बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा नेपाली विद्यार्थीका अवसर र चुनौती

आइतबार, ०९ भदौ २०८१, १८ : १३
आइतबार, ०९ भदौ २०८१

हाम्रा पुर्खा कर्मशील थिए, देशकै माटो खोस्रेर वा कुनै इलम गरेर स्वाभिमानी जीवन बाँचे । यद्यपि राणाकालदेखि नै विदेशी सेनामा भर्ती हुने र शिक्षाका लागि भारत (बनारस)तिर पढ्न जाने चलन थियो नै । 
आज पनि हामी युवाले देशमै गरिखाने वा पढेर रोजगार–स्वरोजगार हुने बाटो नदेखेर अवसरको खोजी गर्दै बिदेसिनुपरेको छ । 

युवा भन्नाले साधारणतः १५ देखि २५ वर्ष उमेर समूहलाई बुझिन्छ, जुन समूहले तनमन लगाएर औपचारिक शिक्षा वा तालिम प्राप्त गरे देशमै सम्भावनाको कमी छैन, यसका लागि शिक्षा व्यावहारिक र सरकार सबल वा इमानदार भने हुनैपर्छ । खैर, आज विविध कारण युवाले देशमा भविष्य देखेको छैन र बिदेसिएको छ— कोही उच्च शिक्षाका लागि त कोही रोजगारीका लागि । 

यहाँनेर म उच्चशिक्षाका लागि अस्ट्रेलिया आउने युवाका अवसर र चुनौतीबारे चर्चा गर्दै छु । नेपालबाट अस्ट्रेलिया आउँदा प्राप्त अवसरहरूको पनि कमी छैन । तपाईं ‘सर्टिफिकेट लेभल तीन वा चार’, ‘डिप्लोमा’, ‘एडभान्स्ड डिप्लोमा इन् चाइल्डकेयर अर कुकरी’जस्ता अनेकौँ कोर्स पढ्न आउने तयारीमा हुनुहुन्छ भने तपाईंले यो बुझ्नुपर्छ कि यस्ता कोर्सहरू कक्षा १०, ११, १२ का पढाइसरह मान्यता प्राप्त हुन् । जसलाई सीपयुक्त (स्किल्ड वर्कर) पढाइ पनि भनिन्छ । यी विषय क्रमशः ६, १२ तथा १८ महिनामा पूरा हुन्छन् । यसले मध्यमखाले जनशक्ति उत्पादनमा मुख्य भूमिका खेल्छ । उदाहरणका लागि वृद्धवृद्धाको स्याहारसुसार गर्ने सर्टिफिकेट लेभल तीन वा चार, हाउसकिपिङ, चाइल्ड केयर, कुकुरको स्याहारसुसार, घर तथा भवन बनाउने काममा सहयोगी, पाइप तथा बाथरुम मर्मत, व्यापार तथा परामर्श, अपांगता व्यक्तिको स्याहारसुसार, मानसिक रोगीको रेखदेख, हुमानिटी एन्ड म्यानेजमेन्ट जस्ता विभिन्न अन्य विधामा पनि पढ्ने तथा पढाउने काम हुन्छन् । कुनै विद्यार्थीले डिप्लोमा सकेमा १८ महिनाको अस्थायी बसोबासको भिसा पाउँछ र १८ महिना नै ‘फुल टाइम’ काम गर्ने अनुमति प्राप्त गर्दछ । 

कोही सिधै कुनै विषयमा स्नातक (जस्तै ः ब्याचलर इन् पब्लिक हेल्थ, नर्सिङ, इन्जिनियरिङ, साइकोलजी आदि) को तीनदेखि चार वर्षको कोर्सको अध्ययनमा आउँदै हुनुहुन्छ भने कम्तीमा दुई वर्ष वा नसके एक वर्षको कलेज वा युनिभर्सिटीको शुल्क तिरेर मात्रै आउनुपर्छ । नत्र यहाँ दुई–चार महिनापछिको आर्थिक चापले सर्टिफिकेट वा डिप्लोमा जस्ता कोर्समा झरेर वा परिवर्तन गरेर पढ्न बाध्य हुनुपर्छ । काम गरेरै पढ्छु भन्नलाई खट्न सक्ने बलियो र निरोगी शरीर पनि चाहिन्छ । कार धुनेदेखि भाँडा माझ्ने वा किचन सफा गर्ने काम गर्दा पनि नेपालमा झैँ बिचबिचमा एक–दुई घन्टाजति चुरोट खाने, दिसापिसाबको बहाना गर्न पाइँदैन । त्यसो गर्दा त्यो समयको पैसा पाइँदैन, काम गरेको घन्टाको मात्रै पैसा आउँछ । 

विद्यार्थीले अस्ट्रेलिया आउँदा साथमा ड्राइभिङ लाइसेन्स लिए आए खाना पु¥याउने वा वितरण गर्नेजस्ता काम पाउन सकिन्छ । यस्तो काम हप्तामा लिगल्ली २४ घन्टा गर्न पाइन्छ, जसले गर्दा युवायुवतीलाई बस्न–खान सहज हुन्छ । 

एउटा रुमको घटीमा हप्ता २००–२५० पर्छ, हप्तामा खानामा २०० बराबर नै खर्च हुन्छ, त्यो पनि दिनको दुईपटक मात्रै खाँदा । ट्रेन चढ्यो कि पाँच–सात डलर प्रत्येक यात्रामा लाग्छ । लुगा–कपडा, आइफोनको बिल तथा दैनिकी खर्चले आकाश छोइसक्यो ।



नेपालबाट आउने युवाहरूले के बुझ्नुपर्छ भने पढाइपश्चात् पाउने टीआर भिसा दुईवर्षे बनाइएका छन् । मास्टर अध्ययनका लागि आउनुभयो भने दुई वर्षकै वर्किङ भिसा पाइन्छ, यसो हुँदा पढ्न र काम गर्न सहज हुनेछ । ब्याचलर नेपालमै पढेर स्नातकोत्तर वा सोसरह अध्ययनका लागि कुनै पनि देश (अमेरिका, क्यानडा, युरोप, बेलायत पनि) जानु उपयुक्त र कम जोखिमयुक्त हुन्छ ।

  • अस्ट्रेलियामा अवसर र चुनौती 

आजकल नेपालबाट ठुल्ठुला सपना बोकेर अस्ट्रेलिया आइपुगेका कतिपय युवाका विभिन्न प्रकारका अविश्वसनीय र दुःखद समाचार सुन्नमा आइरहन्छन् । १८–२० वर्ष उमेर समूहका विद्यार्थीमध्ये कतिपयलाई आफ्नो जिम्मेवारी, क्षेत्राधिकार तथा परिधिहरूको ज्ञानै हुँदैन । उनीहरूले परिश्रमीभन्दा आरामदायी, सिर्जनशील भन्दा भावनात्मक, चेतनशीलभन्दा आवेगी स्वभाव प्रकट गर्छन्; जसलाई विदेशमा राम्रो मानिँदैन । 
अभिभावकले पनि विदेशको सामाजिक परिवेश नबुझी अझ आफ्नै सन्तानको शैक्षिक योग्यता, क्षमता, सीपबारे थाहै नपाई लहैलहैमा लाखौँ खर्च गरेर छोराछोरीलाई अस्ट्रेलिया पठाउँछन् । नेपालबाट जसोतसो ऋणधन गरी आएका हजारमध्ये सय विद्यार्थीले मात्रै आफन्तका सहायतामा भनसुन गरेर वा तानतुन गरेर जीविकोपार्जन गर्छन्, अन्यलाई मुस्किल पर्छ ।  

अस्ट्रेलिया आएको दुई–चार महिना त नेपालबाट ऋणधन गरेर ल्याएको डलरले चल्छ । जब कलेजका दिन सुरु हुन्छन्, पढाइको भार र पैसाको अभावले छाती पोल्न थाल्छ । हप्तामा दुई–तीन दिनको पढाइ (कलेज जाउआउ) र हरेक साँझ वा रातमा कामको खोजी वा चार–पाँचघन्टे कामको थकाइले विद्यार्थी हैरान हुन थाल्छन् । उनीहरूले आफ्नै स्वास्थ्य र सरसफाइमा समेत ध्यान दिन भ्याएका हुँदैनन् । 

एकातिर गोजीको पैसा सकिनु, अर्कोतिर कलेजको शुल्कको म्यासेज र इमेल आउनु, हप्ते घरभाडाको म्यासेज आउनु, फोनको बिल आउनु, आउँदा लागेको ऋण सम्झाउन घरबाट फोन आउनु आदिले तनाव दिन थाल्छ । पैसा सकिएपछि साथीभाइ पनि टाढिँदै जान्छन्, एक्लोपनले छोप्दै जान्छ । नेपालका अभिभावक चाहिँ छोराछोरी काममा होलान्, पढाइमा व्यस्त होलान् र फोन उठाउन भ्याएनन् भन्ठान्छन्; यता अस्ट्रेलिया बसेकाको व्यथा र कथा फरक हुन्छ । 

एउटा रुमको घटीमा हप्ता २००–२५० पर्छ, हप्तामा खानामा २०० बराबर नै खर्च हुन्छ, त्यो पनि दिनको दुईपटक मात्रै खाँदा । ट्रेन चढ्यो कि पाँच–सात डलर प्रत्येक यात्रामा लाग्छ । लुगा–कपडा, आइफोनको बिल तथा दैनिकी खर्चले आकाश छोइसक्यो । यसरी एकमुष्ठ हिसाब गर्दा कन्जुस्याइँ गरेर जीवनयापन गर्दा हप्ताको ६०० डलर लाग्छ, अनि कुन अवस्थामा छटपटिनुपर्ला शान्त मनले सोचौँ ।

ती युवायुवतीलाई नेपालमा छँदा आमाले कर गरीगरी खुवाएको, बुबाले फकाइफुलाइ स्कुल पु¥याएको कम याद आउँदैन । अर्कोतिर दिनदिनै न भोकको याद रहन्छ, न दिन र रातको । घडीको सुईको मतलब हुन्छ वा मोबाइलमा बज्ने सूचक घन्टी (अलाराम)को । यसरी शरीरमा आलस्यपनले सताउँछ । आफन्त र साथीभाइको सम्पर्कमा नरहँदाको पीडा र आर्थिक चिन्ताका कारण सोच्नै सकिँदैन । दुविधायुक्त मनस्थितिले मन बरालिन्छ, सरसल्लाह दिने तथा गुनासो सुनिदिने कोही हुँदैन । अनि भौतिक शरीर साँझपख बार–रेस्टुरेन्टमा वा जुवाघर (पप वा पोकर) मा व्यस्त भइदिन्छ । नढाँटीभन्दा अस्ट्रेलिया आइपुगेका ५० प्रतिशत नेपाली दिनहुँजसो पोकर वा जुवाघरमा भेटिन्छन् । उता अभिभावकलाई थाहै हुँदैन । थाहा पाएर खोजतलास गर्दा ढिला भइसकेको हुन्छ । 

कोही नेपाल फर्कने लाजले गाउँतिर पस्छन् त कोही सुरक्षा भिसाका लागि दौडन्छन् । समुद्रपारिको यस्तो अवस्थाले नेपालीको हरेक घर खण्डहर बन्दै गएको र परिवार दिनदिनै टुक्रँदै गएको समाचार आइरहन्छन् । 
विदेशीको सिको गर्दागर्दै कतिपयले सम्बन्धविच्छेददेखि अनेकौँ अव्यावहारिक कानुनी झन्झट बेहोर्नुपर्छ । सुनौलो भविष्य खोजेर आएका हजारौँका यस्ता व्यथा भनेर कहिले सकिन्छ र ? 
(लेखक अस्ट्रेलियास्थित टोरेन युनिभर्सिटीमा सामाजिक सेवा तथा विज्ञान विषय अध्ययनरत छन् ।)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक डल्लाकोटी
दीपक डल्लाकोटी
लेखकबाट थप