रुरल डेभलप्मेन्ट सहकारीका अध्यक्षले ठगे बचतकर्ता र आफ्नै सञ्चालकलाई
काठमाडौँ । सहकारी ठगीको फेरि अर्को घटना बाहिरिएको छ । काठमाडौँ महानगरपालिका २ लाजिम्पाट कार्यालय रहेको रुरल डेभलप्मेन्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको अध्यक्षसहित केही सञ्चालक मिलेर बचतकर्ताको करोडौं रुपैयाँ ठगी गरेको खुल्न आएको हो ।
सहकारीका अध्यक्ष आङबाबु राई, सचिव विनोदमणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठको मिलेमतोमा संस्थामा आफूखुसी कारोबार गर्ने, बचत संकलन गर्ने र ऋण असुलीको नगद तथा जिन्सी सम्पत्ति सञ्चालक स्वयंको व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुल्न आएको हो ।
उनीहरूले बचतकर्ताका साथै सहकारीका सञ्चालकसमेत रहेका बिबबहादुर राईलाई समेत ठगेका छन् । बिबबहादुर र इन्द्रकुमार राईको उजुरीका आधारमा काठमाडौँ महानगरपालिकाले सहकारीमाथि गरेको अनुसन्धानमा अध्यक्ष राईसहित सञ्चालकले व्यापक आर्थिक अनियमितता गरेको खुलेको छ ।
वैशाख १८ गते काठमाडौँ महानगरपालिकाले संस्थामाथि गरेको अनुगमनका क्रममा दर्ता नं.३२९७/०६६/६७ तथा दर्ता मिति २०६७/०३/२४ रही काठमाडौँ महानगरपालिका वडा नं.२ मा कार्यक्षेत्र रहने भनिए पनि भूमिगत रूपमा संस्था काठमाडौँ १६ स्थिति सोह्रखुट्टेमा सञ्चालन गरेको पाइएको महानगरपालिकाले जनाएको छ ।
कुल सेयर पुँजी ८१ लाख ६८ हजार ३ सय रुपैयाँ रहेको संस्थाको २०७५/७६ देखि साधारण सभा हुन नसकेको, स्थापनाकालदेखि नै राई एक्लै अध्यक्ष हुँदै आएको महानगरले जनाएको छ ।
पैसा अध्यक्षको खातामा
रुलर डेभलप्मेन्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, गैरसरकारी संस्था (एनजीओ) नेपाल रुरल डेभलप्मेन्ट फाउण्डेशन (एनआरडिएफ) बाट स्थापना भएको हो । संस्थाकै कर्मचारीहरुको बचत तथा ऋणको कारोबार गर्ने भन्दै अध्यक्ष राईले सहकारी दर्ता गरेका थिए । तर, पछि संस्थाको उद्देश्य बाहिर गएर एनआरडिएफ कर्मचारी बाहिरकालाई सदस्यता बाँडेको र बचत रकम संकलन गरेको महानगरको भनाइ छ ।
संस्थाको अध्यक्ष र कोषाध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि राईले मनलाग्दी ऋण प्रवाह र असुली मच्चाएको अनुगमन रिपोर्टमा उल्लेख गरिएको छ ।
‘अध्यक्ष राईले केही सञ्चालकको मिलेमतोमा विना धितो कर्जा प्रवाह गर्ने गरेका थिए । ऋणीबाट २३ प्रतिशतसम्म ब्याज लिने गरेको पाइएको छ । कर्जा लगानी गर्दा दोस्रो पक्षको जमानी राख्ने नगरेको तर ऋणी बाहेक दोस्रो ऋणी खडा गरी कर्जा तमसुकमा हस्ताक्षर गराउने गरेको पाइयो’ महानगरपालिकाले अनुगमनपछि तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्यक्ष राईले ऋण प्रवाहमा १ देखि २ प्रतिशतसम्म सेवा शुल्क असुल्ने गरेको, ऋण नवीकरण शुल्क लिने गरेको र उक्त शुल्क संस्थामा नहालेर अध्यक्ष राईले आफ्नो व्यक्तिगत खातामा हाल्ने गरेको समेत महानगरले प्रतिवेदनमा उल्लेख गरेको छ ।
मुद्दती खाता परिपक्व भएपछि सम्बन्धित ग्राहकलाई भुक्तानी नदिएर अध्यक्ष राईले आफ्नै नाम उल्लेखित बैंकमा रकम जम्मा गर्ने गरेको फेला परेको हो ।
गैरकानुनी रूपमा अध्यक्ष राईले आफैं प्रबन्धक भएर २४ लाख ६७ हजार ४१६ र अध्यक्षको भत्ताबापत १० लाख ३ हजार ४३५ रुपैयाँ स्वीकृत गरी भुक्तानी लिएको समेत खुल्न आएको छ ।
ऋण असुलीको जग्गा व्यक्तिको नाममा
कर्जा लगानी असुलीमा सकारेको जग्गा संस्थाको नाममा नराखी व्यक्तिको नाममा नामसारी गरेको समेत खुल्न आएको छ । सहकारीको कर्जा रकम असुल र लिलामबाट आएको भिमढुंगा ३ स्थित कित्ता नम्बर ६१ को क्षेत्रफल १–११–२–० को जग्गा संस्थाको नाममा नभई कोपाध्यक्ष अप्सरा श्रेष्ठको नाममा पास गरिएको पाइएको छ ।
यस कार्यमा अध्यक्ष राई र सचिव विनोदमणि राईको मुख्य भूमिका देखिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिको अनुगमन र पीडित बचतकर्ताको उजुरीका आधारमा अध्यक्ष राईसहित सञ्चालकमाथि कारबाही गर्न महानगरपालिकाले असार २३ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको थियो । उक्त पत्र प्राप्त गरेपश्चात सीआईबीले असार २५ गते सम्बन्धित पक्षलाई कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त लैनचौरलाई पत्राचार गरेको थियो ।
बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा सोह्रखुट्टे प्रहरी वृत्तले साउन अन्तिम साता अध्यक्ष राईलाई पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिकाले पठाएको अनुगमन प्रतिवेदन र बचतकर्ताको उजुरीका आधारमा अध्यक्ष राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर अर्का दुईजना प्रतिवादी सचिव विनोदमणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठ भने फरार छन् ।
अध्यक्ष राई एमालेका नगर नेता
पक्राउ परेका अध्यक्ष आङबाबु राई नेकपा एमालेका स्थानीय स्तरका नेता भएको पाइएको छ । राजनीतिमा पनि सक्रिय भएकाले आफ्नो शक्ति प्रयोग गर्दै छुट्न सक्ने भन्दै पीडित बचतकर्ताहरुले संशय व्यक्त गरेका छन् । पक्राउ परेका अध्यक्ष राई नेकपा एमालेका सोलुखुम्बु जिल्ला सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुखका उम्मेदवार समेत हुन् । उनी गत निर्वाचनमा पराजित भएका थिए ।
कानुन व्यवसायीसमेत रहेका राईले सरकारी निकायलाई प्रभाव पार्न सक्ने र बाहिरिन सक्ने भन्दै पीडित बचतकर्ताहरुले त्रास व्यक्त गरेका छन् । एमालेकै सरकार भएको र उनको पहुँच माथिसम्म भएकाले निस्कन सक्ने पीडित एक बचतकर्ताले रातोपाटीसँग बताए ।
‘अध्यक्ष राईले सोझासाझा धेरै बचतकर्तालाई ठगेका छन्’ ती पीडित बचतकर्ताले रातोपाटीसँग भने, ‘उनले आफ्नै दिदी भेनालाई समेत ठग्न छाडेका छैनन् । ट्रेकिङ गरेर जिविकोपार्जन गर्ने भनिएको समेत २–४ लाख रुपैयाँ बचत रकम अध्यक्ष राईले हिनामिना छन् ।’
सञ्चालक तथा पीडितमध्येका एक बिबबहादुर राई र बचतकर्ता इन्द्रकुमार राईले अध्यक्ष आङबाबु राईविरुद्ध क्रमशः १७ लाख ५० हजार र २४ लाख रुपैयाँ ठगीको उजुरी हालेका छन् । संस्थाको सञ्चालक समेत रहेका बिबबहादुर राईले आफ्नो नाम मुछी बदनाम गर्ने कार्य भएको भन्दै न्याय दिन काठमाडौँ महानगरपालिकामा २०८० वैशाख २६ गते उजुरी दर्ता गरेका थिए । संस्थाबाट आफूले लिनुपर्ने १७ लाख ५० हजार रुपैयाँ र सेयर रकमबापत ३ लाख ३७ हजार ५ सय रुपैयाँ दिलाइदिन समेत उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहम्मद अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त
-
१० बजे, १० समाचार : बीआरआईमा अमेरिकी चासोदेखि एनपीएलको रोमाञ्चसम्म
-
परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्रीबिच भेटवार्ता
-
आस्थाका आधारमा पक्राउ परेका बन्दीलाई रिहा गर्न बारको माग
-
गण्डकीमा भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति
-
नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक