बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

एकाधिकार विरोधी कानुन तोडेको मुद्दा गुगलले हार्‍यो

मङ्गलबार, २२ साउन २०८१, १२ : १७
मङ्गलबार, २२ साउन २०८१

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगललाई ठुलो झट्का लागेको छ । अमेरिकामा एकाधिकार विरोधी कानुनको उल्लङ्घन गरेको मुद्दामा सोमबार एउटा सङ्घीय अदालतले गुगलको विपक्षमा फैसला सुनाएको छ । 

साक्षीहरूले दिएको बयान र उपलब्ध प्रमाणमाथि विचार मनन गरेपछि गुगल स्वेच्छाचारी भएको र सर्च इन्जिनको क्षेत्रमा आफ्नो वर्चश्र्वको उसले दुरुपयोग गरेको भेटिएको सोमबारको फैसलामा कोलम्बियाकी जिल्ला न्यायाधीश अमित मेहताले भनेकी छिन् ।

स्मार्टफोन र वेब ब्राउजरमा आफूलाई डिफल्ट सर्च इन्जिन बनाउन कम्पनीले दसौँ अर्ब डलर खर्चेर एप्पललगायत अन्य कयौँ कम्पनीसँग विशेष करार गरेको थियो । सर्च इन्जिन बजारमा आफ्ना दबदबाको दुरुपयोग गरेर प्रतिस्पर्धा मिच्ने व्यवहार रोक्नै पर्ने मेहताले भनेकी छिन् । सन् २०२० मा अनलाइन सर्च बजारको झन्डै ९० प्रतिशत गुगलले आफ्नो कब्जामा लिएको भन्दै अमेरिकाको न्याय मन्त्रालयले कम्पनीमाथि मुद्दा हालेको थियो ।

सोमबारको फैसलाले गुगलको मातृ कम्पनी अल्फाबेटलाई समेत ठुलो झट्का दिएको छ । यस मामिलामा कम्पनीले तिर्नु पर्ने जरिवाना पछि तोकिने भएको छ । यो फैसलापछि अब कम्पनीले आफ्नो व्यवसायको पुनः संरचना गर्नु पर्नेछ । कम्पनी नै टुक्र्याउनु पर्ने स्थिति पनि आउन सक्नेछ । यो फैसलाको विरुद्धमा अदालतमा जाने योजना अल्फाबेटले बनाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप