मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघ विवादः दिनभर कार्यकर्तालाई कुराएर अन्तत अनिश्चतकालिन स्थगित

बुधबार, २६ वैशाख २०७५, १८ : ३३
बुधबार, २६ वैशाख २०७५

काठमाडौं– नेपाल विद्यार्थी संघमा समानान्तर गतिविधिको चरम रुप वुधबारको आयोजना गरिएका दुई कार्यक्रममा देखियो । सुन्दरीजलस्थित वीपी संग्रहालयमा गर्न लागिएको दुवै कार्यक्रम दिनभर हुने÷नहुने अन्योलमै रह्यो । वुधवारको कार्यक्रमका लागि दुवै समुह मंगलवार अबेर रातिसम्म मञ्चको तयारीमा जुटेका थिए । संघका सभापति नैनसिंह महर समुहले संग्रहालयको भित्री भागमा मच्च तयार गरेको थियो भने महामन्त्री कुन्दन काफ्लेको समुहले गेटबाट छिर्नासाथ संग्राहलयको परिसरमा मञ्च बनाएका थिए ।

देशभरबाट प्रशिक्षणका लागि आएका नेविसंघ कार्यकता बिहान सबेरै कार्यक्रम स्थलमा पुगिसकेका थिए । त्यस्तै महामन्त्री काफ्लेको समुहले आयोजना गरेको छलफल तथा अन्तक्रियाका लागि पनि नेविसंघका कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो । बिहान आठ बजेका लागि बोलाइएको दुवै कार्यक्रमलाई अन्ततः अनिश्चितकालका लागि रोकिएको छ ।  

संघका सभापति र महामन्त्रीलाई पार्टी सभापति शेरबहादुर देउवाले विवाद साम्य गर्न बैठकमा बोलाएका थिए । देउवाले संयुक्त रुपमा कार्यक्रम गर्न दुवै समुहलाई निर्देशन पनि दिएका थिए । देउवाको निर्देशन अनुसार संयुक्त कार्यक्रम गर्न लागिएको सभापति महरले अपरान्ह बताएका थिए, तर महरले बताएअनुसार संयुक्त कार्यक्रम हुनै सकेन । महामन्त्री काफ्ले समुहले पार्टी सभापतिको निर्देशनअनुसार संयुक्त कार्यक्रम गर्न अनिच्छा देखाएको बताइएको छ ।

नेविसंघ कार्यकर्ताहरुले नेतृत्वको निर्णयको पखाईमा दिनभर कार्यक्रम स्थलमा बिताएका थिए । त्योबेला दुवै पक्षका कार्यकर्ताहरु एक आपसमा दोषारोपण गरिरहेका देखिन्थे । महामन्त्री पक्षका एक सदस्यले हुने भए दुवै कार्यक्रम हुने, अन्यथा दुवै रोकिने बताएका थिए ।

रोल्पादेखि आएका एक विद्यार्र्थीले नेतृत्वको कारणले कार्यकताले दुःख पाएको भन्दै नेतृत्वप्रति असन्तुष्टि पोखे । दवै पक्षले आफु निकटका नेताहरुलाई कार्यक्रममा निम्त्याइपनि कुनै पनि नेता उपस्थित भने भएनन् । पार्टी सभापतिलाई महर समुहले प्रमुख अतिथि बनाएको थियो भने महामन्त्री समुहले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई प्रमुख अतिथि बनाएको थियो । 

महर समुहले कार्यक्रमका लागि वीपी संग्रहालय समितिसँग एकसाता अघि कार्यक्रमको स्वीकृति लिएको बताइएको छ । काफ्ले समुहले हिजो बिहान मात्रै कार्यक्रमका लागि स्थान उपलब्ध गराइदिन समितिसँग आग्रह गरेको थियो । दुवै समुहको कार्यक्रम एकै स्थान र उही समयमा हुने प्रचार गरिएपछि बिहान देखिनै सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो । सम्भावित झडप रोक्न करिब डेढ सय सुरक्षाकर्मी खटाइएको थियो । नेपाली काँग्रेसका सर्बोच्च दिवगंत नेताको नाममा रहेको संग्रहालयमा दुई कार्यक्रम जुधाएकोमा सहभागिहरुको चर्को आक्रोश थियो । ऐतिहासिक स्थलमा विवादित कार्यक्रम गर्नै नहुने एक नेविसंघ कार्यकर्ताले वताए । 

महामन्त्री काफ्लेले सभापतिको संयुक्त रुपमा कार्यक्रम गर्न निर्देशन भएपनि संयुक्त रुपमा गर्नका लागि पूर्व तयारी धेरै गर्नुपर्ने भएकोले संयुक्त कार्यक्रमको सम्भावना टरेको स्पष्ट पारे । बुटवलबाट आएका एक विद्यार्थीले भने–‘पार्टी नेतृत्वको असर विद्यार्थी संघमा देखिएको हो । पार्टीका नेता नमिलिकन नेविसंघ मिल्ने सम्भावना छैन ।’

पार्टीको केन्द्रीय नेतृत्वसँग भएको बैठक र  विद्यार्थी नेताहरु बीचमा भएको बैठकले कुनै निर्णय लिन नसकेपछि आजका कार्यक्रम स्थगित गरिएको छ । पछिल्लो दिनमा कुन रुपबाट कार्यक्रम गर्नेबारे छलफल चलिरहेको सभापति महरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप