आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अल्भारेज म्यानचेस्टर सिटी छाडेर एट्लेटिको मड्रिड जाने पक्का

मङ्गलबार, २२ साउन २०८१, १५ : ५७
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । अर्जेन्टिनाका स्ट्राइकर जुलियन अल्भारेज इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी छाडेर स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्ध हुने भएका छन् । एट्लेटिको मड्रिड २४ वर्षीय अल्भारेजलाई भित्राउन सहमत भएको छ ।

यस विषयमा म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिडबिच अन्तिम चरणको सम्झौता हुन बाँकी रहेको समाचारमा जनाइएको छ । अल्भारेजका लागि एट्लेटिको मड्रिडले क्लबको कीर्तिमानी रकम आठ करोड २० लाख पाउन्ड खर्चने भएको छ ।

अल्भारेज सन् २०२२ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले अल्भारेजलाई केही समयका लागि ऋणमा खेल्न अर्जेन्टिनी क्लब रिभर प्लेट पठाएको थियो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि एट्लेटिको मड्रिडले अल्भारेजसँग कुराकानी गर्ने भएको छ । उनी अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि चुमाउने टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनले सन् २०२२ मा म्यानचेस्टर सिटीसँग १४ लाख पाउण्डमा सम्झौता गरेका थिए ।

त्यसपछि गत वर्ष उनले म्यानचेस्टर सिटीसँगै सन् २०२८ सम्मका लागि सम्झौता नवीकरण गरेका थिए । सन् २०२२–२३ सिजनमा म्यानचेस्टर सिटीलाई तीनवटा महत्त्वपूर्ण प्रतियोगिताको उपाधि चुमाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अघिल्लो सिजन पनि उनले म्यानचेस्टर सिटीका लागि प्रिमियर लिगमा ११ गोल गरेका थिए । अघिल्लो सिजन म्यानचेस्टर सिटी लगातार चारपटक इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने पहिलो क्लब बनेको थियो । सन् २०२०–२१ सिजनपछि म्यानचेस्टर सिटीले लगातार प्रिमियर लिग जित्दै आएको छ ।

अल्भारेजले एट्लेटिको मड्रिडबाट अगस्त २० तारिखमा पहिलो खेल खेल्ने सम्भावना छ । स्पेनिस ला लिगाको नयाँ सिजनमा एट्लेटिको मड्रिडले भिल्लारियलसँग पहिलो खेल खेल्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप