कूटनीतिमा परराष्ट्रमन्त्रीको कसिलो भूमिका
नेपाल सुन्दर, शान्त र सौम्य देश हो । बुद्ध, सीता र भृकुटीको देश नेपालले आकारमा सानो भए पनि विश्व मानचित्रमा शान्तिको सन्देश प्रवाह गरिरहेको छ । नेपालले कहिल्यै दासत्व सहेन, सधैँ सबै मुलुकसँग मित्रताको हात फैलाइरह्यो । त्यसैले त यसले आजसम्म विश्वका १२१ देशसँग कूटनीतिक सम्बन्ध कायम गर्न सफल भएको छ । कूटनीतिको ढोका खुला राखेको छ ।
नेपालले पहिलोपटक सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसपछि सन् १९४७ मा अमेरिका र भारतसँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । अहिले नेपालले ३० वटा राजदूतावास र संयुक्त राष्ट्रसंघका लागि तीनवटा स्थायी नियोगमा राजदूत पठाउँछ । सात महावाणिज्य दूतावास छन्, यसरी हेर्दा नेपालको अन्य मुलुकसँगको कूटनीतिक सम्बन्ध झाँगिँदै गइरहेको छ ।
त्यसमा पनि नेपाल–भारत सम्बन्ध विशिष्टीकृत र बहुआयामिक छ । यी दुई मुलुकबिच ‘रोटीबेटी’को सम्बन्ध छ, धार्मिक र सांस्कृतिक एकता छ; लवाइखवाइ, रहनसहन, व्यापार, वाणिज्य, शिक्षा, स्वास्थ्यको सम्बन्ध छ । यी सबै कुराले नेपाल–भारतबिच उच्चतम बन्धुत्वको भावना झल्काउँछ । यस्तो विशिष्टीकृत सम्बन्ध भएको नेपाल–भारत कूटनीतिमा कहिले दरार आउनु हुँदैन । सम्बन्धलाई झनै उचाइमा लग्ने प्रयास गरिनुपर्छ । यस्तो प्रयास दुवै देशबाट पटक–पटक हुँदै पनि आएका छन् ।
भारतसँगको सीमा विवाद, चुच्चे नक्सा लगायत विवाद पनि कूटनीतिक माध्यमबाटै समाधान गरेर दुई देशबिचको बन्धुत्व सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्छ । यसमा परराष्ट्रमन्त्रीले पनि पहलकदमी चाल्नुपर्छ ।
हालै मात्र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा दुई देशबिचको सुमधुर सम्बन्ध झल्किएको छ । नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले नेपालका तर्फबाट भएको परराष्ट्र भ्रमणलाई महत्त्वका साथ स्थान दिएको छ ।
कांग्रेसले चुनावी घोषणापत्रमै विदेशनीतिका सवालमा दक्षिण एसियाको शिरमा रहेको नेपालले भूराजनीतिक द्वन्द्वमा नफसी पारस्परिक लाभको कूटनीति गर्ने उल्लेख थियो । र, कांग्रेसबाट परराष्ट्रमन्त्री बन्नुभएकी राणाले उक्त कौशलता देखाउनुभएको छ । २१औँ शताब्दीका आर्थिक शक्ति हुने प्रक्षेपण गरिएका भारत र चीनका बिचमा नेपाल छ । यी दुवै देशसँगको सम्बन्धमा सन्तुलन कायम गरेर सम्बन्ध अझै घनिष्ठ बनाउन नेपाल चुक्नु हुँदैन । उनीहरूको विकास र उनीहरूसँगको सम्बन्धबाट अधिकतम लाभ लिने कांग्रेस रणनीतिलाई सफल तुल्याइनुपर्छ । उक्त कूटनीतिक चलाखी परराष्ट्रमन्त्रीमा प्रस्टै देखिएको छ ।
कूटनीतिक सम्बन्ध कमजोर हुँदा भारतजस्तो ठुलो मुलुकबाट नेपालले फाइदा लिन सक्दैन, तर बलियो कूटनीतिक सम्बन्ध हुँदा भारतभन्दा नेपाललाई नै फाइदा बढी हुन्छ । नेपाल भूपरिवेष्टित राष्ट्र हो । कोलकोतामै नेपालको सुक्खा बन्दरगाह छ । यसमा नेपाललाई भारतले सहयोग गर्दै आएको छ ।
भूगोलका आधारमा भारतसँग नेपालको कूटनीतिक महत्त्व धेरै छ । न्यून आए भएका नेपाली रोजगारका लागि भारतमा निर्भर रहँदै आएका छन् । हाम्रो खुला सिमाना छ । सीमावर्ती क्षेत्रका नागरिक एकअर्को बजारसँग परनिर्भर छन् । नेपाल आर्थिक र सामाजिक हिसाबले पनि आत्मनिर्भर हुन सकेको छैन । यस्तो अवस्थामा सबैखाले भावना मिल्ने छिमेकीसँगको मित्रवत सम्बन्ध कसिलो हुनुपर्छ ।
भारतले २०७२ आश्विन ६ बाट गरेको अघोषित नाकाबन्दीका कारण नेपालीले ५–६ महिना सास्ती खेप्नुपरेको तितो यथार्थलाई नकार्न मिल्दैन । नेपालले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारत अघोषित नाकाबन्दीकै तहमा पुगेको थियो । त्यसले उसलाई त ठुलो असर परेन, नेपालले भने ठुलो सास्ती खेप्नुपरेको अवस्थालाई नकार्न मिल्दैन । छिमेकी देशको विरोध गरेर मात्र राष्ट्रवादी भइँदैन । बरु त्यस्तो अविश्वासको अवस्था सिर्जना हुनु र नाकाबन्दीकै तहमा पुग्नु भनेको कूटनीतिक सम्बन्ध कमजोर हुनु र दुवै देशबिच विश्वासको वातावरण घट्नु हो ।
भारतले शिक्षा, यातायात, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा सहयोग गरिरहने अवस्थामा थप सहयोग लिन सक्नुपर्छ । सही र यथार्थपरक ढंगले अघि बढ्न सके नेपाल–भारत दुवैलाई फाइदा हुन्छ । भारतसँगको सीमा विवाद, चुच्चे नक्सा लगायत विवाद पनि कूटनीतिक माध्यमबाटै समाधान गरेर दुई देशबिचको बन्धुत्व सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्छ । यसमा परराष्ट्रमन्त्रीले पनि पहलकदमी चाल्नुपर्छ ।
नेपालको परराष्ट्र मन्त्रालयमा सेवा लम्सालसम्म २५ जना सचिव भए । कूटनीतिक सम्बन्ध बलियो पार्न सचिवहरूको अहं भूमिका हुनुपर्छ । कूटनीतिक सम्बन्धलाई धेरै कुराले निर्धारण गर्छ । आजसम्म को को परराष्ट्रमन्त्री भए र उनीहरूले के–कस्ता काम गरे ? त्यसको पछि नलागौँ, तर परराष्ट्रमन्त्री राणाले यसपटकको भारत भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप उचाइमा पु¥याउने र कुनै अविश्वास भए त्यसलाई मेट्ने कोसिस गर्नुभएको छ । भारत भ्रमणबारे प्रतिक्रिया दिँदै उहाँ स्वयंले पनि दुई ठुला पार्टी कांग्रेस–एमाले मिलेर सरकार बनाएकामा भारतबाट राम्रो रेस्पोन्स भएको बताइसक्नुभएको छ । नेपालको विकासमा सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाइलाई राणाले पत्रकार सम्मेलनमार्फत नै प्रस्ट पारिसक्नुभएको छ ।
परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । उपयुक्त समयमा भ्रमण गर्ने भारतले जनाएको छ । यसले भारतको लगानी रहेका ठुला योजनाले गति लिने विश्वास लिइएको छ । नेपालका महत्त्वपूर्ण योजनामा पनि भारतको सहयोग रहने विश्वास लिइएको छ । राणाले देखाएको कूटनीतिक भूमिका नेपालका लागि लाभदायक हुने चर्चा हुन थालेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत पुग्नु भएकी परराष्ट्रमन्त्रीले समग्रमा नेपाल भारतप्रति निकै सकारात्मक रहेको सन्देश प्रवाह गरेर आउनुभएको छ । उहाँको यो कदम निकै स्वागतयोग्य छ ।
(गौतम नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)