शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०९ भदौ २०८१, २१ : ५१
आइतबार, ०९ भदौ २०८१

आज २०८१ भदौ ०९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा कुलमानको विषयले लेखा समितिमा तनाब, कांग्रेसको पुरानो पुस्ता नेतृत्वमा आउन देउवाको ‘आशीर्वाद’ खोज्दै, भ्रष्टाचार मुद्दामा सजाय पाएका कांग्रेस नेता सिंहदरबार चहार्दै, सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे के गर्दैछ जाँचबुझ आयोग ?, कृषिमन्त्रीले ल्याए तत्कालीन र दीर्घकालीन योजना, न्यायाधीशको नाम सिफारिस गर्न सकेन न्याय परिषद् बैठकले, भ्रष्टाचार मुद्दामा १० वर्षे हदम्याद राख्ने तयारी लगायत छन् ।

१. कुलमानको विषयले लेखा समितिमा तनाब
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयलाई लिएर आइतबार सार्वजनिक लेखा समितिमा तनावपूर्ण अवस्था देखियो । सभापति ऋषिकेश पोखरेलले निर्णयको मस्यौदा सुनाउन थालेपछि बहुमत सांसदले आपत्ति जनाए । परिणामस्वरुप बैठकले कुनै निर्णय गर्न सकेन ।


२. कांग्रेसको पुरानो पुस्ता नेतृत्वमा आउन देउवाको ‘आशीर्वाद’ खोज्दै
नेपाली कांग्रेसको नेतृत्वमा आउनका लागि पुरानो पुस्ता सभापति शेरबहादुर देउवाको ‘आशीर्वाद’ खोज्न थालेको छ । सभापति देउवाले विधान अनुसार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन नपाउने भएपछि उनकै समकालीन नेताहरू नेतृत्वका लागि तम्सिन थालेका हुन् ।

३. भ्रष्टाचार मुद्दामा सजाय पाएका कांग्रेस नेता सिंहदरबार चहार्दै
नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई सर्वोच्च अदालतले कैद सजाय हुने ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा ९ महिना कैद तोकिएका सिंह पछिल्लो समय उप–प्रधानमन्त्री र गृहमन्त्री सहितका उच्च पदस्थहरूलाई भेटेका छन् । 

४. सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे के गर्दैछ जाँचबुझ आयोग ?
काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको एक महिना बितेको छ । दुर्घटनाबारे जाँचबुझ गर्न गठित समितिले प्रतिवेदन लेखनको काम भइरहेको जनाएको छ ।

५. कृषिमन्त्रीले ल्याए तत्कालीन र दीर्घकालीन योजना
कृषिमन्त्री रामनाथ अधिकारीले तत्कालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । उनले आइतबार आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेका हुन् ।

६. न्यायाधीशको नाम सिफारिस गर्न सकेन न्याय परिषद् बैठकले
सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ ।  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकमा न्यायाधीशको नाममा सहमति नभएपछि विनानिष्कर्ष टुङ्गिएको परिषद् स्रोतले जनाएको छ ।  

७. भ्रष्टाचार मुद्दामा १० वर्षे हदम्याद राख्ने तयारी
भ्रष्टाचार मुद्दामा १० वर्षे हदम्याद राख्नेबारे प्रमुख तीन राजनीतिक दल मोटामोटी सहमतिमा पुगेका छन् । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारी रहेकै समयमा दलहरू हदम्यादबारे नयाँ सहमति नजिक पुगेको बताइएको छ ।

८. राष्ट्रिय परिचयपत्रलाई बाध्यकारी नबनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने कुरालाई बाध्यात्मक नबनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

९. नेपालको कूटनीति : सिद्धान्तमा एउटा तर व्यवहारमा अर्कै
नेपालले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई आफ्नो कूटनीतिको महत्त्वपूर्ण सिद्धान्त मान्ने गरे पनि व्यवहारमा फरक देखिएको छ । नेपालको कुनै पनि सरकारले दुई छिमेकी मुलुक भारत र चीनबिच नै सन्तुलित सम्बन्ध बनाउन नसकेको आरोप लाग्दै आएको छ । हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परस्पर युद्धरत मुलुक रुस र युक्रेनको पालैपालो भ्रमण गरेर सन्तुलित कूटनीतिको नमूना प्रस्तुत गरेका छन् । मोदीको रुस–युक्रेन भ्रमणलाई नेपालका कूटनीतिक मामिलाका जानकार सन्तुलित कूटनीतिको एउटा महत्त्वपूर्ण उदाहरणका रूपमा लिन सकिने बताउँछन् ।

१०. चेक बाउन्सको मुद्दामा कस्तो कारबाही भन्नेबारे बहस
चेक अनादर (बाउन्स) को मुद्दामा भौतिक कारबाही कि नगद जरिवाना भन्नेबारे बहस चलेको छ । सरकारले बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० प्रतिनिधि सभामा पेस गरेको छ । उक्त विधेयकबारे दफावार छलफलका क्रममा अर्थ समितिमा सांसदहरूले आइतबार विभिन्न प्रश्न उठाउनका साथै विधेयकमा भएका व्यवस्थाबारे बहस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप