बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

इजरायल रोजगारी : केयरगिभरको नक्कली सर्टिफिकेट ३० हजारमा बिक्री

नक्कली सर्टिफिकेटसहितका आवेदन रद्द
मङ्गलबार, २२ साउन २०८१, १८ : ००
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पदमा आवेदन खुलाएपछि नक्कली सर्टिफिकेटको बिक्री भएको पाइएको छ । 

विभागले आवेदन दिएकाहरूमध्ये ५६३ वटा आवेदन रद्द गरेको छ । तीमध्ये अधिकांश नक्कली सर्टिफिकेटवालाहरू छन् । नयाँ बानेश्वरमा रहेको सिटी एज केयर ट्रेनिङ एन्ड रिसर्च सेन्टरले प्रतिव्यक्ति ३० हजार रुपैयाँ लिएर केयरगिभरको सर्टिफिकेट बेचेको पाइएको हो । एक सय भन्दा बढी व्यक्तिबाट प्रतिव्यक्ति ३० हजार रुपैयाँ लिएर तीन महिने केयरगिभरको सर्टिफिकेट बेचेको पाइएको हो । 

त्यसरी बनाइएको नक्कली सर्टिफिकेट विभागले रिजेक्ट गरिदिएपछि उक्त कुरा बाहिर आएको हो । अहिले नक्कली सर्टिफिकेट बनाएकाहरूले सेन्टरबाट पैसा फिर्ता माग्न थालेका छन् । उनीहरूमध्ये केहीले नक्कली सर्टिफिकेट बनाउने सेन्टरविरुद्ध मुद्दा हाल्ने समेत तयारी गरेका छन् ।

रातोपाटीलाई प्राप्त प्रमाण अनुसार एक व्यक्तिलाई १२ मार्च २०२३ देखि १२ जुन २०२३ (२८ फागुन २०७९ देखि २९ जेठ २०८० सम्म) को केयरगिभरको प्रमाणपत्र दिइएको छ । जबकि उनले एक महिना अघि मात्रै केयरगिभरको तालिम लिन लागेका थिए । तर, सेन्टरले २०७९ फागुनदेखि २०८० जेठसम्म तीन महिनाको सर्टिफिकेट पढ्दै नपढी दिएको हो । त्यसका लागि सेन्टरले ३० हजार रुपैयाँ लिएको ती व्यक्तिले बताए । 

विभागले सीटीईभीटीबाट मान्यताप्राप्त नभएको भन्दै आवेदनहरू रद्द गरेपछि यो विषय बाहिर आएको हो । त्यसपछि रिजेक्ट भएकाहरूले सेन्टरबाट पैसा फिर्ता माग्न थालेका छन् । 

यसअघि सीटीईभीटीबाट मान्यताप्राप्त गरेको भन्दै उनीहरूलाई सर्टिफिकेट दिएको थियो । त्यो पनि पढाउँदै नपढाई पुरानो मिति राखेर दिने गरेको पाइएको हो । 

आवेदन रिजेक्ट भएकाहरूको हकमा विभागको अनलाइन सिस्टमले सीटीईभीटीबाट सम्बन्धन प्राप्त पत्र र स्टेम्प भएको कागजात पेस गर्न भनेको थियो । तर, उनीहरूले त्यस्तो प्रमाणपत्र पेस गर्न नसकेकोपछि रद्द गरिएको विभागले जनाएको छ । 

care giver certificate  (2)

एक व्यक्तिले भरेको फारम रिजेक्ट गर्दै भनिएको छ, ‘सीटीईभीटीबाट रेकर्डमा नदेखिएको र नो एफिलेशन भनि जानकारी आएकाले ।’

विभागको रेकर्डमा समेत सिटी एजकेयर सीटीईभीटीबाट सम्बन्धन लिएर केयरगिभरको तालिम लिने संस्था नभएको देखाएको छ । उक्त संस्थाबाट लिइएको सर्टिफिकेटसहित आवेदन परेपछि विभागले सीटीईभीटीलाई भेरिफिकेशनका लागि पठाएको थियो । तर, सीटीईभीटीबाट सम्बन्धन लिएको नपाइएपछि रिजेक्ट गरिएको विभागले जनाएको छ । 

सम्बन्धन नलिई पठनपाठन 

सिटी एज केयरले सीटीईभीबाट सम्बन्धन नै नलिई ३९० क्रेडिट आवर बराबरको केयरगिभरको तालिम प्रदान गर्दै आएको पाइएको छ । त्यो पनि पढाउँदै नपढाई पुरानो मिति राखेर सर्टिफिकेट दिने र पछि पढाउने गरेको पाइएको हो । 

सिटीले सम्बन्धनका लागि सीटीईभीटीमा प्रस्ताव गरेको थियो । सीटीईभीटीले २०८१/०१/०९ गते प्रतिवेदन बनाएर एक समूहमा २० जनालाई तालिम दिन सकिने भौतिक पूर्वाधार तयारी भएको टिप्पणी उठाएको थियो । सोही आधारमा सम्बन्धन स्वीकृतिका लागि सिफारिस गरिएको थियो । तर, हालसम्म पनि उक्त संस्थाले सम्बन्धन पाइनसकेको सीटीईभीटीले जनाएको छ । सम्बन्धन नपाउँदै सिटीले विद्यार्थीहरूलाई ब्याक डेट राखेर सर्टिफिकेट दिँदै आएको हो । 

सिटी एज केयरका सीईओ तथा फाउन्डर सुवास खड्काले सीटीईभीटीबाट सम्बन्धन लिने प्रक्रियामा रहेको बताए । आफूले सम्बन्धनका लागि सीटीईभीटीमा यसअघि नै आवेदन दिएको तर, हालसम्म निर्णय नभएको बताए । तर, सीटीईभीटीबाट प्रतिवेदन तयार भइसकेको र उक्त प्रतिवेदनलाई नै आफूहरूले सम्बन्धन पाइसकेको भन्ने बुझाएको उनको भनाइ छ । 

‘सम्बन्धनका लागि चेकगर्न सीटीभीटीईबाट आएर अनुगमन गर्नुभएको थियो । त्यो बेला एउटा यो यो गर्न पाउने भनेर लिस्ट दिनुभएको थियो । त्यसपछि कुनै नोटिस आएन,’ खड्काले भने, ‘त्यसैलाई हामीले सम्बन्धन पाएको होला भन्ने सोच्यौ । पछि सर्टिफिकेट रोकिएपछि मात्रै थाहा भयो ।’ 

ctevt notice

सीटीईभीटीले सम्बन्धनको विषयमा हालसम्म कुनै निर्णय नगरेको जानकारी आफूहरूलाई अहिले आएर थाहा पाएको उनको भनाइ छ । 

सीटीईभीटीमा बुझ्न गएपछि सबै विद्यार्थीको पैसा फिर्ता गर्न लागेको बताए । आफूले सर्टिफिकेट घर घरमा गएर नबाँडेको उनको भनाइ छ । 

सर्टिफिकेट किनेर पछि पढाउने थुप्रै संस्थाहरू रहेको बताउँदै आफ्नो बारेमा मात्रै प्रश्न उठाउन नमिल्ने उनले बताए । 

‘अरू कतिपयले सर्टिफिकेट मात्रै बेचिरहेका छन् । उनीहरूका विरुद्ध कसैले बोल्न सकेका छैनन् । उनीहरूका विद्यार्थी मेरोमा आएर पढिरहेका छन् । तपाईँले हाम्रो विषयमा कुरा उठाउन पाउनुहुन्न । उठाउने हो भने सबैको कुरा उठाउनुपर्छ । हाम्रो मात्रै कुरा उठाउन पाउनुहुन्न,’ उनले भने । 

आफूले कमसेकम एक महिना भए पनि पढाएको तर, अन्य कतिपयले नपढाउँदै सर्टिफिकेट दिने गरेको उनको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप