तथ्यांकमा मुलुकको अर्थतन्त्र : सरकारको ऋण २४ खर्ब ३३ अर्ब
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्यो । गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकमा आधारित उक्त प्रतिवेदनमा मुलुकको आर्थिक अवस्था थोरै सुधारिएको देखिन्छ । गत वर्ष मूल्यवृद्धि ५.४४ प्रतिशतमा सीमित भएको छ । ब्याजदर घटेको छ । विदेशी विनिमय सञ्चिति पर्याप्त छ । जसले १५ महिनाको आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका मुख्य बुँदाहरू :
मूल्यवृद्धि घट्यो
नेपाल राष्ट्र बैंकका अनुसार गएको असारमा मूल्यवृद्धि ३.५७ प्रतिशत रह्यो । अघिल्लो वर्ष २०८० असारमा ७.४४ प्रतिशत थियो ।
गत आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ५.४४ प्रतिशतमा सीमित रह्यो । आव २०७९/८० मा ७.७४ प्रतिशत थियो ।
चीनतर्फ व्यापार बढ्दै
गत आवमा समग्र आयात, निर्यात घटे पनि चीनतर्फ नेपालको व्यापार भने बढेको छ । गत वर्ष कुल वस्तु निर्यात ३ प्रतिशतले कमी आयो । आव २०८०/८१ मा नेपालले जम्मा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, सोयाविन तेल, ऊनी गलैंचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
निर्यात मात्रै होइन गत आवमा आयात पनि १.२ प्रतिशतले कमी आएको छ । गत वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३ प्रतिशत र १७.६ प्रतिशतले घटेको छ । चीनबाट भएको आयात भने ३४.२ प्रतिशतले वृद्धि भएको छ ।
रेमिट्यान्स बढ्यो
गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशतले बढी हो ।
गत आवमा ७ लाख ४१ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन् । २०७९/८० मा चाहिँ ७ लाख ७५ हजार युवाले रोजगारीका लागि देश छोडेका थिए ।
गत वर्ष संस्थागत तथा व्यक्तिगत रुपमा नयाँ ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।
पर्याप्त विदेशी मुद्रा
गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड कुल विदेशी मुद्रा सञ्चिति रहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड सञ्चिति थियो ।
आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड छ । २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । अन्य बैंक तथा वित्तीय संस्थामा १ खर्ब ९२ अर्ब ५५ करोड छ ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । विदेशबाट सामान आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुँदा डलर सञ्चिति पर्याप्त हुनुलाई सकारात्मक मानिन्छ ।
२०८० असारको तुलनामा २०८१ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.६४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ २.७९ प्रतिशतले अवमूल्यन भएको थियो ।
२०८१ असार मसान्तमा अमेरिकी डलर १ को खरिददर १३३.३६ रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १३१.१७ थियो ।
घाटामा सरकार
आर्थिक वर्ष २०८०/८१ मा सरकारको वित्त स्थिति ३ खर्ब ८२ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४ खर्ब ९१ अर्ब ७८ करोडले घाटामा थियो ।
गत आवमा सरकारले १० खर्ब ५८ अर्ब ९० करोड राजस्व संकलन गरेको छ । जबकि यो अवधिमा सरकारी खर्च १४ खर्ब ८ अर्ब भएको छ ।
अघिल्लो वर्ष २०७९/८० मा ९ खर्ब ५७ अर्ब ३५ करोड राजस्व संकलन गरेको सरकारले १४ खर्ब २१ अर्ब ३३ करोड खर्च गरेको थियो ।
सरकारको ऋण २४ खर्ब ३३ अर्ब
आर्थिक वर्ष २०८०/८१ मा सरकारले २ खर्ब ३४ खर्ब ४२ करोड आन्तरिक ऋण परिचालन गरेको छ । यो अवधिमा १ खर्ब ८२ अर्ब ६२ करोड साँवा भुक्तानी गरेको छ । यसअनुसार गत आवमा ५१ अर्ब ८० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ०.९ प्रतिशत हो । गत वर्ष सरकारले १ खर्ब २३ अर्ब ६१ करोड बाह्य ऋण परिचालन गर्यो ।
गएको असार मसान्तमा सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३३ अर्ब २४ करोड पुगेको छ । जसमध्ये बाह्य ऋण १२ खर्ब ५२ अर्ब ३४ करोड र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको छ । २०७९÷८० मा यो अनुपात ४२.९९ प्रतिशत रहेको थियो ।
२०८१ असार मसान्तमा सरकारी खातामा ९९ अर्ब २७ करोड नगद मौज्दात रहेको छ ।
बढेन कर्जा प्रवाह
गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ । जुन अघिल्लो वर्ष २०७९/८० को भन्दा ५.८ प्रतिशत मात्रै बढी हो ।
प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ ।
निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीहरूको ७.७ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।
ब्याजदर घट्यो
२०८० असारमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२.३० प्रतिशत, विकास बैंकहरूको १४.१० प्रतिशत र वित्त कम्पनीहरूको १४.८२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असारमा कर्जाको औसत ब्याजदर क्रमशः वाणिज्य बैंकको ९.९३ प्रतिशत, विकास बैंकको ११.३४ प्रतिशत र वित्त कम्पनीको १२.५५ प्रतिशत कायम भएको छ ।
त्यस्तै गत वर्षको असारमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ७.८६ प्रतिशत, विकास बैंकहरूको ९.१४ प्रतिशत र वित्त कम्पनीहरूको ९.७९ प्रतिशत थियो । २०८१ असारमा निक्षेपको औसत ब्याजदर क्रमशः ५.७७ प्रतिशत, ६.६३ प्रतिशत र ७.९३ प्रतिशत छ ।
२०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १०.३ प्रतिशत, विकास बैंकहरूको १२.१५ प्रतिशत र वित्त कम्पनीहरूरुको १३.४१ प्रतिशत थियो । २०८१ असारमा औसत आधार दर क्रमशः ८ प्रतिशत, ९.७१ प्रतिशत र ११.२१ प्रतिशत कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको मुनामा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो
-
साढे ५ खर्बको आयोजनामा पुँजी जुटाउन १५ दिनको समय
-
मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छः वनमन्त्री शाही
-
एनआरएनए यूकेको निर्वाचन १२ जुलाईमा, प्रमुख आयुक्तमा सिम्खडा
-
बशर अल-असद : सुन्नी बहुल देशमा आधा शताब्दीसम्म शासन गर्ने शिया परिवारका उत्तराधिकारी
-
सिरियाबारे इरान– असदले हामीसँग सहयोग मागेनन्