आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

उच्च नाफा आर्जन गर्ने शीर्ष स्थानमा नबिल बैंक

सोमबार, २१ साउन २०८१, १३ : ०७
सोमबार, २१ साउन २०८१

काठमाडौं । उच्च नाफा आर्जन गर्नेको शीर्ष स्थानमा नबिल बैंक देखिएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा खुद ७ अर्ब ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष बैंकले कमाएको नाफाको तुलनामा १०.२३ प्रतिशतले बढी हो । 

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  समीक्षा वर्षमा २० वटा वाणिज्य बैंकहरुले कूल ६४ अर्ब १५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्दैगर्दा नबिल एक्लैले ७ अर्बमाथिको नाफा आर्जन गर्नु आफैँमा ठूलो उपलब्धि हो । यो कूल नाफाको ११ प्रतिशतको हिस्सा हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । तथापि, बैंकको इम्पेयरमेन्ट चार्ज घटेकाले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ । 

यस्तै बैंकको सञ्चालन नाफा ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ भने असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ ।  यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसाले बढेर २६ रुपैयाँ ०९ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप