तर कसैले नगरेको वा गर्न नसकेको काम व्यवसायी अशोक पालिखेको सक्रियतामा भएको छ । उनले आफ्नै स्कुलमा ठुल्ठुला कक्षलाई प्रयोग गर्दै ‘जेके चित्रकला संग्रहालय’को स्थापना गरेका छन् । यद्यपि यो राम्रोसँग व्यवस्थित भइसेको छैन, तर यो संग्रहालय २०६८ सालमै उद्घाटन भइसकेको रहेछ ।
कुमुदिनी होम्स उच्च मावि गैह्रपाटन पोखरामा स्थापित यो कला संग्रहालयमा धेरै कलाकारका कला प्रदर्शित छन् । केहीको नाम लिउँ— चतुररत्न उदास, जीवरत्न शाक्य, तेजबहादुर चित्रकार, चन्द्रमान सिंह मास्के, लैनसिह वाङ्देल, उत्तम नेपाली, रामानन्द जोशी, अमर चित्रकार, डीबी चित्रकार, केजी रञ्जित विजय थापा, शशिविक्रम शाह, मनुजबाबु मिश्र, वत्सगोपाल वैद्य, इन्द्र प्रधान, कृष्ण मानन्धर, शंकरराज सिंह सुवाल, शारदा चित्रकार, मदन चित्रकार, के के कर्माचार्य, किरण मानन्धर, उमाशंकर शाह, रागिनी उपाध्याय, मुकेश मल्ल, बुद्धि गुरुङ, नरेश सैँजु, जीवनराज उपाध्याय, एरिना ताम्रकार, आशा डंगोल, प्रमिला वज्राचार्य, सुनिता राणा, सरिता डंगोल, मनिषलाल श्रेष्ठ, चिराग वाङ्देल, सुनिल सिग्देल उदयचरण श्रेष्ठ, डी राम पाल्पाली, मुकेश श्रेष्ठ, रमेश श्रेष्ठ, सागर मानन्धर, संगी श्रेष्ठ, एससी सुमन लगायत (सबै कलाकारहरूको नाम उल्लेख गरिएको छैन) ।
हर्क गुरुङ अनि श्यामदास अशान्त जस्ता कलाकारका बहुमूल्य चित्र यो सङ्कलनमा रहनु महत्त्वपूर्ण काम हो ।
नेपाली कलामा विशिष्ट योगदान पु¥याएका यस क्षेत्रका कलाकार दुर्गा बरालको त अलग्गै कक्ष तयार पारी उनैका मात्र कला अलग्ग प्रदर्शन गरिएको छ । तत्कालीन प्रधामन्त्री जुद्धशमशेरले पहिलोपल्ट (वि.सं. १९९० मा) कला स्कुल खोले, जसका कलागुरु चतुररत्न उदास थिए । त्यस बखतका विद्यार्थी मात्र तीनजना थिए— जीवरत्न शाक्य, चन्द्रबहादुर मानन्धर अनि कालिदास श्रेष्ठ । यी चारैजना चित्रकारका चित्र यहाँ छन् ।
जुद्धले खोलेको कला स्कुल पछि (वि.सं. २००० मा) जुद्धकला पाठशाला हुँदै नेपालमा पहिलो एक मात्र कला अध्ययन गर्ने निकाय (ललितकला क्याम्पस)मा परिणत भएको हो ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कलाकार चन्द्रमान सिंह मास्के र तेजबहादुर चित्रकारलाई पहिलोपल्ट विधिवत कला शिक्षा लिन ‘कलकत्ता स्कुल अफ् आर्ट’मा पठाए । यी कलाकार नै नेपालका पहिला प्रशिक्षित कलाकार हुन् । जसले हुर्कंदै गएको कलाको औपचारिक कला शिक्षालाई व्यवस्थित गर्न निकै मद्दत गरे । यी दुई कलाकारका चित्र पनि यस संग्रहालयमा राखिएका छन् ।
नेपाली समसामयिक कलाको शुभारम्भका बेलामा देखापरेका यी कलाकारकै बारेमा खासै खोज–अनुसन्धान भएका छैनन् । यसबारे गरिनुपर्ने लेखिनुपर्ने धेरै कुरा छन् । यसका लागि यहाँ रहेका उनका चित्रलाई महत्त्वपूर्ण दस्ताबेज वा स्रोत सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । यस्ता पुराना र महत्त्वका चित्र या त विदेशमा पुगिसके वा परिवारसँग छन् । अहिले पनि अधिकांश परिवारका सदस्यले यस्ता पुराना चित्र देखाउन पनि झिजो मान्छन् । यस्तो अवस्थामा यो सङ्ग्रहालय राम्रो स्रोतबिन्दु हुन सक्छ ।
पुराना कला र कलाकार बारेमा; व्यक्ति विशेष कलाकारको शैली प्रवृत्ति र विशेषताहरूको पहिचानका बारेमा अभिलेखन, मूल्यांकन, विश्लेषण र समीक्षा गर्ने एउटा संस्कारको थालनी आवश्यक छ । यस्तो कला–संस्कार बस्न सक्यो भने नेपाली कला क्षेत्रका लागि ठुलै परिवर्तनको द्योतक हुने थियो । यस म्युजियमका संस्थापक अशोक पालिखे भन्छन्, ‘अब अरु केही चित्रहरू सङ्कलन गर्नु छ, यसपछि यसलाई विधिवत ओपनिङ गर्ने सुरसारमा छौँ ।’
कलाको क्षेत्रमा यो उनको काम बिस्तारै बिस्तारै चर्चाको शिखरमा देखिन थालेको छ । विशेष गरी नेपाली समसामयिक कलाका बारेमा अनुसन्धान गर्नेका लागि यो एउटा भरपर्दो र गतिलो केन्द्रका रूपमा विकसित हुँदै छ । नेपाली समसामयिक कलाको अध्ययनका लागि रहेको एक मात्र आधुनिक कलाको सङ्ग्रहालय अहिले बन्द छ । वीरेन्द्र कला सङ्ग्रहालयको नाममा रहेको उक्त संग्रहालयलाई ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनापछि नाम परिवर्तन गरी राष्ट्रिय कला सङ्ग्रहालय बनाइएको थियो, जुन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मातहतमा थियो ।
०७२ को भूकम्पमा सीता भवन भत्किएर बस्न नहुने भयो । त्यस भवनका ठुल्ठुला कक्षमा प्रदर्शन हुने गरेका नेपालका धेरै आधुनिक कला अहिले कस्तो अवस्थामा छन्, थाहा छैन । यी कला अहिलेसम्म पुनः प्रदर्शनमा राखिएका छैनन् ।
यसर्थ पोखराका व्यवसायी अशोक पालिखेको सङ्कलनमा रहेका यी चित्र विशेष महत्त्वका छन् । काठमाडौँ उपत्यकामा कलाका सङ्कलक नरहेका होइनन्, आर्ट कलेक्टरसँग अझ बढी मात्रामा नेपाली कला होलान्, तर पनि ती कला बिक्रीका लागि राखिने हुनाले आम भावकको पहुँचमा छैनन् ।
हाम्रा मूर्धन्य कलाकारहरू जो दिगंवत भएर गइसके, उनीहरूका कला परिवारसँग होलान् । ती कला सर्वसाधारणका पहुँचमा छैनन् । त्यसैले हामीकहाँ आधुनिक कलाको सङ्ग्रहालय आवश्यक छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)