यी जिल्लामा दुई दिन रात्रिकालीन बस सञ्चालन गर्न रोक
काठमाडौँ । सरकारले मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेसँगै ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग र गोरखामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।
यस्तै कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा पनि रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।
रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।
यस्तै भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने जस्ता निर्णय पनि प्राधिकरणले जनाएको छ ।
भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरूका तीनवटै सुरक्षा निकायहरु तयारी अवस्थामा रहने निर्णय भएको छ भने भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ ।