आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

डोपिङ परीक्षणमा अनुपस्थित भएपछि प्रतिबन्धमा परे स्वर्ण विजेता भारतीय खेलाडी

मङ्गलबार, २९ साउन २०८१, १३ : ५२
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । गृष्मकालीन पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदै छ । फरक क्षमता भएका खेलाडीहरूका लागि आयोजित पारा ओलम्पिक अगस्त २८ देखि सेप्टेम्बर ८ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता सुरु हुन करिब दुई साता समय बाँकी रहँदा भारतलाई गतिलो धक्का लागेको छ । पेरिस पारा ओलम्पिकमा भारतीय ब्याडमिन्टन खेलाडी प्रमोद भगतले स्वर्ण पदक जित्ने अनुमान गरिएको थियो । यसअघि सन् २०२० मा सम्पन्न पारा ओलम्पिकमा पनि उनले स्वर्ण पदक जितेका थिए ।

तर, पेरिस पारा ओलम्पिकको सँघारमा आएर उनी प्रतिबन्धमा परेका छन् । ओलम्पिकमा वा पारा ओलम्पिकमा सहभागी हुनुअघि खेलाडीले प्रतिबन्धित औषधी सेवन गरे–नगरेको विषयमा डोपिङ परीक्षण गरिन्छ ।

डोपिङ परीक्षणमा असफल हुने खेलाडीलाई ओलम्पिक लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट रोक लगाइन्छ । पेरिस पारा ओलम्पिकअघि भारतीय खेलाडी प्रमोद भगतलाई पनि डोपिङ परीक्षणका लागि बोलाइएको थियो ।

तर, पटक–पटक डोपिङ परीक्षणका लागि बोलाउँदा पनि अनुपस्थित भएपछि प्रमोद भगतमाथि प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । विश्व ब्याडमिन्टन सङ्घ (बीडब्लूएफ) ले पनि प्रमोद भगतमाथि १८ महिनाका प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ ।

उनीमाथि लगाइएको प्रतिबन्ध सन् २०२५ को सेप्टेम्बर १ तारिखसम्म कायम रहने बताइएको छ । उनले टोकियो पारा ओलम्पिकको ब्याडमिन्टनमा पुरुष एकल एसएल–३ श्रेणीतर्फ स्वर्ण पदक जितेका थिए । त्यसअघि कुनै पनि भारतीय खेलाडीले पारा ओलम्पिकको ब्याडमिन्टनमा स्वर्ण पदक जित्न सकेको थिएन ।

पारा ओलम्पिकमा एसएल–३ श्रेणीमा ती खेलाडीलाई समावेश गरिन्छ, जसको एउटा वा दुबै खुट्टामा मांसपेशी सम्बन्धी समस्या भएको हुन्छ । प्रमोद भगतको जन्म सन् १९८८ मा भएको थियो । उनी पाँच वर्षको उमेरदेखि नै पोलियोबाट ग्रसित भएका थिए ।

पोलियोका कारण उनको बायाँ खुट्टामा समस्या देखिएको थियो । पोलियोबाट ग्रसित भए पनि उनी ब्याडमिन्टन खेलमा होमिएका थिए । लगातारको प्रशिक्षण र बलियो आत्मविश्वासका कारण उनले पारा ओलम्पिकमा समेत स्वर्ण पदक जित्न सकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप