विद्युत् प्राधिकरणले कहाँ कति विद्युत् उत्पादन गर्दैछ ?
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र नभई विद्युत् उत्पादनमा पनि लगानी बढाएको बताएका छन् । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट
र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी र २० मेगावाटको रोल्वालिङ आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको रिपोर्ट पेस गरेका छन् । यसैगरी प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरू
सञ्चालनको अन्तिम चरणमा पुगेका छन् । चिलिमे जलविद्युत कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरू अगाडि बढाएको छ ।
यसैगरी ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोसी पाँचौको निर्माण सुरु भएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।
एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् । दुवै आयोजनाहरूको निर्माण पूर्वका तयारीका कार्यहरू भइरहेका छन् । ६८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनालाई भने नेपाल र बङ्गलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको घिसिङले जानकारी दिए ।
त्यस्तै दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रूपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिसकिएको कार्यकारी निर्देशक घिसिङले बताए ।
दैनिक माग र आपूर्ति बिचको उतारचढावलाई व्यवस्थापन गरी प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन देशका विभिन्न ठाउँमा करिब ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत आयोजनाहरूको पहिचान गरी केही उत्कृष्ट आयोजनाहरूको थप अध्ययन अगाडि बढाइएको समेत घिसिङले जानकारी दिए ।
प्राधिकरणको सेवा अझ प्रभावकारी बनाउन, प्रणालीलाई स्वचालित बनाउन तथा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न संस्थालाई डीजीटाईजेसन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सूचना प्रविधि मार्गचित्रलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याई ‘डिजिटल एनईए’ अवधारणा अनुरूप प्राधिकरणका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्य समेत सुरु गरिसकिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।